सामान्य परिचय र महत्व
यस वर्ष असार १४ गते (आज) बिहीबार हरिशयनी एकादशी परेको छ । एकादशी तिथिलाई भगवान विष्णुको ध्यान र उपासना गर्ने उत्तम दिनका रुपमा मनाइन्छ । हरेक वर्ष आउने असार शुक्लपक्षको एकादशी तिथिलाई हरिशयनी एकादशीका नामले चिनिन्छ । यस दिन भगवान विष्णु अर्थात् हरि विश्राम वा शयन गर्ने भएका कारण हरिशयनी एकादशी भनिएको हो । ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको तुलसी दलको बिरुवालाई आजकै दिन मोठमा सारिन्छ र चार महिनासम्म तुलसीको विधिपूर्वक पूजा गरिन्छ । हरेक महिनाका शुक्लपक्ष र कृष्णपक्षका ११औं तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथीलाई शुक्लपक्षको एकादशी भनिन्छ भने औंशी वा अमावश्यापछि आउने तिथिलाई कृष्णपक्षको एकादशी तिथि भनिन्छ । हिन्दू सनातन सम्प्रदायमा यी दुबै प्रकारका एकादशी तिथिहरुको धेरै महत्व रहेको छ । एकादशीको व्रतलाई महाव्रत पनि भनिन्छ । अन्य व्रतहरुको तुलनामा एकादशी व्रतको महत्व अधिक रहेको बताइन्छ ।
‘अश्वमेधसहस्त्राणि राजसूयशतानि च ।
एकादश्यपुवासस्य कलां नार्हन्तिषोडशीम ।।’
अर्थात्ः एकादशी व्रतको महत्व यति छ कि, हजार–हजार अश्रवमेध यज्ञ र सयौं राजसूय यज्ञको महत्व एकादशी व्रतको महत्वको सोह्र भागको एक भाग जति पनि हुँदैन । अधिक वर्ष र शुद्ध वर्षमा एकादशीको संख्या फरक–फरक हुन आउँछ । चन्द्रमासका हिसाबले हरेक महिनाका कृष्णपक्ष र शुक्लपक्षमा एक–एक गरी एक महिनामा दुईवटा र वर्षभरीमा २४ वटा एकादशी हुन्छन् । तर, मलमास वा अधिक मासमा अरु दुईवटा एकादशी थपिएर जम्मा २६ वटा एकादशी हुन्छन् । यदि एकादशी तिथी दुई दिन परेको भए शैवमार्गीहरुले पहिलो दिन र वैष्णवहरुले दोस्रो दिन एकादशी व्रत राख्छन् ।
आजैदेखि चर्तुमास प्रारम्भ
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिकशुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीसम्मको चार महिनाको अवधीलाई चतुर्मास भनिन्छ । यसबीचमा साउन, भदौ, असोज र कार्तिक महिना पर्दछन् । हरिशयनी एकादशीदेखि विष्णु भगवान शयन गर्नुहुन्छ र भगवान भोलेनाथले यो सृष्टि रक्षाको लागि जिम्मेवारी लिनुहुन्छ । यसै कारणले साउन महिना शिवजी वा बोलबमका लागि अत्यन्त महत्वपूर्ण छ । र, यी चार महिनाहरुमा नै हाम्रा अनेक चाडपर्वहरु पर्दछन्, जो धार्मिक कृत्यसँग जोडिएका छन् । त्यसैले तन र मनको शुद्धि, ध्यान, उपवास, उपासना, दान दक्षिणा पूजा–आराधनाको लागि चतुर्मास विशेष समय रहन्छ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन भगवान विष्णु जागा भएपछि चतुर्मास समाप्त हुन्छ ।
हरिशयनी एकादशी व्रतकथा
धर्मराज युधिष्ठिर भन्नुहुन्छ– ‘हे केशव ! असार शुक्ल एकादशीको नाम के हो ? यो व्रत गर्ने के विधान छ ? र यस दिन कुन भगवानको पूजा गरिन्छ ?’ श्रीकृष्ण भन्नुहुन्छ– ‘हे युधिष्ठर ! जुन कथालाई ब्रम्हाजीले नारदजीलाई बताउनुभएको थियो, तिमीलाई म त्यही कथा बताउँदैछु । ध्यानपूर्वक सुन ।’
एक समय नारदजीले ब्रम्हाजीलाई सोध्नुभएको थियो तब ब्रम्हाजीले बताउन लाग्नुभयो– हे नारद तिमीले कलियुगका जीवहरुको उद्धारका लागि एकदम महत्वपूर्ण प्रश्न ग¥यौ । किनकि हरिशयनी एकादशीको व्रत सबै व्रतहरु मध्ये उत्तम छ । यस व्रतले समस्त पाप नष्ट हुन्छ । जो मनुष्य यस दिनको व्रत राख्दैन त्यो नरकगामी हुन्छ । यो व्रत गर्नाले भगवान विष्णु प्रशन्न हुनुहुन्छ । यस एकादशीको नाम पद्मा हो । अब म तिमीलाई यसको बारेमा एक पौराणिक कथा सुनाउँछु । ध्यानसँग सुन । सूर्य वंशमा मन्धाता नामका एक चक्रवर्ती राजा थिए । उनी सत्यवादी र महान प्रतापी थिए । आप्mना प्रजालाई सन्तान जस्तै गरी पालन गर्दथे । उनका सारा प्रजा धनधान्यले भरपूर र सुखी थिए । उनको राज्यमा कहिल्यै अनिकाल लाग्दैन थियो ।
