धरान , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा खानेपानी अभाव हुँदा डायलायसिस सेवा प्रभावित भएको छ ।
खानेपानी अभाव कायमै रहेपछि दैनिक ४ घण्टासम्म डायलायसिस गर्नुपर्ने भएपनि विरामीलाई २ घण्टा मात्रै डायलायसिस गर्न थालिएको छ । प्रतिष्ठानको डायलायसिस वार्डमा दैनिक ४० देखि ६० बिरामीको डायलायसिस हुँदै आइरहेको छ ।

डायलायसिसको बिरामीलाई उपचार गर्दा प्रति बिरामी ३ सयदेखि ६ सय लिटरसम्म पानी खपत हुने गर्दछ । खानेपानी अभाव भएसँगै सबै डायलायसिसको समय घटाइएको हो । प्रतिष्ठानमा नियमित डायलायसिस गरिरहेका धरानका दलबहादुर छायाले २ घण्टा मात्रै डायलायसिस गरेर फर्किएकोे गुनासो गरे । त्यस्तै रामधुनी–७ का इन्द्र मगरले पनि २ घण्टा मात्रै डायलायसिस गरेको बताए ।
यस अघि प्रतिष्ठानमा खानेपानी आपूर्ति नहुँदा डायलायसिस सेवा अवरुद्ध हुन पुगेको प्रतिष्ठानकी प्रवत्ता डा। अञ्जु प्रधानले बताएकी थिइन् । तर अहिलेसम्म पनि प्रतिष्ठानमा खानेपानीको सहज वितरण छैन । यस अघि पनि विपिमा खानेपानीको अभावकै कारण डायलायसिस सेवा अवरुद्ध हुँदै आएको छ ।































