सडक स्तरोन्नतिको जिम्मेवारी लेऊ

0
101

तत्कालीन अनारमनी गाउँ विकास समितिले बिर्तामोड र बिर्ताबजार क्षेत्रको ट्राफिक चाप कम गर्ने उद्देश्यले महेन्द्र राजमार्ग हुँदै सदरमुकाम जाने सडकसँग जोड्ने नयाँ सडकको अवधारणा ल्याएको थियो । गाविस अध्यक्ष तथा त्यस समयका ऊर्जावान व्यक्तित्व हर्कलाल गिरीको त्यही अवधारणा अनुसार खनिएको सडक नै आजभोलि हर्कलाल मार्ग नामले परिचित छ । स्थानीय अवरोधका बावजुद अध्यक्ष गिरीको अगुवाईमा वि.सं. २०५१ सालमा खनिएको सो सडकको लम्वाइ करिब चार किलोमिटर छ । रिङरोडको परिकल्पनाद्वारा खनिएको सो सडक तीस वर्षसम्ममा पनि स्तरोन्नति हुन सकेन, कालोपत्रे त आकाशकै फल भयो ।

अध्यक्ष गिरीकै योजनामा तत्कालीन अनारमनीमा चार वटा सडक निर्माण गरिएका थिए । महेन्द्र राजमार्गस्थित कृषि सामग्री संस्थानको कार्यालयदेखि बिर्तामोड हुँदै गरामनी जाने सडकमा जोड्ने गरी मुख्य सडक थियो । त्यस्तै पञ्चकन्या दक्षिण, बुट्टाबारी दक्षिण र सैनिकमोड दक्षिण नयाँ सडकको रेखाङ्कनसहित पूर्वाधार तयार भयो । त्यसयता भएका राजनीतिक आरोह–अवरोहले सडकको स्तरोन्नति हुन सकेन । र आज पनि त्यसमध्येको हर्कलाल मार्ग झनै जीर्ण र आवागमन अयोग्य हुन पुगेको छ । हाल बलियो स्थानीय सरकार हुँदाहुँदै पनि सो सडक उपेक्षामा परेको भन्दै स्थानीयले सडकमै धान रोपेर आक्रोश व्यक्त गरेका छन् ।

वि.सं. २०७३ सालमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय झापाले आठ करोड रुपैयाँको विस्तृत गुरु योजना (डीपीआर)सहित स्तरोन्नतिसँगै कालोपत्रे गर्ने तयारी गरेको थियो । त्यस्तै ग्रामीण कृषि सडकको मापदण्ड (¥याप–थ्री) अन्तर्गत सडक कालोपत्रे गर्ने योजना पनि स्वीकृत भयो । तर, स्थानीयबासीले सडक स्तरोन्नतिको मागसहित अवरोध गरेपछि शुरु भएको काम पनि रोकियो । स्थानीयबासीले फेरि पनि वर्तमान स्थानीय सरकारका प्रमुखदेखि वडा नं. ४ का अध्यक्षलाई पटक–पटक आग्रह गर्दा पनि सडक मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका हुन् । सडकको स्तरोन्नति नहुनुमा निर्माण व्यवसायीको ढिलासुस्ती, भौतिक पूर्वाधार कार्यालयको बेवास्ता मुख्य रहेको सो सडक बिर्तामोड ट्राफिक व्यवस्थापनको मुख्य आधार हो । सडक चाप घटाउन पनि महत्वपूर्ण हुने हर्कलाल मार्ग बिना पूर्वाग्रह मर्मतसम्भार गरिनुपर्छ । स्तरोन्नतिसँगै कालोपत्रेका लागि दीर्घ प्रतिक्षित सडक निर्माणमा स्थानीय तहले जिम्मेवारी ग्रहण गर्दै स्थानीय आवश्यकता पूरा गर्न अग्रसरता लिनै पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here