बालेनले गरे सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाउन यस्तो अनुरोध

0
79
काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले बित्तिय जोखिमबाट बच्न र सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाउनलाई सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई २१ बुँदे अनुरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् । उनले भनेका छन्
बित्तिय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ
सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई अनुरोध
बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।
यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौं ।।
सहकारी संस्थाहरुमा अनुरोध :
— तोकिएको समयमा सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।
— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।
— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।
— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।
— शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।
— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।
— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।
— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।
— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।
— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।
— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।
— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।
सदस्य/बचतकर्ताहरुलाई अनुरोध
सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।
— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।
— नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।
— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।
— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।
– कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।
— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।
— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here