समकालीन नेपाली राजनीतिका सात महारोगहरू

0
99

छिमेकी चीन सन् १९४९ अक्टुबर १ मा जापानी र अमेरिकी साम्राज्यवादीको सिक्रीबाट र १५ अगस्ट १९४७ मा छिमेकी भारत ब्रिटिसको पञ्जाबाट स्वतन्त्र भएका बेला नेपाल पनि १०४ वर्षे जहानियाँ राणाशासनबाट मुक्त भएको थियो । अहिले संसार कै सबैभन्दा ठूला अर्थतन्त्र भएका १० मुलुकमा क्रमशः संयुक्त राज्य अमेरिका, चीन, जापान, जर्मनी, भारत, संयुक्त अधिराज्य बेलायत, फ्रान्स, इटाली, क्यानाडा, दक्षिण कोरिया रहेका छन् । सँगसँगै स्वतन्त्र भएका चीन र भारतको त के कुरा नेपालभन्दा पछि विकासको शुरुवात गरेको दक्षिण कोरिया धेरै माथिल्लो स्थानमा पुगिसक्यो, तर हामी पछि छौं । हामी नेपालीलाई केले बाँधेको छ, हाम्रो नेतृत्वलाई केले गाँजेको छ, जसले गर्दा दर्जनौं सकारात्मक पक्ष हुँदाहुँदै पनि मुलुक प्रगतिपथमा लम्कन सकेन ? नेपालको प्रतिव्यक्ति आय ११ सय अमेरिकी डलरभन्दा माथि जान सकेको छैन । समकालीन नेपाली राजनीतिका मुख्य शत्रुहरूमा पुँजीवाद र सामन्तवाद रहेका छन् । सामन्तवाद र पुँजीवाद अभिव्यक्त हुने नियतिवाद, जडसूत्रवाद, नश्लवाद (जातिवाद), धार्मिक अतिवाद, प्रियतावाद, अन्धराष्ट्रवाद र खिचडीवाद नै हाम्रा महारोगहरू हुन् ।

हामी नियतिवादी छौं । कर्मवाद र नियतिवाद विरोधी धर्म हुन् । कर्मवादले काममा विश्वास गर्छ भने नियतिवादले प्रारब्ध र भाग्यमा । भाग्यको भरोसामा पर्नेहरूले कर्ममा विश्वास नगर्न सक्छन् । नियतिवादले समाज आफैं बद्लिने हो भन्ने विश्वास गर्छ । मानवको सचेत प्रयत्न चाहिन्न भनेपछि विद्यमान सामाजिक अन्तरविरोध र ती अन्तरविरोधले हुर्काएको राजनीतिक चेतना र सो अनुसारको कर्म आवश्यक छैन भन्ने बुझिन्छ । नेपालमा प्राज्ञिक र राजनीतिक यात्राले गति लिन नसकेको भाग्यवादले नै हो । योजनाबद्ध रूपमा गर्नेभन्दा भाग्यमाथिको भरोसा राख्ने विचार वा धारणालाई भाग्यवाद वा नियतिवाद भनिन्छ । विगतदेखि नै भाग्यवादले व्यक्तिलाई मात्र नभई पूरै समाज र राष्ट्रलाई नै ठूलो मनोवैज्ञानिक प्रभाव पार्दै आएको हो । राजनीतिक संघर्ष र बौद्धिक प्रतिबद्धताका बीच झांगिएको २१औं शताब्दीमा परिवर्तनकारी राजनीतिक परिवेशमा उदाएको सोच जीवनका भयानक आरोह अवरोहको सामना गर्दै अघि बढ्नुको सट्टा भाग्यवादमा फँसेको छ । आदर्शलाई यथार्थमा परिणत गर्न र सिद्धान्तलाई वास्तविकतामा लागू गर्नका लागि कर्मवादी सोच चाहिन्छ ।

नेपालमा किन क्रान्ति सफल हुन सकेको छैन र रूपान्तरणकारी सोच विचार वास्तविक धरातलसँग किन मेल खाएनन् ? यी हामीले सामना गर्नुपरेका आधारभूत प्रश्नहरू हुन् । अभिलाषाको प्राप्ति हेतु कर्म गर्नैपर्छ, भाग्यमा छ भन्दैमा चुपचाप बसेर केही प्राप्त हुँदैन भन्ने चेतना पनि आदिकालदेखिकै हो । शारीरिक वा बौद्धिक कार्य, उद्योग, जागरुकता, उद्देश्यपूर्ण सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधि आदि सबै मानव कर्म नै हुन् । मान्छेले आफ्नै दुःखदायी अव्यवस्थाप्रति यदि ताली पड्काए र खुशीयाली मनाए भने बुझे हुन्छ त्यो समाज सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक रूपमा नियतिवादको चङ्गुलमा फँसेको छ र भाग्यवाद झांगिइसकेको छ ।

