प्रादेशिक आयुर्वेद अस्पताललाई भरपर्दो उपचार केन्द्र बनाइँदै

0
42

दमक, झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई भरपर्दो उपचार केन्द्रको रुपमा विकास गरिने भएको छ ।
कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ५० शैययाको क्षमताको प्रादेशिक आयुर्वेद अस्पताल सरह बनाइने उल्लेख छ । यसलाई आयुर्वेद शिक्षण अस्पतालको सम्भाव्यता अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।
अस्पतालका निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार यस अस्पताललाई प्रदेशकै प्रेषण अस्पताल तथा भरपर्दो अस्पतालको रुपमा विकास तथा विस्तार गर्नका लागि प्रयास शुरु भएको छ । अस्पतालमा आधारभूत सेवा समेत प्रदान गर्न नसकिने अवस्थाबाट अहिले आएर पञ्चकर्म र ल्यावको सेवा शुरु गरिसकिएको उनले बताए । आयुर्वेद उपचार पद्धतिमा जनविश्वास भएकाले त्यसलाई मर्न दिनु हुँदैन भनेर काम गरिरहेका छौ– डा. ठाकुरले भने ।
आर्थिक वर्ष २०६७÷०६८मा तीन हजार जना स्थानीयले हस्ताक्षर गरेर आयुर्वेद अस्पताल बनाउन माग गरेका थिए । २०७५ साल भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए । २० करोडभन्दा बढीको लागतमा लिफ्टसहितको सुविधा सम्पन्न भवन बने पनि संरचनाको प्रयोग हुने गरेर पूर्ण रुपमा अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
२०७८ साल असार २५मा निर्माण पूरा भएको अस्पताल निर्माणका लागि स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्व मणिकुमार भण्डारी लगायत छ जना दाताले दुई विगाहा १ धुर जमिन निःशुल्क उपलव्ध गराएका थिए । अस्पतालको पूर्वाधार पूर्ण रहँदारहँदै पनि अस्पताल पूर्ण रुपमा सञ्चालनमा नआएको भन्दै जग्गादाताहरुले पनि चिन्ता प्रकट गर्दै आएका थिए ।
अहिले पनि २४सै घण्टा इमरजेन्सी लगायतका सेवाहरु सञ्चालन गर्ने अवस्थामा छैनौं– डा. ठाकुरले भने । दुईसाता अघिदेखि पञ्चकर्मसहितका कतिपय सेवाहरु पनि सुचारु गरेका छांै– उनले भने । अस्पताल सञ्चालनमा आएको १० महिना भइसकेको भए पनि अस्पतालपूर्ण रुपमा सञ्चालनमा आउन बजेट र जनशक्ति अभाव रहेको बताइँदै आएको छ ।
प्रादेशिक आयुर्वेद अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्न र शिक्षण अस्पतालको रुपमा विकास गर्नका लागि प्रदेश सरकारसंग माग गरिएको प्रदेशसभा सदस्य होमबहादुर थापाले बताए । नीति तथा कार्यक्रममा समावेश भएको छ र त्यही रुपमा यसलाई विकास गर्ने सोच रहेको छ– उनले भने– जडीबुटी खेती गरेर यहाँका उपभोक्ता तथा स्थानीयलाई जोड्नका लागि पनि हामीले कार्यक्रम ल्याउनुपर्छ भनेर कुरा उठाएका छौं– प्रदेश सभा सदस्य थापाले भने ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अस्पताल सञ्चालन भयो भनिए पनि अस्पतालको बिषयमा १० महिनामा पालिकालाई कुनै जानकारी नभएको बताए । आयुर्वेद सेवाको प्रभावकारिताको बिषयमा सचेतना फैलाउन सक्दा यो एउटा यहाँको ठूलो गहना हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here