एक समय त्यस राज्यमा तीन वर्षसम्म वर्षा भएन, जसका कारण अन्न उब्जनी घट्न गई अनिकाल देखा पर्न थाल्यो । अन्नको अभावले प्रजाहरु अत्यन्त दुःखी हुन थाले । अन्न अभावले यज्ञादि पनि बन्द भए । एकदिन प्रजा राजासामु गएर भन्न लागे– ‘हे राजा ! सारा प्रजाहरु त्ताहिमाम भएका छन् । अन्न नभएका कारण जनताहरु मरिरहेका छन् । यसर्थ हे राजन ! कुनै यस्तो उपाय बताउनुहोस कि, जसका कारण प्रजाको कष्ट हरण होओस् ।’ राजा मन्धाता भन्न लागे– ‘तपाईहरु ठीक भन्दै हुनुहुन्छ । मैले तपाईहरुको पीडालाई बुझेको छु ।’ यति भनेर राजा केही सेनाहरु लिएर वन तर्फ गए । वनमा अनेक ऋषिमुनीहरुको आश्रम हुँदै ब्रम्हाजीका पुत्र अंगीरा ऋषिको आश्रममा पुगे ।
घोडाबाट उत्रिएर राजाले ऋषिलाई प्रणाम गरे । ऋषिले राजालाई आशीर्वाद दिँदै आश्रममा आउनुको कारण सोधे । राजाले हात जोडेर निवेदन गर्न लागे– ‘हे भगवान ! सबै प्रकारका धर्म पालन गर्दा पनि मेरो राज्यमा अनिकाल लाग्यो । जसका कारण प्रजा अत्यन्त दुःखी छन् । शास्त्रमा भनिएको छ कि, राजाको पापको कारण नै प्रजालाई कष्ट हुन्छ । जब म धर्मानुसार नै राज्य गरिरहेको छु भने मेरो राज्यमा अनिकाल कसरी पर्न सक्छ ? यो कुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन । त्यसैले यही सन्देहलाई निवारण गर्न म यहाँ आएको हुँ । कृपा गरी मेरो सन्देहको निवारण गरिदिनुहोस् र प्रजालाई कष्टबाट छुटकारा गराउने उपाय बताइदिनुहोस् ।’
राजाको कुरा सुनेर ऋषिले भन्न लागे– ‘हे राजन ! सत्ययुग सबै युगहरु भन्दा उत्तम हो । यसमा धर्मका चारै चरणहरु सम्मिलित छन् । धर्मका प्रभावले नै अधिक उन्नती मिल्दछ । त्यसैले असार महिनाको शुक्ल पक्षको पद्मा नामको एकादशीको विधिपूर्वक व्रत गर्नुहोस् । यस व्रतको प्रभावले तपाईको राज्यमा वर्षा हुनेछ र तपाईका प्रजा सुखी हुनेछन् । किनकि यो एकादशीको व्रत सबै प्रकारको सिद्धी दिनेवाला व्रत हो । त्यसैले प्रजा, सेवक, मन्त्री सबैका साथमा यो व्रत राख्नुहोस ।’ मुनीको सल्लाह लिएर राजा आप्mनो राज्यमा फर्किए र विधिपूर्वक असारशुक्ल एकादशीको व्रत गरे । यस व्रतको प्रभावले वर्ष भयो र अन्न फसलको उब्जनीले सबै प्रजाहरु सुखी र खुशीपूर्वक रहन लागे । यो व्रत यो लोकमा भोग र परलोकमा मुक्ति दिनेवाला व्रत हो । यो कथा पढ्ने वा श्रवण मात्र गर्नाले पनि मनुष्यका सम्पूर्ण पाप नष्ट भएर जान्छन् ।
व्रत विधान
धार्मिक मान्यता अनुसार हरिशयनी एकादशीको व्रत गर्ने व्यक्तिले दशमी कै दिनबाट तामसी भोजन र विचार बन्द गर्नुपर्दछ । एकादशीका दिन उपासकले बिहान स्नानादी गरेर शरीर र चित्त शुद्ध राखी व्रतको संकल्प गर्नुपर्दछ । भगवान विष्णुको प्रिय रंग पहेँलो हो । त्यसकारण उपासकले सम्भव भएसम्म पहेँलो वस्त्र धारण गर्नु उत्तम हुन्छ । पूजामा पञ्चामृत, तुलसीपत्र, पहेँला पूmल, केसर, हल्दी आदिको उपयोग विशेष मानिन्छ ।
आप्mना सम्पूर्ण पापबाट मुक्ति पाउनका लागि यो व्रत गरिन्छ । यस दिन कसै प्रति पनि घृणा, क्रोध, गलत विचार आदिबाट टाढै रहनुपर्छ । शास्त्र अनुसार, यस दिन नङ्ग, बपाल, दारी आदि काट्नु वा खौरिनु हुँदैन । साबुन, तेल आदिको उपयोग पनि वर्जित मानिएको छ । यस एकादशीको व्रत सकेसम्म लिनु उत्तम र नसके पनि यस दिन चामलको प्रयोग नगर्नु राम्रो मानिन्छ ।