दमक नपामा फेरि घाटा बजेटको तयारी

0
32

दमक, झापाको दमक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकता निर्धारण गरेर मात्र अघि बढ्ने निर्णय गरेको छ । लगातर केही बर्ष अघिदेखि घाटा बजेट ल्याउँदै आएको नगरपालिकाले यो बर्ष पनि घाटा बजेट ल्याउने तयारी गरेको छ ।
अघिल्लो बर्ष घाटा बजेट रहेकोमा यो बर्ष पनि हामी घाटा बजेट ल्याउन बाध्य छौ– दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले भनिन् । अन्यत्र कतिपय पालिकाले घाटा बजेट नल्याउने र बजेटको आकार घटाउने भन्नु भएकाले यस बिषयमा हामी पनि छलफलमा छौं– उनले भनिन् ।
अघिल्लो बर्ष वडालाई १० करोड बजेट उपलब्ध गराइएकोमा योपटक १५ करोड उपलब्ध गराउने नगर कार्यपालिकाको निर्णय रहेको पाइएको छ । घाटाको र महत्वाकांक्षी बजेट ल्याउने वा नल्याउने बिषयमा कार्यपालिका सदस्यहरुबीच मतभेद रहेको भए पनि सर्वसम्मत रुपमा वडागत बजेटको सिलिङ बढाउने सहमति बनेको एक कार्यपालिका सदस्यले बताए ।
दमक नगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिस अनुसार आगामी आर्थिक वर्ष २०८०÷०८१को बजेट वाँडफाँड गर्ने आधार अनुसार वडामा रु. १५ करोडको बजेट सीमा निर्धारण गरिएको बताइएको छ । अघिल्लो बर्ष यो रु. १० करोड मात्र रहेको थियो ।
गत वर्षझंै वडास्तरमा विनियोजित बजेटको ५० प्रतिशत रकम समान न्यूनतम् अनुदान र बाँकी ५० प्रतिशत तोकिएको मापदण्ड बमोजिम सूत्र प्रणालीबाट वडागत बजेट वाँडफाँड गर्ने र सोही आधारमा योजना तथा कार्यक्रमहरु माग गर्न सवै वडालाई पत्राचार गर्ने निर्णय भएको पनि जनाइएको छ ।
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति तथा राजश्व परामर्श समितिबाट छलफल भई पेश हुन आएको आर्थिक वर्ष २०८०÷०८१का लागि बजेट बनाउँदा अवलम्बन गरिने मार्ग निर्देशन स्वीकृत गरी सवै वडाहरुमा पठाउने निर्णय भएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए ।
अधुरा आयोजनाहरूलाई पूरा गर्ने, नगरस्तरीय पूर्वाधार विकासका आयोजना ३० लाख वा सोभन्दा माथिको छनौट गर्ने, छनौट भएका योजना पूर्णरूपमा समापन हुने प्रकारको मात्र छनौट गर्ने, कालोपत्र गर्ने सडक आयोजना छनौट गर्दा कालोपत्रे वा पक्की सडकसँग जोडिने भए मात्र सहायक सडक कालोपत्रे गर्ने गरी छनौट गर्ने निर्णय भएको उनले जानकारी दिए ।
कालोपत्रे गर्नु अगाडि अनिवार्य रूपले पक्की नाला निर्माण गरेको हुनुपर्ने, नाला निर्माण गर्दा पानी निकासको उचित प्रबन्ध भए मात्र नाला निर्माण आयोजना छनौट गर्ने, आयोजना छनौट गर्दा सकेसम्म चाँडो प्रतिफल प्राप्त हुने र अधिकतम् वासिन्दाले सुविधा उपयोग गर्न पाउने गरी गर्ने प्रतिबद्धता सबै कार्यपालिका सदस्यहरुको रहेको छ– उनले भने ।
अधुरो रहने गरी वा निर्मित संरचनाले कुनै प्रतिफल नदिने वा उपयोगमा आउन नसक्ने आयोजना छनौट नगर्ने निर्णय भएको कार्यपालिका सदस्य एवम् दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालले बताए । यसभन्दा अघि छनौट भएर कार्य प्रारम्भ भएका तथा कार्यान्वयनमा ल्याउनका लागि सम्झौता भइसकेका योजनाहरु बाहेक नयाँमा यो लागू हुने पनि उनले जनाए ।
मुख्य शहरी क्षेत्रमा आयोजना छनौट गर्दा पानी निकास, सडक कालोपत्रे, लकिङ्ग टायल्स, सरसफाई व्यवस्थापन, हरियाली प्रवद्र्धन फुटपाथ र रेलिङ्ग निर्माण एवम् फलफूल, तरकारी बजार व्यवस्थापन, मासु पसल, बधस्थल व्यवस्थापन जस्ता आयोजनाहरूलाई प्राथमिकता दिने निर्णय भएको छ– बरालले भने । आयोजना सञ्चालन गर्दा स्थानीय सरकार सञ्चालन ऐन, राष्ट्रिय योजना आयोग अर्थमन्त्रालय, मन्त्रालय र प्रदेश सरकारबाट तयार भएको मार्ग दर्शन र दमक नगरको वृहत् योजना, २०७७ तथा मध्यमकालीन खर्च आयोजनालाई समेत आधार मानी छनौट गर्ने निर्णय भएको छ– वडाध्यक्ष बरालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here