शारीरिक अस्वस्थ्य भएका व्यक्तिलाई सहयोग

0
51

कञ्चनपुर,

शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर कृष्णपुर नगरपालिकाका प्रमुख हेमरा ओझा ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थाल्नुभएको छ ।

चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध गराउने कार्यसँगै आवश्यकताका आधारमा ह्वीलचियर र दिसापिसाब गर्न प्रयोग हुने प्लाष्टिकको कुर्सी निःशुल्क उपलव्ध गराउन थालेका हुन् ।

“शारीरिक अस्वस्थता भएका व्यक्तिको पहिचान गरी घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यको थालनी गरेका छौँ” नगरप्रमुख ओझाले भन्नुभयो, “चिकित्सकीय सेवासँगै आवश्यक सहायक सामग्री दिने कार्य भइरहेको छ ।” अहिलेसम्म नगरपालिकाका वडा नं १, २, ८, ९ का आधा दर्जन बढी व्यक्तिलाई सहायक सामग्री उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

नगरपालिकाका नौवटै वडाका ३२ शारीरिक अस्वस्थता भएका व्यक्तिलाई सहायक सामग्री र चिकित्सकीय सेवा घरदैलोमै पुगेर उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । “ह्वीलचियर दातृ निकायको सहयोगमा निःशुल्क वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “दिसापिसाब गर्नका लागि प्रयुक्त हुने कुर्सी नगरपालिकाको आन्तरिक बजेटबाट खरिद गरी वितरण भइरहेको छ, ह्वीलचियर र कुर्सी आवश्यकता भएका पहिचानमा आएका अन्यलाई पनि वितरण गर्छौँ ।”

नगरपालिकाको महिला तथा बालबालिका शाखामा ह्वीलचियर र कुर्सी उपलब्ध गराउनका लागि निवेदन सङ्कलन गर्ने कार्य भइरहेको छ । हालसम्म सहायक सामग्रीका लागि २९ जनाले निवेदन दिएका छन् । शाखामा निवेदन दिने कार्य जारी रहेको छ ।

शारीरिक अस्वस्थताका कारण उपचार पाउन नसकेका व्यक्तिलाई घरमै पुगेर सहायक सामग्रीसहित चिकित्सकीय सेवा उपलब्ध गराउने पहिलो नगरपालिका कृष्णपुर बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here