प्रतिबन्धित ब्रोइलर कुखुरा भारतबाट भित्रिँदै कुखुरा व्यवसायी संघ चिन्तित

0
49

बिनोद सापकोटा,
झापा ।

भारतबाट प्रतिबन्धित पन्छीजन्य बस्तु ब्रोइलर कुखुरा नेपाल भित्रिन थालेपछि कोशी प्रदेशका व्यवसायीहरु चिन्तित भएका छन् ।

भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरीका दक्षिणी नाकाबाट कुखुराको तस्करी बढेको भन्दै स्थानीय प्रशासनसँग व्यवसायीले त्यस्तो प्रतिबन्धित कुखुराजन्य बस्तुको अवैध आयात तत्काल रोक्न माग गरेका छन् ।

झापाका नकलबन्दा, काँकरभिट्टा, भद्रपुर, कचनकवल, झापा बजार, कुञ्जीबारी, गौरिगञ्ज लगायतका नाकाबाट दिनहुँ भारतीय ब्रोइलर कुखुराको आयात हुने गरेको व्यवसायीले आरोप लगाएका छन् । यस्तै मोरङको जदाहा, धनपालथान, सुनवर्षी, रतुवामाई, रङ्गेली, आमबाडी, विराटनगर लगायतका नाकाबाट पनि दिनदहाडै जिउँदो ब्रोइलर कुखुरा, त्यसको तयारी मासु र अण्डाको अवैध आयात हुने गरेको जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले जानकारी दिए ।

यी नाकाबाट दैनिक ५ हजारभन्दा बढी कुखुरा भित्रिएको उनको आरोप छ । नेपाल सरकारले नै बैधता नदिएको पन्छीजन्य बस्तुको गैरकानूनी आयातलाई तत्काल रोक्न व्यवसायीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुईवटै निकायका प्रहरीसँग माग गरेका छन् ।

प्रदेशका व्यवसायीहरूले शुक्रवार नेपाल प्रहरीको कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोला र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराहा वाहिनीका बाहिनीपति सशस्त्र प्रहरीनायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेललाई भेटेर ध्यानाकर्षण–पत्र बुझाएका छन् । व्यवसायीले ध्यानाकर्षण पत्र बुझाउँदै भनेका छन्– ‘भारतीय प्रतिबन्धित ब्रोइलर कुखुराको अवैध आयात नरोके कृषि पेशामा आत्मनिर्भर एकमात्र ‘पोल्ट्री फार्म’ व्यवसाय धराशायी हुनेछ ।’

अवैध रुपमा भित्रिने कुखुराले झापा, मोरङ र सुनसरीका पोल्टी फर्म सञ्चालन गरेका व्यवसायीहरुको व्यापार धरापमा परेको व्यवसायीको गुनासो छ । ‘कुखुराको चल्ला, अण्डा र दाना उत्पादन गर्न व्यवसायीको अर्बौं रुपयाँ लगानी रहेको छ’– मेची पोल्ट्री फार्मका सञ्चालक सुबोध निरौलाले भने– ‘भारतबाट कुखुराजन्य बस्तुको अबैध आयातले नेपाली व्यवसायीको लगानी डुब्ने प्रायः निश्चित छ । हाम्रो लगानी बचाउन र देशलाई ब्रोइलर कुखुराबाट आत्मनिर्भर बनाउन नाकामा निगरानी बढाइदिनु प¥यो ।’

झापामा मात्र कुखुराजन्य बस्तुको उद्योगमा करिब ८ हजारले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यो व्यवसायबाट कम्तीमा २ हजार घरपरिवारको गुजारा चलेको जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष निरौलाले बताए । उनले भने– ‘सीमा नाकामा खटिएका प्रहरीले यति मात्र बुझिदिने हो भने हामी झापामा मात्र ५ हजार घरको गुजारा कुखुरा पालन व्यवसायबाट चलाउन सक्छौं ।’
यसैबीच व्यवसायीले बुझाएको ध्यानाकर्षण–पत्र बुझ्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बाँस्तोलाले व्यावसायीको गुनासोप्रति आफू गम्भीर रहेको बताए । उनले मातहतका सुरक्षा निकायलाई भारतसँग सीमाना जोडिएका नाकामा सक्रियता बढाउन निर्देशन समेत दिए । उनले भने– ‘तपाई व्यवसायीहरु ढुक्क हुनुहोस् । नेपाल प्रहरी भारतीय प्रतिवन्धित कुखुराजन्य बस्तुको अवैध आयात रोक्न निर्मम ढंगले अघि बढ्नेछ, यसमा कुनै शंका नगर्नुहोस् ।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराहा वाहिनीका बाहिनीपति सशस्त्र प्रहरीनायव महानिरीक्षक पोख्रेलले पनि २४ घण्टाभित्रै ठोस् परिणाम आउने गरी सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन हुने बताए । झापा र मोरङका सीमा नाकाबाट सशस्त्र प्रहरीको जनशक्ति अभावको फाइदा उठाउँदै एकाध कुखुरा भित्रिएको हुनसक्ने उनले बताए । अब, तपाईँ व्यवसायी साथीहरुको सुराकको सहयोगले अबैध बस्तु आयातलाई निमिट्यान्न बनाउने विश्वास दिलाउछु ।

कोशी प्रदेशका झापा, मोरङ्ग र सुनसरीमा मात्र २५ वटा दाना उद्योग, ८ वटा ह्याचरी उद्योग र साना ठूला गरेर २ हजार कुखुरा फार्म सञ्चालनमा छन् । मेची पोल्ट्री फार्म झापाका सञ्चालक सुवोध निरौलाका अनुसार प्रदेशका तीन जिल्लामा मात्र हप्तामा २ लाख कुखुराको चल्ला उत्पादन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here