कम्युनिस्ट घोषणापत्रका सहलेखक फ्रेडरिक एङ्गेल्सले इतिहास प्रायः गतिमय छालहरूसँग हुत्तिदै बाङ्गो–टिङ्गो र घुमाउरो बाटो हिँड्ने गर्छ भनेका छन् । आधुनिक नेपालको राजनीतिक इतिहास दमन–प्रतिरोध, मौनता र विस्फोटका अनगिन्ती श्रृंखलाका घुम्तीहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । आफ्नो जात, सामाजिक कुप्रथा, अन्धविश्वास, कुरीति, कुसंस्कारका कारण विभिन्न खाले अवसरबाट वञ्चित वर्ग, समुदाय आज पनि भाग्य र नियतिलाई धिक्कार्दै नारकीय जीवनमा बाँचिरहेको छ । यो अवस्थाबाट मुक्तिका लागि समाजको अछुत, सीमान्तकृत वर्ग र महिलाहरूले मौनता र दासताको चौघेरा भत्काउँदै नियतिवादका जञ्जिर तोड्न आवश्यक छ । नियतिवाद, मौनता र दासता माथि जोडदार धक्का नदिई समाज रूपान्तरण सम्भव हुन्न । आर्थिक–राजनीतिक–सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि नियतिवादको बन्धन चुँडाल्न आवश्यक हुन्छ ।

युगसापेक्ष वस्तुवादी बन्ने कुरालाई इन्कार गर्ने जडसूत्रवादी चिन्तन सङ्कीर्णतावादी चिन्तन हो । जीवनशील पाटोलाई देख्न नसक्नु र सिद्धान्तको शुद्धताको रटान लगाउनु यसको विशेषता हो । जडसूत्रवादीलाई अतीतको भूतले सदैव तर्साउँछ, नवीन चिन्तन र सिर्जनशीलता सह्य हुँदैन । विज्ञान, तकनिकी र वैचारिक क्षेत्रमा आएका नयाँ कुरालाई ग्रहण गर्न हिच्किचाउने जडसूत्रवादीहरू अन्धता, जडता र यान्त्रिकतामा जकडिएका हुन्छन् । नेपाली राजनीतिको यो घातक रोग हो । तमाम मक्केका र सडेका सोच र चिन्तनलाई नष्ट नगर्ने हो भने जडताले हामीलाई छोड्दैन । जसरी कुवाको भ्यागुताले कुवाबाहिर अर्को संसार देख्न सक्दैन र कुवालाई नै विश्वब्रम्हाण्ड मान्दछ, त्यसरी नै जडसूत्रवादीहरू पुस्तकमा लेखिएका र परम्परादेखि चलिआएका कुरा बाहेक अरु देख्न सक्दैनन् । हामी युवासुलभ ताजगी, सिर्जनशीलता र जीवनशक्तिले भरपुर भएर मात्र बदल्न सक्छौं समाज ।

नश्लवाद भनेको जातिलाई प्रधान मान्ने विचारधारा हो । जातिवादले आफू बाहेक अन्य जातिलाई कम महत्त्व दिन्छ । पूर्वाग्रही ग्रन्थीका पुरातनपन्थी सोचले परिवर्तन सम्भव छैन । राज्यका विभिन्न अङ्ग र तहहरूमा क्षेत्र, लिङ्ग, भाषा, जाति, जनजाति आदिका आधारमा समानुपातिक समावेशीकरण गर्न समाज र राज्यको अर्थ–राजनीतिक चरित्रलाई पनि बुझ्न आवश्यक छ । अर्थ–राजनीतिबाट अलग राखिएर बनाइएको हरेक मान्यता वर्गीय समाजमा भ्रम या गलत चेतना हो । जातिगत समस्याको विश्लेषण र तिनका समाधानका प्रस्तावहरू समाज र राज्यको वर्गीय, अर्थ(राजनीतिक चरित्रलाई बेवास्ता गरी बनाइएमा दीर्घकालीन हुनसक्दैनन् ।

समाजको आर्थिक आधारबाट अलग राखेर राज्य र राज्यको चरित्रलाई बुझ्नु र राज्य पुनःसंरचनाका बारेमा छलफल गर्नु निरर्थक र समयको बर्बादी मात्र हो । नेपाली समाज र राज्यको प्रधान चरित्रलाई बेवास्ता गरेर क्षेत्र, लिङ्ग, भाषा, जात, जाति आदिको अनुपातलाई प्रधानता दिएर गरिएको पुनःसंरचना गणितीय प्रजातन्त्र हुनेछ, जसले समाज र राज्यको मूल चरित्रलाई आमूल रूपमा परिवर्तन गर्ने छैन । त्यसले उदारवादी संयन्त्रभित्र पात्रहरूको परिवर्तन मात्र गर्नेछ, तर त्यसको सारलाई बदल्ने छैन । उच्चजातीय अहंकारले अल्पसंख्यकलाई दमन गर्ने र अल्पसंख्यक जातिले पनि सङ्कीर्णता र हीनताबोधले ग्रसित अहंकार देखाउने हो भने मुलुक कसरी प्रगतिको बाटोमा लाग्न सक्छ ?

