मोहनमाया मावि एसईईमा जिल्लाकै उत्कृष्ट

0
66

झापा ।

झापाको बिर्तामोड– २ रामचौकस्थित मोहनमाया माध्यमिक विद्यालय एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट भएको छ । मोहनमायाले यसवर्ष संस्थागत विद्यालयहरुलाई समेत पछाडि पारेको छ । एसइइमा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर मोहनमाया माविले उत्कृष्ट स्थान हासिल गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए ।

मोहनमायाका ११५ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै जना उत्तीर्ण भएका छन् ।

जसमध्ये ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै २६ जनाले उत्तीर्ण गरेका छन् । त्यस्तै ३.२० देखि ३.६० जीपीएमा २४ जना , २.८० देखि ३.२० जीपीएमा ३६ जना ,२.४० देखि २.८० जीपीएमा १४ जना , २.०० देखि २.४० जीपीएमा ११ जना र १.६० देखि २.०० जीपीएमा ४ जना विद्यार्थीले उत्तीर्ण गरेको बताइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार जिल्लाका सामुदायिक र संस्थागत विद्यालयको एसईई नतिजा हेर्दा मोहनमाया माविले सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएकोे हो । झापामा संस्थागततर्फ २३९ र सामुदायिकतर्फ १२७ गरी जम्मा ३६६ वटा माध्यमिक विद्यालय छन् । झापामा ७१९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।

नेपाली र अंग्रेजी माध्यममा पठनपाठन भइरहेको उक्त विद्यालय बिर्तामोडमा मात्र नभएर जिल्लामै नमूना विद्यालयको रुपमा रहेको छ । त्यहाँ नयाँ विद्यार्थीहरुले भर्ना पाउनै गाह्रो छ । प्रवेश परीक्षा उत्तीर्ण गरेर मात्र विद्यार्थीहरुले पढ्न पाउँछन् । प्रधानाध्यापक श्रेष्ठले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएकोमा सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here