थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

0
112

झापा, नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापालाई सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । गठबन्धनभित्र ठूलो संख्या कांग्रेसको रहेकोले कांग्रेसलाई मुख्यमन्त्री दिने निर्णय भएको हो । सबैभन्दा ठूलो दल काँग्रेस रहेकोले उसको नेतृत्वमा सरकार गठन गर्न प्रदेशलाई सुझाब दिने निर्णय भएको बताइएको छ । सरकार गठनको लागि बहुमत जुटाउने जिम्मा समेत काँग्रेसलाई दिएको बताइएको छ ।
गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सिट चाहिन्छ ।
तर, नेपाली कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग ४७ सीट रहेपनि एमालेले सभामुखको गणना गर्न नमिल्ने बताउँदै आएको छ ।
नयाँ सरकारलाई लागि गठबन्धनमा पनि सहजै गणित पुग्ने अवस्था छैन । यहाँ गठबन्धनलाई सरकार गठनको लागि राप्रपाको साथ चाहिन्छ । तर राप्रपाले मध्यावधी निर्वाचनमा जान नहुने भन्दै आएको छ । सरकार गठनमा राप्रपाले लचकता अपनाएसंगै नेपाली कांग्रेस नेतृत्वको सरकार गठन हुने सम्भावना बढेर गएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि असार २१ गते बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असार २१ गते बिहीबार साँझ ५ बजेसम्म प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्र्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विसं २०८० असार १४ गते प्रदेशसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम असार १५ गते पारित हुन नसकी पदमुक्त हुनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख खापुङले नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को (२) बमोजिम वा उपधारा (३) बमोजिममध्ये कुन उपधाराका आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी महान्यायाधिवक्तासँग लिएको कानूनी रायसमेतका आधारमा उक्त आह्वान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here