इलाम र खोटाङ मुख्यमन्त्री कप फुटबलको सेमिफाइनलमा

0
117

 ओखलढुंगा,  इलाम र खोटाङ कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा धनकुटालाई हराउँदै इलाम अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरुवातमै इलामले धनकुटाविरुद्ध अग्रता लिएको थियो । खेल तेस्रो मिनेटमा इलामका अर्जुन गुरुङले गोल गर्दै अग्रता दिलाएका हुन् । त्यस्तै, खेलको ४८ औँ मिनेटमा इलामका विनोद धमलाले अर्को गोल थप्दै स्थिति २–० को गोल अन्तरमा पुर्याएका थिए । खेलको म्यान अफ द म्याच विनोद धमला भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र स्थानीय समाजसेवी मेखबहादुर खड्काले नगद चार हजार र मेडल प्रदान गरे । यसैबीच, आजै सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा सुनसरीलाई टाइब्रेकरमा हराउँदै खोटङ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको औँ मिनेटमा खोटाङका विशाल राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, ५२ औँ मिनेटमा सुनसरीका निर्मल भूजेलले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । टाइब्रेकरमा खोटाङ भाग्यमानी सावित भयो । खोटाङका गोलकिप्परले घाइते भएर पनि उत्कृष्ट बचाउ गरेका थिए । टाइब्रेकरमा खोटाङले ५–४ गोल अन्तरले जित्यो । खेलको म्यान अफ द म्याच खोटाङका गोलकिप्पर किरण राई भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र स्थानीय समाजसेवी शंकर कटवालले नगद चार हजार र मेडल प्रदान गरे । इलामले फाइनल प्रवेशका लागि ओखलढुंगासँगको भेट पक्का गरेको छ । त्यस्तै, खोटाङले दोस्रो सेमिफाइनल खेल संखुवासभासँग खेल्नेछ । दुवै सेमिफाइनल खेल भोलि शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here