युवा लक्षित कार्यक्रम ल्याऊ

0
39

भोजपुरका युवा व्यावसायिकता र उद्यमको बाटोमा लागेको सुखद् समाचार सार्वजनिक भएको छ । खासगरी परम्परागत कृषि कर्म छाडेर आधुनिक तथा व्यावसायिक कृषि कर्ममा लागेका युवाहरु त्यही बाटोबाट मनग्ये आम्दानी गर्दैछन् । विदेशको रोजगारीको समेत अनुभव गरेका उनीहरु घर, परिवार र समाजसँगै बसेर गरेको मेहनत सुखद् समेत रहेको बताउँछन् । युवाको शक्ति परिवर्तनको संवाहक हो, समृद्धिको आधार र मेरुदण्ड पनि हो । युवा स्वयम् प्रवृत्ति, दृष्टिकोण, जोश र जाँगर हो । त्यसैले त्यो शक्तिलाई सही दिशानिर्देश गर्न सकियो, हौसला, प्रोत्साहन र ऊर्जा थप्ने वातावरण दिन सकियो भने सुखी तथा समृद्ध नेपाली र नेपालको आकांक्षा पूरा गर्न समय लाग्दैन । अहिले पनि झण्डै चालीस प्रतिशत युवामध्ये आधा युवा कृषि कर्ममा आबद्ध छन् । त्यसैले ती युवालाई उद्यमी तथा व्यावसायिक बन्ने वातावरण दिनु राज्यको जिम्मेवार हुनुपर्छ ।

टेम्केमैयुङका प्रेम बस्नेत, खड्गबहादुर राउत, गुणराज राउतहरु उद्यमी युवाशक्तिका प्रतिनिधि हुन् । उनीहरुले विदेशको रोजगारीको ज्ञान, सिप र अनुभव संगालेका छन् । त्यहाँ भोगेको दुःखले उनीहरुलाई स्वदेश मै पसिना बगाउने र पौरख गर्ने उत्प्रेरणा प्राप्त भयो । त्यसमाथि राज्यले पनि विदेशबाट फर्किएका युवालाई स्वदेशमै उद्यम गर्ने अवसर र प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक पशुपालनतर्फ र कोही जडीबुटी खेतीतर्फ आकर्षित भए । अहिले आफ्नो कामप्रति सन्तुष्ट उनीहरुको भोगाइ अन्य युवाहरुका लागि समेत प्रेरणा बन्न थालेको छ । तर, त्यही सम्पूर्ण भने होइन किनभने अहिले पनि लाखौं युवा विदेशिने क्रममा छन् र अवसरको खोजीमा भौंतारिएका छन् ।

विकास र समृद्धि नेताहरुको मुखमा झुण्डिएको छ । समृद्धि प्राप्त गर्न आधुनिक सिप, क्षमता, जाँगर भएका परिश्रमी युवा शक्ति आवश्यक हुन्छ । परिवर्तनका संवाहक युवा शक्तिलाई ठीक ढंगले परिचालन गर्न नसक्दा हाम्रा उर्वर भूमि बाँझो हुन थालेका छन् । खाद्यान्नदेखि फलफूल र तरकारीका लागि परनिर्भर हुनुपरेको छ । युवालाई सिर्जनशील, सिपयुक्त उद्यमी र जिम्मेवार नागरिक बनाउन नसक्दाको यो परिणामलाई विकास र समृद्धिको नारा लगाउने दल, तिनका नेता र सत्ता सञ्चालकहरुले आत्मबोध गर्नुपर्छ । तर, सरकार अझंै पनि युवाशक्तिलाई विदेश पढाएर रेमिट्यान्स भित्र्याउने र समृद्धिको यात्रा तय गर्ने सपनामै हराइरहेको छ । रोजगारीको अवसर नपाएर निराशा, कुण्ठा बोकेर बसेका युवालाई आशा, भरोसा र विश्वास दिलाउनुपर्छ । विदेश पलायन हुने तीव्रतालाई अवसर र प्रोत्साहनले कम गर्दै लानुपर्छ । अनि मात्र दीगो विकास, सुखी नेपाली र समृद्ध राष्ट्रको सपना साकार हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here