जिन्दगीको यात्रामा

0
61

प्रसुती कक्षबाट हिलचियरमा गुडाउँदै बाहिर निकालिएकी मेरी श्रीमतीले मोलाइम स्वरमा मेरो अनुहारमा पुलुक्क हेरेर भनिन् हाम्रो छोरो जन्मियो । त्यसो त बाहिर ढोकाको छेउमा उभिएर उनको अवस्थाबारे बेलाबेला ढोकाबाट भित्र चिहाउँदै डाक्टर वा स्वास्थ्यकर्मीसँग सोध्दै, बुझ्दै गरेको मलाई उनीहरूले तपाईको छोरा जन्मियो भनेर भनिसकेका थिए । तर, मलाई श्रीमतीको मुखबाट त्यसरी सुन्दा मन सारै पुलकित भयो ।
सन्तान प्राप्तिको खुशी त छँदै थियो । अर्को कुरा श्रीमतीको महिनौंदेखिको गह्रौं पेट हलुका भयो । यो कुराले पनि मन शान्त भयो । केही समय अगिसम्म प्रसुती पिडाले छट्पटाइरहेकी मेरी श्रीमतीले आफ्नो बेडदेखि ढोकाबाट बेला–बेलाभित्र चिहाउँदै गरेको मलाई प्रसव पीडा सहन नसकी आँखाभरि आँशु पार्दै हेर्दै थिइन् । ढोका खोलेर स्वाथ्यकर्मीहरू भित्र–बाहिर गर्दा बेला–बेला हाम्रो अनुहार देखादेख हुन्थ्यो । पालेले ढोका छेउमा उभिएर आफ्ना विरामीलाई चिहाउँदै गरेकाहरूलाई ढोकामा भीड नगरी दिन भन्दै थियो । त्यहाँबाट हटाउँदै थियो । २०७४ असार १२ नोबेल अस्पताल विराटनगरको कुरा ।
सारा पीडा सहेर पनि मानिसमा सन्तान प्राप्तिको खुशी अद्भूत हुँदो रहेछ । नयाँ जीवन प्राप्तिको अनुभूति पो हुँदो रहेछ । परिवारमा सानो खुशी छाएन । मानिसले अतीतलाई कि खुशीको क्षणमा सम्झदो रहेछ कि दुःखको क्षणमा । अकस्मात लाग्यो । आमा भएको भए नाति जन्मेकोमा कति खुशी हुनुहुन्थ्यो होला ! सम्झेँ आमालाई । आँखाभरि आशुँ भए । आमा बितेको पनि सात वर्ष जति भइसकेछ । अझै घाउ निको भइसकेको छैन । ठानेँ, म जन्मँदा पनि आमा यस्तै खुशी हुनु भएको थियो होला । सायद म जस्तै खुशी ।
सामान्यतयाः म बुझ्ने भइसकेपछि आमा कहिलेकाहीँ मसँग भन्ने गर्नुहुन्थ्यो । तँ जन्मेपछि मात्र मलाई अलि सुख भयो । नत्र छोरा पाइन भनेर मैले कम सास्ती भोग्नु परेको होइन । म भन्न चाहन्थेँ आमा अहिले त्यस्तो छैन । पहिलेको जस्तो अहिले छोरा र छोरीमा कुनै भेदभाव छैन । पहिले भन्न सकिन । पछि भन्न पाइनँ । भन्नु उसो होइन अझै पनि समाजमा छोरा र छोरी कुनमा बढी खुशी छ ? भनेर सोध्ने हो वा अन्तर मनको गोप्य मतदान गर्ने हो भने छोरामा खुशी हुनेहरू कै पल्ला भारी हुन्छ । हामीले हामीलाई छोरा भएपनि छोरी भए पनि हुन्छ । केही फरक पर्दैन भन्दा तिमीहरूको छोरै हुन्छ भनेर अड्कल काट्नेहरू नै समाजमा धेरै थिए ।