धार्मिक अतिवाद अर्को महारोग हो नेपालको । ‘सर्वधर्म समभाव’ अर्थात् सबै धर्मप्रति समान भावना राख्ने हाम्रो परम्परा हो । हाम्रो मुलुकमा विभिन्न धर्मावलम्बीबीच सद्भावपूर्ण सम्बन्ध छ । मुलुक लोकतन्त्रमा प्रवेश गरेसँगै ‘हिन्दु राष्ट्र’लाई ‘धर्म निरपेक्ष’ बनाउँदा समेत हामीकहाँ ठूलो बाधाविरोध रहेन । मुलुकमा हिन्दु धर्मावलम्बीको ठूलो उपस्थिति रहँदा पनि त्यस निर्णयप्रति आपत्ति नजनाउनुले महान सहिष्णु परम्परालाई श्रेय जान्छ । तर, पछिल्ला वर्षहरूमा मुलुकको ‘धर्म निरपेक्ष’ नीतिलाई उपयोग गर्दै धर्म परिवर्तन जारी छ । राज्यले कुनै एक धर्मविशेषलाई प्रोत्साहन नगरी समान व्यवहार गर्ने नीति लिएको स्थितिलाई दुरुपयोग गर्नु गलत हो । बहुसांस्कृतिक र बहुधार्मिक वातावरणतर्फ मुलुक अघि बढिरहेको भए पनि यसमा अतिवाद भित्र्याउने प्रयास गलत छन् । भारतमा समेत धार्मिक अतिवादले सिर्जना गरेका हिंसाका खबरप्रति हाम्रो समाज जानकार छ । अन्य मुलुकबाट हामीले विकास निर्माणका पक्षमा प्रेरणा लिए पनि धार्मिक सद्भावका निम्ति आजसम्मका परम्परालाई निरन्तरता दिन सकेमात्र पुग्छ । अर्कोतिर, नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्नु अतिवाद नै हो । नेपाल विश्वभरि छरिएर रहेका हिन्दूहरुको एक मात्र हिन्दु राज्य नेपाल बन्न सके धार्मिक पर्यटन प्रबद्र्धन हुनसक्छ भन्ने हिन्दु राज्य घोषणा माग गर्नेको तर्क छ । सनातन संस्कृतिको मूल थलो रहेको नेपाल हिन्दू संस्कृति र सभ्यताको अध्ययन गर्न चाहनेका लागि एउटा महत्त्वपूर्ण स्थल हुनसक्छ भन्ने हिन्दु राज्य हुनुपर्नेको तर्क छ ।

अर्को राष्ट्रभन्दा आफ्नै राष्ट्र उच्च ठान्ने र अन्य राष्ट्रको हितलाई पेलेर पनि आफ्नो राष्ट्रको उन्नति चाहने राजनीतिक भावना तथा विचार अन्धराष्ट्रवाद हो । यसले कुनै एक राज्य वा व्यक्तिको स्वार्थलाई महत्व दिन्छ । आफ्नो देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, स्वाधीनता, स्वाभिमान र समृद्धिको भावना राख्दै सोही अनुसार काम कुरा गर्नु नै सच्चा देशभक्ति हो । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा विभिन्न जाति समुदायबीच पारस्परिक मेल, सद्भाव र सम्मानको पक्षमा उभिनु पनि देशभक्ति हो । तर, हरेक कुरामा भारत वा अमेरिकाको विरोध गर्नुको अर्थ छैन । अति राष्ट्रवादी भावना कुनै पनि मुलुकका लागि हानीकारक मात्र नभई प्रत्युत्पादक पनि हुन जान्छ । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको पाइन्छ । ‘अतिराष्ट्रवाद’ भन्नु ‘अन्धराष्ट्रवाद’ हो । अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामथ्र्य र पहिचानलाई कमजोर बनाउँछ । त्यस्ता चिन्तनहरूले एकातिर मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् भने अर्कातिर राष्ट्रिय एकताको भावनालाई कमजोर तुल्याई राष्ट्रियता माथि नकारात्मक असर पारिरहेका हुन्छन् । तसर्थ अन्धराष्ट्रवाद त्याज्य छ ।

