सहकारी संस्थाका कर्मचारीहरुलाई कोपोमिस सम्बन्धी तालिम

0
74
अर्जुनधारा,सहकारी संस्थाका कर्मचारहीलाई लक्षित गरि कोपोमिस सम्बन्धी चार दिने तालिम बिहीबारदेखि झापाको अर्जुनधारामा शुरु भएको छ ।
अर्जुनधारा नगरपालिका अन्र्तगत सामाजिक विकास शाखाको आयोजनामा अर्जुनधारा–९स्थित सुखानी शहीद स्मृति उद्यानको सभाहलमा आयोजित उक्त तालिमको नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
कर्मचारीहरुलाई सहकारी संस्थाहरुका तथ्याङ्कहरुलाई एकीकृतरुपमा प्रविष्ट गर्न सीपको विकास गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको शाखाका प्रमुख राजविक्रम खड्काले बताए ।
शाखा प्रमुख खड्काका अनुसार प्रदेश सहकारी कार्यालय रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रशिक्षक मनोज कार्कीले प्रशिक्षण दिने तालिममा सहकारीको समस्या, चुनौती, ऐन्, नियमावली, ऋण लगानी, असुलीलगायतका विषयमा छलफल गरिने बताइएको छ । तालिममा विभिन्न सहकारी संस्थाका ६० जना कर्मचारी सहभागी छन् ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नगर सहकारी समन्वय समितिका सचिव हरि वाग्लेलगायतले मन्तव्य राखेका थिए । नगर उपप्रमुख पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीया “अस्मिता”ले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here