झापा, असार १५ झापाको कुञ्जिबारीस्थित पूजा फार्मेसीमा सामान्य ज्वरो आएको विरामीलाई गलत औषधि प्रयोग गरेको कारण विमारीको मृत्यु भएको भन्दै फार्मेसी संचालकलाई पक्राउ गरेर कार्वाही गर्न पीडितले प्रशासनसंग माग गरेका छन् ।
गौरिगञ्ज गाँउपालिका वडा नम्बर १ निवासी १२ वर्षीया ज्योतिकुमारी महतोलाई १३ गते दिउँसोदेखि ज्वरो आएको थियो । आमा बुच्नी महतोले कुञ्जिबारीको पूजा फार्मेसीमा उपचारका लागि अपरान्ह ४ बजे लगेको बालिकाको बुवा राम विलास महतोले बताए ।
क्लिनिक संचालक कार्तिकलाल राजबंशीकी श्रीमती कसुम राजंवंशीले ज्वरो आएको विरामीलाई डेक्सिन (म्बहष्ल) नामको इन्जेक्सन दिएकी थिइन् । गौरिगञ्ज गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहेका राजबंशी पसलमा नभएका बेला श्रीमतीले औषधि बेच्ने, विरामीलाई इञ्जेक्सन लगाइदिने र सामान्य चिरफार समेत गर्ने गरेको स्थानीयले बताए ।
ज्योतिलाई ज्वरोसंगै स्वास्प्रस्वासको पनि समस्या रहेको बताइएको छ । राजबंशीकी श्रीमती कुसुमले इन्जेक्सन लगाएपछि अब निको हुन्छ भन्दै घर पठाएकोे आमा बुच्नीले बताईन् ।
‘छोरीलाई पहिला स्वास— प्रस्वासको समस्या थियो । कु्न्जिबारीको पूजा फार्मेसीमा ‘वाफ’ लगाएपछि निको हुन्थ्यो,’ आमा बुच्नीले भनिन्,‘ अस्ति पनि ‘वाफ’ लगाउनका लागि लगेकी थिए उनले सुई लगाइदिनु भयो ।’
‘कुसुमले वाफ बिग्रिएको छ । आज इन्जिेक्सन लगाईदिन्छु । निको हुन्छ भन्नुभयो । मैले पनि होला भनेर उहाँको कुरा सहजै स्विकारे । तर, इन्जिेक्सन लगाएर घर पु¥र्याएको आधा घन्टामा नानीलाई वान्ता भयोे र केही समयपछि छोरीको मृत्यु भयो,’ आमा बुच्नीले भनिन् ।
फार्मेसीबाट घर पु¥याएको १ घन्टामा छोरी ज्योतिको मृत्यु भएको बुवा राम विलास महतोले बताए । उनका अनुसार ज्योतिलाई दिउसो २ बजेदेखि ज्वरो आएको थियो । ज्योति स्थानीय बालकल्यायण माविमा कक्षा ६ मा अध्ययरत छात्रा हुन् ।
सामान्य ज्वरो आएको विरामीलाई गलत औषधिको प्रयोगले विमारीको मृत्यु भएको आफन्तजनको आरोप छ । फार्मेसी संचालक वडा अध्यक्ष र उनकी श्रीमती राजवंशीलाई पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिनुपर्ने, राजबंशी दम्पतीको योग्यता र क्षमताका कागजी प्रमाण जाँच गर्नुपर्ने लगायतका माग आफन्तले गरेका छन् ।
वालिकाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी आज विहान आफन्तले दाहसंस्कार गरेका छन् ।
स्थानीयले फार्मेसी संचालकलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाएका छन् । घटनाको तीन दिनसम्म पक्राउ गरेर कार्वाहीका लागि प्रकृया अगाडि नबढाएकोमा प्रहरी प्रशासनसंग आफन्त र स्थानीयले आपित्त जनाएका छन् । तर, झापा प्रहरीले घटनाको बारेमा सामान्य जानकारी भएको प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए ।
पोष्टमार्टम रिपोर्ट नआउन्जेल प्रहरीलले घटनाका बारेमा यसै भन्न नसक्ने उनले बताए । फार्मेसी संचालकले प्रयोग गरेको औषधि परीक्षणका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । फार्मेसी र संचालकको कागजात पनि प्रहरीले अनुसन्धानका लागि मागेको छ । घटनाका बारेमा दुबै पक्षलाई शुक्रबार इलाका प्रहरी कार्यालय झिलझिलेमा बोलाईएको प्रहरी श्रोतले बताएको छ ।
यता गौरिगञ्ज गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष समेत रहेका क्लिनिक संचालक कार्तिक लाल राजवंशीले विरामीलाई सही औष्ािध दिएको प्रतिकृया दिएका छन् । उनले फार्मेसी र संचालकको कागजी प्रमाणमा संका गर्नुपर्ने कारण नभएको पनि बताए । उनले भने, ‘ राजनीतिमा आग्रह पूर्वाग्रह राख्ने व्यक्तिले के निहँु पाँउ भनेर खोजिरहेका थिए । अहिले यो घटनालाई जोडेर अतिरन्जित गरिदैछ ।’ कार्तिकलाल अनमी भएको स्थानीयले बताए ।





