सस्तो लोकप्रियताका लागि सबैको विचार र सोचलाई मिसाएर दृष्टिकोण निर्माण गर्नु सारसङ्ग्रहवाद वा खिचडीवाद हो, जसको दार्शनिक आधार भनेको मनचिन्ते झोली जस्तो अवसरवाद हो । सबैका लागि केही न केही हुने खिचडीवादी सोचको विशेषता हो । मुखले क्रान्तिकारी तर व्यवहारमा यथास्थितिवादी र सारसंग्रहवादी सोचले मुलुक बन्दैन । सारसंग्रहवादमा आधारित राज्यप्रणाली, पार्टी, अर्थतन्त्र, संस्कृति आदि सबै गम्भीर संकटमा छन् । उत्पादक शक्तिको विकासमा संसारकै सबभन्दा पिँधमा रहेको नेपालका आफ्नै थप विशिष्टता र जटिलता छन् । यो स्थितिमा समय र परिस्थिति अनुकूल विचार र विज्ञानको विकास नगरी र त्यही अनुरूप कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त, पद्धति, शैली र आचरणको विकास नगरी उही पुरानै शब्दजाल र मन्त्रोच्चारणमा बाँधिएर परिवर्तन सम्भव छैन । विचार र सङ्गठन पुरानो तर विधि नयाँले केही हुन्न र त्यो कार्यान्वयन पनि हुन्न । त्यसैले सारसंग्रहवादी सोच जर्जर भइसकेको घरलाई केही समय काठको टेको लगाएर थाम्ने प्रयास मात्रै हो ।

राज्यसंरचनाहरूमा पारदर्शिता, जवाफदेहिता र राजनीतिमा स्वच्छताको नारा बोकेर पटक–पटक नयाँ शक्तिको उदय हुने गरेको नेपाली इतिहास छ । पुराना दल, संगठन र राज्यप्रति भएका जनताको निराशा, अल्मलाहट र आक्रोशलाई पुँजीकृत गरी आमसञ्चारको सहयोग र नवउदारवादको हौसलाका कारण प्रियतावादी वा लोकप्रियतावादी सोच अघि बढिरहेको छ । पुराना दलभित्र आदर्श, आचरण, सिद्धान्त, व्यवहार र सादा जीवनशैली नअपनाउने रोग शुरू हुँदा नयाँ शक्ति स्पष्ट एजेन्डा नहुँदाहुँदै पनि जनताको नजरमा प्रिय बनेका छन् । ती शक्तिले वैचारिक आकार ग्रहण गर्न बाँकी नै छ । पुराना दलभित्रका अहंकार एवम् पार्टीभित्र उच्च वर्गको वर्चश्वले दलहरूको क्षयीकरण शुरू भएको हो । जनताले हतारहतारमा नयाँ पार्टीहरूलाई तिनका नेताहरूको वाकपटुता हेरेर छाने, तर नयाँ पार्टीका नीति तथा दृष्टिकोण ठोस आकारमा जनसमक्ष आउन बाँकी छ । नेता–कार्यकर्ता र समर्थकहरूको आवेग तथा उत्तेजनाले मात्र मुलुक बन्दैन, त्यसका लागि दार्शनिक आधार, नीति, कार्यक्रम र कार्ययोजना आवश्यक पर्छन् । स्वयम् ती दलले नै आफ्ना नीति तथा कार्यक्रमको समीक्षा गर्न आवश्यक छ ।

निष्कर्षमा भन्दा, नेपाल अझै पनि सामन्तवादी जुवामुनि छ र क्रमशः दलाल नोकरशाही पुँजीवादको पञ्जामा जकेडिँदैछ । जब हामी महारोगबाट मुक्त हुँदैनौं, तबसम्म युवा प्रतिभा पलायन रोकिने छैन । जबसम्म मुलुकको विकास र समृद्धिको खाका कोर्ने नेतृत्त्व विकास हुँदैन र मतदाताको गरिबी, अभाव, बेथिति, अन्याय र निराशाले भरिएका दिमागमा झुठा आश्वासन र नकारात्मकताको बीऊ रोपेर हामी प्रिय हुन कोशिस गरिरहन्छौं–भ्रष्टाचार विरोधीका नाममा, धर्मका नाममा, पहिचानका नाममा, जातिका नाममा, राष्ट्रवादका नाममा जनतालाई भोटबैंक र भेडाबाख्रा सम्झिरहन्छौं, तबसम्म साँचो रूपान्तरण सम्भव छैन । कर्मवादी, जीवनवादी एवम् आशावादी चिन्तनले मात्र तमाम रोगबाट मुलुकलाई मुक्त गर्न सक्छ र हामी संसारका विकसित देशको हाराहारी उन्नति गर्न सक्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here