खुशी कहाँ छ

0
158

मान्छेको मन हो, जता लग्यो उतै जान्छ, मन कहिले बहकिन्छ, त कहिले स्थिर रहन्छ । हजारौं इच्छाको बलिदान पनि दिन्छ र अनपेक्षित कुरा पूरा गर्न लाग्दछ । जीवन जिउन जाने सरल छ, नजाने अप्ठ्यारो । मानिसको सोचाइ अनुसार जीवन जिउने तरिका फरक–फरक हुन जान्छ ।

सबैले चाहने खुशी नै हो, तर खुशी प्राप्त गर्ने बाटो पनि अलग–अलग नै हुन्छ । कोही साना कुरामा खुशी भेट्छन् भने कोही खुशी खोज्दाखोज्दै संसारबाटै विदा लिन्छन् । यो समयकै खेल हो, जीवन जिउने कला हो । यस्तै कलामा कोही जित्छन्, कोही हान्छन् । मान्छे सबै खुशी आफ्नै भागमा परोस् भन्ने चाहन्न, यही चाहले मान्छे दिनदिनै स्वार्थी बन्दै पनि छ ।

समय आफ्नै रफ्तारमा दौडिरहेको छ । मानिसहरुको होडबाजी चलिरहेको छ, सबैलाई आफ्नो हतारो गन्तव्य पुग्नुमा छ । यही हतारले कतिको मन छुन्छ, कतिको छुदैन पत्तो हुँदैन । आफ्नो मन खुशी पार्ने होडमा अरुलाई चोट भने पु¥याउनु हुँदैन भन्ने बुझ्न आवश्यक छ । तर, कसलाई फुर्सद यो कुरा बुझ्न अनि सम्झन ! यदि यो कुरा बुझ्ने अनि सम्झने हो भने कसैले दुःखको भँुमरीमा पर्ने दिन आउने थिएन् । म सोच्छु किन मानिस निराश बन्छ, किन मुहारमा खुशीको लाली छर्न सकेको छैन । किन कृत्रिम हाँसो बोकेर फोस्रो खुशी देखाइरहेछ ।

वास्तविक खुशी आफैसँग आफैभित्र रहेको हुन्छ, पहिचान गर्न सक्नुपर्छ । आफूले आफूलाई बुझ्न सक्नुपर्छ अनि मात्र दुःखलाई पराजित गर्न सकिन्छ । कतिपय मानिस व्यस्त समयको बाबजुत पनि थोरै समयलाई सदुपयोग गरी खुशीलाई अँगाल्छन् भने कतिपय अर्को कसरी खुशी भएछ त्यसको खोजी गर्दैमा जीवन सकिदिन्छन् ।

कतिपय त यस्ता पनि मानिस भेटिन्छन् जो अरुले के गर्छमा मात्र ध्यान दिने आफ्नो जीवन आफ्नो तरिकाले बिताउन नजान्ने विल्कुल देखासिक गर्ने । तर, यसरी अर्काको देखासिकीले त झन अन्योलता थप्छ, जीवनमा न त खुशी न त जीवनको आधार खडा गर्न सकिन्छ त्यसैले आफ्नो जीवन आफ्नो तरिकाले जिउन सक्नुपर्छ ।

यर्थाथमा बाँच्न सक्नु नै वास्तविक जीवन हो । आफूभित्रको मलाई चिन्न सक्नु पर्दछ र मात्रै जीवनको सच्चा खुशी भेट्न सकिन्छ । हर कोहीको जीवनमा दुःख र सुख बराबर हुने गर्दछ, सत्कर्मले नै जीवनमा सन्तुष्टि दिन सक्दछ । आफ्नो खुशीका लागि अरुलाई माध्यम नबनाऊ बरु त्यसका लागि आफू लागिपरौं निरन्तर । यो जीवन एकपटक पाइन्छ बारम्बार होइन, पाएको जीवनलाई नगुमाऔं, सके सबैमा प्रेमको भावले हेरौं नसके आफ्नो व्यवहारलाई अनियन्त्रित बनाइ अरुलाई चोट नपुर्याऔं । बस हाँसौं, हँसाऔं रमाएर बाँचौं कामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here