म हजुरआमासँग बसेर हुर्केको । मलाई सम्झना छ । हजुरआमा बुबाआमालाई मेरो नाती मसँगै बस्छ भन्नुहुन्थ्यो । मलाई हजुरआमाले बुबाआमासँग बस्न दिनु भएन । म हजुरआमासँगै बसेँ । हजुरआमाले मिठो–मिठो ख्वाएर हुर्काउनु भएको मलाई । फउडेलको चामलको भात र गाईभैंसीको दूध । सारै प्यारो गर्ने मलाई हजुरआमाले । मेरो एउटा भएको नाती भन्नुहुन्थ्यो । मह, घिउ, चिनी, मिस्री ला नानी खा भनेर दिनुहुन्थ्यो । मैले देखावटी माया बुबाआमाबाट भन्दा बढी हजुरआमाबाट पाएँ । धेरथोर मलाई यहीँबाट थाह भयो । आफ्ना सन्तानको माया कति हुँदोरहेछ । बुबाआमाले बाहिर माया त्यति देखाउनु भएन । भित्र भने बुबाआमा पनि औधी माया गर्नुहुन्थ्यो ।
आफ्ना सन्तानका निम्ति ज्यानै दिनु परे पनि ज्यानै फाल्न तयार । म बुबाआमाको बुढेसकालको रहरको छोरो । छोराछोरीप्रतिको सम्पूर्ण कर्तव्य पूरा गर्नुभएको छ, बुबाआमाले पनि हामीलाई । बरू हामीले आफ्ना सन्तानप्रतिको कर्तव्य पूरा गर्न सकिएला नसकिएला । यद्यपि बुबाआमाले हामी छोराछोरीप्रतिको कर्तव्य पूरा गर्न कुनै कसर बाँकी राख्नु भएको छैन । भित्रभित्रै बुबाआमा बरू आफैँ कति रुनु भयो होला । तर, हामीलाई कहिल्यै रुवाउनु भएन । बुबाआमाबाट मैले यो सन्तानप्रतिको अगाध माया मेरो मन–मस्तिष्कमा पसेको थाहै पाइनँ । यो थाह हुने कुरा पनि होइन रहेछ । पछि आफैंमा अनुभूति हुने कुरा रहेछ । असह्य पीडाका बाबजुत पनि श्रीमतीको अनुहारमा खुशीको दियो बलेको देखेपछि मेरो अनुहारमा पनि खुशीको उज्यालो नछरिने त कुरै भएन ।
बुबाआमाले हाम्रा निम्ति जति गर्नुभयो । त्यति निश्चय पनि हामीले बुबाआमालाई गर्न सकेनौं । मलाई यसप्रति खेद छ । यद्यपि मलाई पश्चाताप छैन । मैले बुबाआमालाई जानी–जानी कहिल्यै रुवाइन । नजानेर पनि रुवाएँ जस्तो लाग्दैन । यदि मैले अनजानमा बुबाआमालाई रुवाएको भए पनि मलाई उहाँहरूले पक्कै पनि माफ गर्नुभयो होला । सन्तान भनेको एउटा आशा र भरोसाको केन्द्र पनि रहेछ । आफूले आफ्ना बुबाआमाप्रतिको कर्तव्य पूरा गरिएको छैन भने आफूले पनि आफ्ना सन्तानबाट के आशा राख्नु !
