उपचार खर्च नपाउँदा बिरामी समस्यामा

0
46

झापा, मेचीनगर नगरपालिकामा बसोबास रहेका मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु संघीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन् ।
सङ्घीय सरकारले २०७८ साल चैत १६ गते मृगौला डायलासिस गराइरहेका तथा प्रत्यारोपण गराएका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई उपचार खर्चबापत मासिक रु. पाँच हजार दिने निर्णय गरेको थियो । यो रकम चालूआव २०७९÷८० मै बिरामीहरुले पाउनुपर्ने हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै बजेट नपठाएका कारण मेचीनगरले सम्बन्धित बिरामीहरुलाई उपचार खर्च दिन नसकेको नगरप्रमुख गोपाल बुढाथोकीले बताए । उनले नगरपालिकाको आन्तरिक स्रोतबाट सो रकम उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै स्वास्थ्य मन्त्रालयलाई पटक–पटक बजेटका लागि ताकेता गर्दासमेत सकारात्मक जवाफ नआएको गुनासो गरे । गत मंसीर, वैशाख र असारमा गरी तीनपटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी उपचार खर्चको बजेट विनियोजन गरिदिन पत्र लेखेका छौँ– नगरप्रमुख बुढाथोकीले भने– न बजेट आउँछ, न कुनै प्रतिक्रिया ।
सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेर स्थानीय तहसम्म वितरणका लागि बजेट पठाए झैँ उपचार खर्चको बजेट पनि केन्द्रबाटै आउनुपर्ने उनको माग छ । मेचीनगर नगरपालिकामा दुई सय एकजना मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरुले नेपाल सरकारले घोषणा गरेबमोजिम मासिक उपचार खर्च माग गर्दै नगरपालिकामा निवेदन दिइसकेका छन् । उनीहरुको माग बमोजिम उपचार खर्च उपलब्ध गराउन रु. ८७ लाख २० हजार बजेट आवश्यक हुने नगरप्रमुख बुढाथोकीले बताए ।
संघीय सरकारले घोषणा बमोजिम बजेट नपठाएको जनाउँदै स्थानीय तहको सरकारले रकम नदिने कार्यबाट सरोकावाला बिरामीहरु चिन्तित भएका छन् । उनीहरुले नगरपालिकालाई जसरी भए पनि उपचार खर्चको व्यवस्था मिलाउन दबाब दिइरहेका छन् । मृगौला प्रत्यारोपण समाजका केन्द्रीय सदस्य समेत रहेका मेचीनगर–१४ धाइजनका राजन मैनाली जीवन र मरणको दोसाँधबाट गुज्रिरहेका आफ्ना नागरिकको उपचारको दायित्वबाट स्थानीय सरकार पन्छिन नमिल्ने बताउँछन् । उनी मृगौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेको सामान्य आर्थिक अवस्थाको नागरिक छन् । प्रत्यारोपणपछि नियमित रुपमा महँगो औषधि सेवन गर्नुपर्ने बाध्यता रहेको हुँदा मासिक रु. पाँच हजार सरकारले दिए आफूजस्ता धेरैलाई ठूलो राहत मिल्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here