संस्कृत अनिवार्य बनाऊ

0
46

संस्कृत भाषालाई विश्व भाषाहरुको जननी भन्ने गरिन्छ । देव भाषा पनि भनिने संस्कृत प्रतिको मोह अहिले विश्वमै बढ्दै गएको छ । त्यसकै उदाहरण हो कि विश्वका ठूला विश्वविद्यालयहरुमा पनि संस्कृत भाषाको अध्ययन, अनुसन्धान हुन थालेको । नेपालमा यतिबेला निजी स्तरमा संस्कृत विद्यालयहरु खुल्नेक्रम बढेको छ । समुदाय तथा सरकारी स्तरबाट सञ्चालित कतिपय संस्कृत विद्यालयहरुले विश्वकै पहिलो सभ्यता वैदिक सनातनी संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा विशेष योगदान दिइरहेका छन् । संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थहरु पूर्वीय सभ्यता र ज्ञानको भण्डार भएको विज्ञहरुको भनाइ छ । तर, नेपाल जस्तो देश तपोभूमि, ज्ञानभूमि र पूर्वीय सभ्यताको भण्डार भनिने यहाँ संस्कृत भाषाप्रति उपेक्षा गर्न थालिएको थियो ।
पछिल्लो समय एउटा सुखद् सन्देश यही भूमिबाट प्रवाहित हुन थालेको छ । विशाल ज्ञानको स्रोतका विषयमा अध्ययन–अनुसन्धान गर्न, बौद्धिक समुदायलाई उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्न प्रेरणा प्रदान गर्न हरेक वर्ष जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउन थालिएको छ । त्यसो त नेपाल धेरै भाषा, संस्कृति र धर्म भएको सानो तर महत्वपूर्ण देश हो । तर, यहाँका नयाँ पुस्तामा त्यसप्रति गौरवबोध गर्ने सामथ्र्य नभएको देखिन्छ । हाम्रा कतिपय संस्कारजन्य मान्यताहरु नवपुस्ताका लागि बोझ बन्न थालेको छ । सदाचारिता, अनुशासन, कर्तव्यबोध गराउने माध्यमका रुपमा रहेको संस्कृत भाषालाई पाठ्यपुस्तकबाट हटाएर उदण्डता प्रदर्शन गर्न बाध्य पारिएको छ ।
यस्तो बेला मोरङ जिल्लाको विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा फरक परम्परा र संस्कृति भएका मुस्लिम समुदायका बालबालिका अध्ययनरत् रहेको समाचार सार्वजनिक भएको छ । जिल्लाकै पहिलो संस्कृत माविमा उक्त समुदायका चालीस जना विद्यार्थी अध्ययनरत् छन् । इस्लाम धर्मावलम्वी भएर पनि संस्कृत भाषा, संस्कृतका पुस्तक, वैदिक संस्कारप्रतिको उनीहरुको श्रद्धा, लगाव र लगनशीलता अन्य समुदायका लागि शिक्षा नै हो । ती विद्यार्थीहरु संस्कृत भाषालाई विश्व भाषाको जननी भन्छन् र भन्छन्– यसले अनुशासन, नैतिकता र सद्आचरण सिकाउँछ । संस्कृत भाषा बोल्न, पढ्न र लेख्न सिपालु भइसकेका उनीहरुबाट अन्य समुदायका अगुवाले पनि सिक्नु पर्दछ । नेपाल विविधतामा एकता भएको देश हो । त्यसैले पनि एकअर्काप्रति सद्भाव, प्रेम, हार्दिकता र सहष्णिुताको डोरीलाई अरु बलियो बनाउन हाम्रो गौरव जस्तै रहेको संस्कृत विषयलाई विद्यालय तहमा अनिवार्य गर्न जरुरी छ । यसले मात्र नेपाल र नेपालीको पहिचानलाई स्थापित गर्न मद्दत पु¥याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here