राष्ट्रिय धान दिवसको अवसरमा अर्जुनधारामा विविध कार्यक्रम

0
195

झापा,“जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मुख्य नारासहित २०औं राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार झापाको अर्जुनधारामा विविध कार्यक्रम गरि मनाइएको छ ।
नगर कृषि विकास शाखाको आयोजना र अर्जुनधारा–८स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा अर्जुनधारा–४स्थित कृषक राजेन्द्र निरौलाको धानखेतमा विविध कार्यक्रम गरि मनाइएको हो ।
संस्थाका अध्यक्ष प्रत्युस रानाको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उत्कृष्ट कृषक सम्मान, खुल्ला पुरुष तथा महिला हिले दौड प्रतियोगिता, खुल्ला छात्र र छात्रा हिले दौड प्रतियोगिता, अर्जुनधारा–९स्थित पाथीभरा नौमती बाजा समूहबाट नौमती बाजासहितको बेठी नाच तथा पञ्चकन्या संगिनी समूहबाट संगिनी नृत्य प्रस्तुत गरिएको थियो ।


उत्कृष्ट कृषक अन्र्तगत बैमौसमी–मौसमी तरकारी खेतीतर्फ अर्जुनधारा–१ निवासी युवराज कार्की, प्रमुख खाद्यान्न बालीहरु धान, मकै र गहुँ खेतीतर्फ अर्जुनधारा–४ निवासी उमानाथ हुमागाईं र व्यावसायिक तरकारी खेतीतर्फ अर्जुनधारा–९ निवासी नारद पौडेललाई जनही नगद पुरस्कार पाँच हजारसहित सम्मान पत्रबाट पुरस्कृत गरिएको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष छत्र पौडेलले जानकारी दिए ।
त्यसैगरी खुल्ला पुरुष हिले दौडतर्फ प्रथम छविलाल दुलाल, द्वितीय हेमचन्द्र भट्टराई र सान्तवना लेखनाथ प्रसाईं, महिलो हिले दौडतर्फ प्रथम विष्णु भूजेल, द्वितीय मनिसा भण्डारी र सान्तवना हरिमाया दाहाल भएका थिए । त्यस्तै छात्रतर्फ प्रथम रोहित दनुवार, द्वितीय राहुल थापा र तृतीय ऋचन ढकाल तथा छात्रातर्फ प्रथम रोसीका ओली, द्वितीय चन्द्रा सुवेदी र तृतीय समिक्षा थापा भएका थिए ।


बेठी नाच र संगिनी नृत्यसहित सुरु भएको रोपाईं कार्यक्रममा कृषक निरौलाको १० कठ्ठा जमिनमा रोपाईं गरिएको थियो । रोपाईं कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, कार्यपालिका सदस्य कौशिलाल परियार, अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, ७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, १०का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, नगर सभा सदस्य एवम् न्यायिक समितिका सदस्य तुम्मनाथ काफ्ले, स्थानीय ब्राइट बिग्निङ एकाडेमी र सूर्यज्योति अङग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुलगायतको सहभागिता रहेको थियो ।
नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष पौडेलले गरेका थिए ।

धान दिवसमा प्रगति महिलाको रोपाईं कार्यक्रम

२०औं राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार झापाको अर्जुनधारा–१०स्थित प्रगति महिला कृषक समूहले बेठीसहित रोपाईं कार्यक्रम सम्पन्न गरेको छ ।
समूहले स्थानीय मेनुका घिमिरे उप्रेतीको आठ कठ्ठा जमिनमा बेठी नाच र रोपाईं सम्बन्धी गीतहरुमा नृत्य गर्दै रोपाईं कार्यक्रम सम्पन्न गरेका थिए ।
समूहकी अध्यक्ष गान्धारी मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य डम्बर द्यौरालीले उद्घाटन गरेका थिए । एक सय जना बढी सहभागीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा दही चिउरा वितरण गरिएको थियो ।

(फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here