आधुनिकताले नछेकोस्, गुरु पूर्णिमा

0
45

असार महिनाको पूर्णिमाका दिनलाई गुरुपूर्णिमाका रुपमा मनाइन्छ । आज अर्थात् असारको १८ गते सोमबार पूर्णिमा तिथिको दिन सनातनी परम्परा अनुसार यो दिनलाई व्यास जयन्तीका रुपमा पनि मनाउने गरिएको छ । व्यास तिनै महामानव हुन् जसले वेदको रचना गरे, पुराण र उपनिषद् लगायतका ग्रन्थहरुको रचना गरे । नेपालको तनहुँ जिल्लास्थित दमौलीमा जन्मिएका महर्षि व्यासले सेती र मादीको संगमस्थलमा साधना गरेको र ती ग्रन्थहरुको सृजना पनि त्यहीं भएको मानिन्छ । वेद, पुराण, महाभारत जस्ता ग्रन्थहरुका माध्यमबाट मानवतावादी दर्शन प्रवाहित गरेकै आधारमा पनि नेपाललाई गुरु भूमि, सृष्टि भूमि, सभ्यता भूमि, योग भूमि, देव भूमि भन्ने गरिएको छ । यसरी नेपाललाई संसारकै गुरु भूमि बनाउने गुरु व्यासदेखि गुरु गोरखनाथसम्मका तपस्वी, साधक, सर्जक तथा मानवतावादी दर्शनका प्रचारकहरुलाई आज विशेष सम्मान प्रकट गर्नु हाम्रो कर्तव्य हुन आउँछ ।

सनातन संस्कृतिमा कुनै पनि तन्त्र, मन्त्र तथा साधनाको प्रारम्भ गर्ने उत्तम दिन मानिन्छ आजलाई । परापूर्वकालमा यही दिनबाट सामुहिक रुपमा शिक्षा–दीक्षा ग्रहण गर्न शुरु गरिन्थ्यो । त्यही भएर वैदिक सनातनी परम्परामा गुरुपूर्णिमा पनि भनिने आजको दिनको विशेष महत्व रहेको छ । हाम्रो मौलिक परम्परामा जसले अज्ञानरुपी अन्धकार हटाएर मन, व्यवहार र कर्ममा ज्ञानरुपी आलोक प्रवाहित गर्छ ऊ नै गुरु हो । हामीभित्रका द्वेष, क्लेष, कटुता, वैमनश्यता, रिसराग हटाएर मनलाई सृजनशील, पवित्र, परोपकारी तथा विकाररहीत बनाएर आत्मालाई परमात्मासँग जोड्ने ‘पुल’को काम गर्ने व्यक्ति गुरु हुन्, जसको कृपाबिना हामी मानिस बन्न सक्दैनौं ।

भनिन्छ, गुरु ज्ञानबिना मानव जीवन सार्थक हुँदैन । अज्ञानताको अँध्यारोलाई चिर्दै ज्ञानको आलोकले हाम्रो जीवनलाई सुन्दर बनाउन उत्प्रेरणा दिने गुरुलाई यसकारणले पनि हाम्रो सनातनी मान्यताले देवताको कोटीमा राखेको छ । ब्रह्मा, विष्णु र महेश जत्तिकै सुपूज्य बनाएको छ र आफू जलेर शिक्षार्थीसँगै समाजलाई आलोकित बनाउने र दधिचिको उदारता प्रस्तुत गरेको छ । गुरुबिना न हामी संसार चिन्न सक्छौं न त जीवन सार्थक बनाउन । ज्ञान, विज्ञान लगायत सम्पूर्ण चेतनाका संवाहक गुरु व्यास जयन्तीका दिन प्रथम गुरु मातासँगै पिता तथा शिक्षा–दीक्षा प्रदान गरेर हामीलाई संघर्षशील मानव बन्न योगदान दिने गुरुहरुप्रति सम्मान प्रकट गरौं । आधुनिकताको अन्धानुशरणले क्षयोन्मुख हाम्रो सभ्यतालाई पुनर्जाग्रत गरौं, गुरु पूर्णिमाको सार्थकता खोजौं र मौलिक पहिचान भएको यो दिनको सान्दर्भिकता र महत्वलाई उजागर गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here