‘सुखानी सहादत स्थल’मा ढलेको रुखको स्थानमा बिरुवा रोपिने

0
73
अमित खम्बू
अर्जुनधारा, गत असार ८ गते परेको वर्षाका कारण इलाम र झापाको सीमाक्षेत्रस्थित ‘सुखानी सहादत स्थल’मा रहेको पाँच वटा रुखमध्ये ढलेको मैना प्रजातीको रुखको स्थानमा सोही प्रजातीको बिरुवा रोप्ने सहमति भएको छ ।
स्थानीय सुखानी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने त्यस स्थलमा भएको घटनाको विषयमा शनिबार आयोजित जनप्रतिनिधि, सरोकारवाला र समूहका पदाधिकारी तथा सदस्यहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
समूहका अध्यक्ष मंगलसिंह लिम्बूको अध्यक्षतामा सम्पन्न बैठकले ढलेको रुखको भागलाई सुरक्षितरुपमा सोही परिसरमा राखिने, रुख ढलेको स्थानमा सोही प्रजातीको नयाँ बिरुवा रोपिने र रुख ढल्ने क्रममा स्तम्भको तल्लो भागसँगै रुख वरिपरी लगाइएको ग्रीलको घेराबारामा पुगेको क्षतिलाई पुनः मर्मत गर्ने निर्णय गरेको हो ।
उक्त बैठकमा माई नगर सभा सदस्य महेन्द्र बुढाथोकी, नेकपा एमाले झापाका सदस्य दिव्यप्रसाद कट्टेल, नेपाली काँगे्रस अर्जुनधारा–३ वडाका प्रतिनिधि धुव्र खाती, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दीपक दुलाल, समूह सल्लाहकार समितिका संयोजक ओमप्रकाश सिटौला, समूहका पूर्व अध्यक्ष एवम् लेखा समितिका संयोजक धनबहादुर तामाङ, सदस्य अमर परियार, अनुगमन मूल्याङ्कन समितिका संयोजक मनबहादुर जवेगु र सदस्य कुलप्रसाद चापागाईं, ज्येष्ठ नागरिक लक्ष्मीप्रसाद इङनामलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै बैठकमा समूहका उपाध्यक्ष जयबहादुर मगर, पर्यटन उपाध्यक्ष विपिनकुमार चौहन, सचिव रञ्जिता भट्टराई, कोषाध्यक्ष डिल्लीबहादुर अधिकारीलगायतको सहभागिता रहेको थियो ।
हाल अर्जुनधारा–३ र माई–४मा पर्ने सोही स्थलमा तत्कालिन् झापा आन्दोलनको क्रममा पक्राउ परेका पाँच जना शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठलाई मारिएको थियो ।
वि.सं.२०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने क्रममा मारिएका उनीहरुसँग त्यहाँ रहेको पाँच वटा रुखलाई सांकेतिकरुपमा जोडेर हेरिने गरेको हुँदा पनि उक्त पाँच रुखको ऐतिहासिक महत्व रहेको स्थानीय जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here