रत्नबहादुर बस्नेत
बिर्तामोड , झापाको बिर्तामोड -१०स्थित पत्थरभिट्टा परिश्रमी कृषक समूहले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ।
असार पन्द्रको अवसरमा कृषकको खेतमा एक कार्यक्रमको आयोजना गरि नौमती बाजासहित दही चिउरा खाने, तथा बेठी लगाएर असार भाकाका गीत गाउँदै हर्षोल्लासपूर्वक धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको मनाइएको हो। 
परिश्रमी कृषक समूहका अध्यक्ष ओदराज लिम्बूको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समूहकी उपाध्यक्ष राममाया राईले स्वागत गरेकी थिइन् ।
प्रमुख अतिथि संग्रौलाले असार १५ तथा धान दिवसको सामाजिकआर्थिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै कृषि क्षेत्रमा विकास गर्न यस दिनले जनप्रतिनिधि तथा किसानहरुमा उत्साह थपेको बताए।

कृषक समूहका अध्यक्ष लिम्बूले बेठी परम्परा संरक्षणसँगै कृषि पेशामा किसानहरुमा आनन्द र उत्साहका अग्रसर हुन सहयोग पुगोस् भनेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।
वडाध्यक्ष दुर्योधन गुरुङले किसानका समस्यामा ध्यान दिंदै यस प्रकारका कार्यक्रमका उद्देश्यका साथ आफ्नै वडामा महिला नौमती बाजा समूह तयार गरि किसानहरुमा हौसला बढाउन वडाले सहयोगी भूमिका खेलेको बताए।
स्थानीय सिद्धार्थ बोर्डिङ स्कूलका विद्यार्थीहरुको समेत सहभागिता रहेको उक्त धान रोपाइँ कार्यक्रमका अवसरमा हण्डी फुटाउने खेलको समेत आयोजना गरिएको थियो।
सैनिक महिला नौमती बाजा समूहले असारे भाकाका गीत प्रस्तुत गरेको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, ६ का वडाध्यक्ष सूर्यप्रकाश कन्दङ्वा, ५ का वडाध्यक्ष रोहित प्रसाई,वडा सदस्यहरु धनमाया श्रेष्ठ, दीपिका सिवा, बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य गीता पोखरेल, न्याय समिति सदस्य प्रेम पौडेल, सिद्धार्थ बोर्डिङ स्कूलका संस्थापक कल्पना शाही,रिमानध्वज लोक्ताम लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव सन्तोष बेघाले गरेका थिए।
