मेरो सन्तान मेरो काखमा हुर्कदै गर्दा लाग्छ म यति बेला स्कुलिङमा छु । मलाई हुर्काउँन मेरा बुबाआमाले आफूलाई कति घोट्नु भएको रहेछ । आफूले खाइनखाइ, लाइनलाइ, घरमा भएनभए पनि मेरो इच्छा कहिल्यै मार्नु भएन । अहिले पनि सम्झँदा आँखाभरि आँशु हुन्छन् । मैले आमाबुबालाई जोरै हुँदा बुढेशकालमा खुशी तुल्याउँदै छेउमा राखेर एकछाक मिठो खाना पनि खुवाउन पाइन । जसरी मैले सानोछँदा उहाँहरूको बिचमा बसेर खाएको थिएँ । मलाई कसरी हसाउँदै खुवाउनुभएको थियो । मैले हजुरआमा बितेपछि मृत्युलाई अलिकति बुझेँ । आमा बितेपछि जीवन र जगत्लाई थोरै भए पनि बुझेँ ।
यो मैले अनुभूति गरेको कुरा । जीवनमा सन्तानले एउटा अद्भूत खुशी लिएर आउँदा रहेछन् । जीवनमा खुशीको पल महशुस नभएका बाउआमालाई पनि खुशीको अनुभूति गराउँदा रहेछन् । खुशी तुल्याउँदा रहेछन् । ठानेँ जीवनको अलिकति खुशी त यहाँनेर पनि रहेछ नि । ऊ हाँस्छ, रुन्छ, हातखुट्टा फालेर खेल्छ । मुखबाट अस्पष्ट आवाज, भाषारहित ध्वनि निकाल्छ, निद्रामा मुस्कुराउँछ । यो दखेर बाउआमाको मन कति पुलकित हँुदोरहेछ । भाषा जानेर आफ्ना र आफन्तलाई सम्बोधन गर्न थालेपछि त झन् बाउ–आमाको मन कति आल्हादित हुँदो हो । सन्तानले आफैंमा साँच्चै खुशी भर्दा रहेछन् । लाग्यो जिन्दगी त जिउँन अझै बाँकी नै पो रहेछ त ! सन्तान प्राप्तिपछि तिनले दिने सुख झन् कति अद्भूत होला ।
सम्झना अझै ताजै छ । धान गोड्न जाँदा हो वा दारिम पेल्दा हो । जे होस् म सानो छँदै मैले आमालाई सोधेको थिएँ । आमा तपाईलाई आफ्ना सन्तान कस्ता हुन् जस्तो लाग्छ ? आमाले मलाई केके सोध्छ–सोध्छ यो मोरो पनि ! भनेर त्यतिकै टार्न खोज्नु भएको थियो । मैले ढिप्पी गरेर सोधेपछि अत्यन्तै सटिक एकै वाक्यमा उत्तर दिनुभएको थियो । कस्ता हुन् जस्तो लाग्छ भन्नु अब अरू कसैका भन्दा कमी नहुन् जस्तो लाग्छ नि । त्यसपछि एकछिन् हाम्रो संवाद स्थगित भएको थियो । यो नै मेरो जीवनको एउटा टनिङ प्वाइन्ट बन्न पुग्यो । आज मलाई मेरा छोराले पनि त्यही प्रश्न ग¥यो भने मेरो मुखमा हृदयदेखि नै त्यही उत्तर खडा छ । सायद सबैलाई यस्तै लाग्दो हो ।
म पनि जीवनमा खुशी खोजेर धेरै भौतारिएको छु । मलाई देख्ने, बुझ्ने, जान्नेहरूले मलाई सधैँ खुशी देखेँ । कुनै बेला मलाई पनि लाग्थ्यो । मानिस सुखी भएपछि खुशी त्यसै भइहाल्छ नि । तर, सुख र खुशी एउटै कुरा होइन रहेछ भन्ने कुरा बुझ्न पनि मलाई यतिका वर्ष लाग्यो । धेरथोर खुशी आफैंभित्र रहेछ । आफैंभित्रको खुशी भेट्टाउन पनि मलाई यतिका समय लाग्यो । यति नै जीवनको सम्पूर्ण खुशी नभए पनि जीवनको खुशीको आधा हिस्सा त सन्तानले पनि ओगटेका हुँदा रहेछन् । घाँसको भारी अड्याउँने चौतारी जस्तै रहेछन् सन्तान ।
मनको भारी अड्याउने वा बिसाउने चौतारी । आशा र भरोसाका केन्द्र । ठानेँ जिन्दगी त साँच्चै नपाउनुको जिन्दगी पो रहेछ त । खुशी माथि खुशी थप्न सके झन् कति खुशी हुँदो हो मन ! यो त बाँड्दै जाँदा जति बाँड्यो उति बढ्दै जाने चिज रहेछ । जीवनमा त्यति ठूलो खुशी हात नलागे पनि यस्तै सानातिना खुशीमा रमाउनु पनि जिन्दगी नै रहेछ । यस्तै खुशीहरू सङ्गालेर बाँच्नु पनि जिन्दगी नै रहेछ । आखिर हामी सबै यो मञ्चरूपी सन्सारमा एकछिन अल्मलिन आएका रहेछौं । आ–आफ्नो अभिनय ग¥यो । त्यसपछि गयो । संसारको रित हिजो आइयो । आज छौं । भोलि जानु त छँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here