वर्षेनि मृत्युदर बढ्दै, दुर्घटना न्यूनीकरण सबैको दायित्व

0
62

नरेन्द्र ढकाल,
बिर्तामोड । 

सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापासहित कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ । ‘सातै दिन सातै काम, सडक सुरक्षा हाम्रो अभियान’ भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको हो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ सप्ताह शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण जोशी ज्ञवालीले जानकारी दिए । ट्राफिक नियमको पालना गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने नाराका साथ शुरु भएको ट्राफिक सप्ताहको सोमबार बिर्तामोडमा ¥यालीसहित उद्घाटन गरिएको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यमा भएको ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन समारोहमा एक बालिकालाई ट्राफिक जनचेतना लेखिएको हेल्मेट लगाउँदै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन तीव्रगति नियन्त्रण तथा पार्किङ निषेध, तेस्रो दिन मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालना, चौथो दिन सिटी तथा ई–रिक्सा र स्कूल बसका चालकलाई प्रशिक्षण, पाँचौं दिन मापसे तथा लापसे चेकिङ, छैटौं दिन चालकको स्वास्थ्य र सवारीको यान्त्रिक जाँच, सातौं दिन अन्तरक्रिया र समीक्षा गर्दै अभियानको समापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक प्रहरी निरीक्षक याम खड्काले जानकारी दिए । उनका अनुसार सातै दिन सातवटै कार्यक्रम फरक–फरक स्थानमा आयोजना हुनेछ ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतनासहित कारवाही अभियानलाई तीव्ररुपमा अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञवालीले बताए । सडकको दुरावस्था, चालकको लापरवाही तथा सवारीसाधनको जथाभावी प्रयोगका कारण दुर्घटनाको जोखिम बढेकाले त्यसलाई रोक्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम शुरु गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी पोखरेलले सवारी दुर्घटना न्यूनीकरण नै अभियानको मुख्य उद्देश्य रहेको बताए । उनले सवारी चलाउने व्यक्ति, सडकका सरोकारवाला निकाय र पैदलयात्रीले मात्रै ख्याल गर्दा दुर्घटना न्यूनीकरण हुने उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनाको पहल सबैले गर्नुपर्नेबताए ।

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय सदस्य टंक दवाडीले सवारी दुर्घटना न्यूनीकरण सबैको साझा दायित्व भएको बताए । उनले यातायात व्यवसायी र ट्राफिक प्रहरीको मात्रै दायित्व सम्झिएका कारण दुर्घटना न्यूनीकरण हुन नसकेको उल्लेख गरे । उनले सवारी दुर्घटनापश्चात शव तेस्र्याएर गरिने बार्गेनिङ विकृतिको रुपमा बढिरहेकाले दुर्घटनाको कारकतत्व पहिचान गर्नुपर्ने बताए ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय झापाका प्रमुख पदम कट्टेल, अरिदमन गण चारआलीका गण प्रमुख इमेस मेहर श्रेष्ठ, सशस्त्र प्रहरी बल २ नं. गण भद्रपुरका प्रमुख देवराज अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक तुलसी प्रसाईं, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुरज कार्की, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुख उदयराज न्यौपाने, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी लगायत विभिन्न संघ–संस्था, यातायात व्यवसायी, मजदुर, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ज्ञवालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक जीवन कार्कीले गरेका थिए ।

झापामा ११ महिनामा १०५ जनाले ज्यान गुमाए

पछिल्लो समय झापासहित देशभर सडक दुर्घटनाको जोखिम बढ्दै गरेको पाइएको छ ।

कोशी प्रदेशमा सात दिने ट्राफिक सप्ताह शुरु भएसँगै दुर्घटनाको कारण खोज्न थालिएको छ । यसैक्रममा आर्थिक वर्ष २०७७/०७८ मा छ सय ५७ वटा सवारी दुर्घटना हुँदा ९३ जनाको मृत्यु भएको छ भने तीन सय २४ जना गम्भीर घाइते हुनुका साथै सात सय ४१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा छ सय ११ वटा सवारी दुर्घटनामा पर्दा एक सय १६ जनाले ज्यान गुमाए । जसमा दुई सय ५४ जना गम्भीर घाइते भए भने सात सय दुई जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्तसम्ममा झापामा सात सय ६१ वटा सवारी दुर्घटनामा पर्दा एक सय पाँच जनाले ज्यान गुमाए । दुर्घटनामा एक सय ६५ जना गम्भीर घाइते भए भने एक हजार ४३ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

सडकको दुरावस्था, सवारी चाप बढ्नु तथा ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि हुँदा दुर्घटनाको संख्यामा वृद्धि भएको ट्राफिक प्रहरी सहायक निरीक्षक चन्द्र राउतले बताए । उनले भने– ‘ट्राफिक प्रहरीले विभिन्न समयमा सचेतनामूलक अभियान चलाए पनि लापरवाहीकै कारण अधिकांश दुर्घटना हुने गरेका छन् ।’

गत आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्मको अवधिमा झापामा एक हजार आठ सय ९९ वटा सवारी मापसे कारवाहीमा परेका छन् भने अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार दुई सय ३८ सवारी कारवाहीमा परेका थिए । पछिल्लो समय ट्राफिक प्रहरीको चेकजाँच बढेसँगै मापसे गर्नेको संख्यामा कमी आएको तथ्यांकमा उल्लेख गरिएको छ ।

ट्राफिक प्रहरीले झापाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमलाई पनि तीव्रता दिएको जनाइएको छ । गत आर्थिक वर्ष ०७९/०८० को जेठ मसान्तसम्म झापामा पाँच हजार ७१ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए ।

विद्यालय तथा विभिन्न सार्वजनिक स्थान र सडकमा नै ट्राफिक नियम सम्बन्धी सचेतनाका कक्षाहरु सञ्चालन गरिएका थिए । ट्राफिक प्रहरीले कडाइ गरेसँगै दुर्घटनाको संख्यामा कमी आउनुका साथै मृत्युदर पनि घटेको बताइएको छ । ट्राफिक नियम उल्लंघन गर्नेमा दुई पाङ्ग्रे सवारी धेरै रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here