मंगलबारे–पुङफुङ–एकतप्पा सडक कालोपत्रेमा लापरवाही, अनुगमन टोलीमाथि धम्की

0
48

भगीरथ भण्डारी,
इलाम ।

 

इलामको देउमाई नगरपालिकाबाट पुङ फुङ हुँदै एकतप्पा पुग्ने सडक कालोपत्रेमा ठेकेदारको लापरबाही रहेको पाइएको छ । कालोपत्रेको क्रममा रहेको सडकको सब बेस नै नराखी कालोपत्रे गर्ने थालेको हो । बेस सुक्खा भएपछि मात्र कालोपत्रे गर्नुपर्ने ठाउँमा हाल चिसो मानै काम गरिरहेकाले छ । कालोपत्रेको काम यति बेला कहीँ पनि नभइरहेको अवस्थामा यहाँ भने पानी आउँदा समेत काम गरेको पाइएको हो ।

देउमाई खोलापारि कमेरेमा कालोपत्रेको लागि तयार गरेको ठाउँमा हातले कोट्याउँदा माटो निस्किएपछि गुणस्तरहीन काम भएको देखिएको छ । फाकफोकथुम गाउँपालिका सातका पञ्च योङहाङले कालो पत्रे गर्न तयार गरेको कमेरे क्षेत्रमा लापरबाही गरेको देखिएको बताए । उनले उक्त सडक कालोपत्रेमा पहिले गरेको काम हेर्दा राम्रै गरेको देखिए पनि पछिल्लो काममा लापरवाहीनै देखिएको बताए । जिल्ला समन्वय समितिकी उपप्रमुखले चित्रकला बराइलीले बाटो सारै गुणस्तरहीन रहेको बताइन् । कालोपत्रे गर्न तयारी गरेको बाटो सिन्काले कोट्याउँदा सबै उक्किने छ त्यसमा कसरी कालोपत्रे अडिन्छ भन्दै त्यो काम चित्तबुझ्दो नभएको बताइन् । काम चित्तबुझ्दो नभएको पाएपछि तत्काल काम रोक्नुभन्दा काम नरोक्ने भन्दै धम्कीपूर्ण शैलीमा उत्रने गरेको बताइन् ।

फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले सडकको बेस राम्रो नगरेको भन्दै ल्यावटेस्ट नभएसम्म काम नगर्नु भनेको बताए । त्यसो भन्दै गर्दा हामी काम रोक्दैनौ भन्ने जवाफ आएको र उक्त सडक हेर्ने आइसीआरपीको कार्यालयको व्यक्तिसँग सम्पर्क गर्नेभन्दा हामीभन्दा ठूलो कोही छैन हामी नै हो भन्ने जस्ता धम्की दिएको बताए । पानी आएको बेला कालोपत्रे हुँदैनभन्दा असारमा सक्नै पर्ने छ, हामी काम रोक्दैनौ भनिरहेका छन्– उनले भने– यो काम तत्काल रोक्न जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्ने तयारीमा रहेको बताए ।

सडक निर्माणको क्रममा सब बेस नराखेको र कालोपत्रे गर्न तयार गरेको ठाउँमा माटो नै प्रयोग गरेको पाएपछि यो काम राम्रो भएन भन्दा फाकफोकथुम गाउँपालिका उपाध्यक्षलाई यो सडक स्थानीय तहले हेर्ने होइन भन्दै ठेकेदारको जवाफ आएको बताइन् । ठेकेदारले स्थानीय तहको अधिकार होइन भनेपछि जिल्ला समन्वय समिति सँगको समन्वयमा अनुगमनमा उक्त सडकको काम गुणस्तरहीन भएको पाइएको छ । उपाध्यक्ष राईले हामीले निर्माणको काम गुणस्तरीय हुनुपर्छ भन्दै गर्दा पनि पत्र लिएर आउनु न त्र यो काम नरोकिने जवाफ आएको बताइन् ।

यता निर्माण कम्पनीका सन्तोष कटुवालले हामीले कामको तलमाथि गर्नु छैन, टालटुल गर्नु छैन र अहिले तत्काल सम्पन्न गरेर हामी फुत्किन खोजेको होइन भन्ने बताए । उनले कालोपत्रे सकेर पनि तिन वर्षसम्म मर्मत गर्नुपर्ने र अनि मात्र हस्तान्तरण गर्नुपर्ने हुँदा ढाँटछल गर्ने गरी काम नगरेको बताए ।

उनले यो सडक १० वर्षसम्म केही नहुने भन्दै प्राइम हालेको १५ दिनसम्मभित्र पानी नपस्ने हुँदा कालोपत्रे गर्न मिल्ने बताए । अनुगमन टोलीले अनुगमन गर्दे गर्दा हामीलाई पनि जानकारी दिएको भए कहाँ समस्या देख्नुभएको हो त्यहाँ हाम्रा कुरा पनि राख्न पाइन्थ्यो भन्दै हामीले काम गर्ने क्रममा तलमाथि नगरेको बताए ।

एशियाली विकास बैकको सहयोगमा ग्रामीण सडक सञ्जाल आयोजनाका लागि भ्याट बाहेक ५२ करोड ९५ लाखमा निर्माण शुरु भएको हो । जसमा माङ्सेबुङ गाउँपालिकामा १३ किलोमिटर र मङ्गलवारे, पुङफुङ हुँदै फाकफोकथुमको कमेरेसम्मको साढे नौ किलोमिटरको सडक कालोपत्रे गर्ने जिम्मा पाएका थिए । अब २५ सय मिटर काम मात्र बाँकी रहेको कटुवालको भनाइ छ । उक्त सडकका कन्ट्रयाक मेनेजर योगेन्द्र कार्कीका अनुसार त्यहाँ कोरियन कन्सल्टेण्ट पनिसँगै हुने हुँदा सबै काम ओके नभएसम्म अघि बढाउन नपाउने हुँदा काममा लापरवाही नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here