बलेवा, 
उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् ।
स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ । चालु आर्थिक वर्षका क्रियाकलापको जानकारी तथा कार्यालयको प्रगतिबारे जानकारी गराउँदै कार्यलय प्रमुख प्रवीण शर्माले स्वास्थ्यका विभिन्न पाटोमा काम चाहिने तथ्याङ्क जिल्लामा नरहेको बताउनुभयो ।
“टाइफाइडको खोप दश हजार बालबालिकालाई लगाउनु भनेर निर्देशन आउँछ, तर यहाँ उनीहरुको सङ्ख्या दश हजार नै हुँदैन, शतप्रतिशत बालबालिकाले खोप पाउँदासमेत लक्ष्य अनुसारको प्रगति देखिँदैन, सोहीअनुसार कार्यालयको कार्यसम्पादन मूल्याङ्कन हुन्छ”, शर्माले भन्नुभयो “यो समस्या तथ्याङ्क नभएका कारण आएको हो ।”
अभियानको लक्षित वर्गको विषयमा जानकारी, सम्बन्धित क्षेत्रको तथ्याङ्क हुने हो भने मात्रै कार्यक्रम कार्यान्वयनमा सहज हुने उहाँको धारणा थियो । कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाको बरेङ र तमानखोला गाउँपालिकाको तथ्याङ्क तयार गरेको छ । जिल्लाका बाँकी स्थानीय तहको पनि स्वास्थ्य तथ्याङ्क तयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।
शुक्रबार कार्यालयले आयोजना गरेको जोखिम सञ्चार अभिमुखीकरण तथा चालु आर्थिक वर्षका कार्यक्रमबारे जानकारी दिन आयोजित अन्तक्र्रियामा जिल्ला समन्वय प्रमुख अमर थापाले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । थापाले कार्यालयले गर्ने प्रगति सङ्ख्यात्मकभन्दा गुणात्मक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गलत सूचनाको जोखिम स्वास्थ्य क्षेत्रमा धेरै हुने बताउनुभयो । सानो सूचना मात्रै गलत हुँदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ठूलो प्रभाव पर्ने उहाँको धारणा थियो । कार्यलयले चालु आवमा ९४ दशमलव १९ प्रतिशत भौतिक प्रगति गरेको छ । ८४ दशमलव ४४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।






























