झापाली सहिद डिल्ली गौतमलाई सम्झँदा

0
85

आज सहिद डिल्ली गौतमको ३०औं स्मृति दिवस । सहिद नूतन–नवीन संसारका लागि आफ्नो सबैभन्दा प्यारो जीवन बलिदान गर्ने वीरहरू हुन् । उनीहरूको मातृभूमि र सम्पूर्ण मानव जातिको हितका लागि गरिएको न्यौछावरले बाँचेकालाई सदैव बाटो देखाउँछ र कृतज्ञहरू सधैँ–सधैँ नै नतमस्तक हुन्छन् सहिदहरू प्रति । सहिद डिल्ली गौतम पनि झापावासीका लागि, विशेषतः सुरुङ्गा–कनकाई नगरबासीका लागि बलिदानको बिम्ब, निष्ठाको प्रतीक र मजदुर आन्दोलनको एक उज्ज्वल नक्षत्रको रूपमा मनमष्तिष्कमा बाँचिरहेका छन् ।

२०५० साल साउन ४ गते उनको शहादत भएको थियो । उनी एक लगनशील, मेहनती, कर्तव्यपरायण र कम्युनिष्ट विचारधाराप्रति गहिरो आस्था राख्ने मजदुर थिए । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय रूपमा हत्या भयो । त्यो हत्याकाण्डको बिरुद्धमा देशव्यापी शोक फैलिएसँगै हत्याको सत्य–तथ्य सार्वजनिक गर्न आन्दोलनको उभार उठ्यो । पार्टीको आयोजनामा झापाको दमकमा मजदुरहरूको जुलुस निस्क्यो । जुलुस अगाडि बढिरहेको बखतमा तत्कालीन प्रहरी निरीक्षक सुरेन्द्र सिंहले चलाएको गोली लागेर गौतमले अमरत्व प्राप्त गरे र सहिदको सूचीमा दर्ज भए । बचाउन सकिन्छ कि भनेर साथीहरूले अस्पताल लगे पनि त्यो प्रयास सफल भएन ।

सहिद आफूलाई आफ्नो मातृभूमि, आफ्नो वर्ग र स्वजनप्रति समर्पित रहँदै जीवन बलिदान गर्ने महान व्यक्तित्वहरू हुन् । उनीहरू आउने पुस्ताका लागि सदैव प्रेरणाका स्रोत रहन्छन् । कसै न कसैले अन्याय, अत्याचार, विभेद र असमानताका बिरुद्धमा बोल्ने, सामाजिक विसङ्गति र विकृतिका बिरुद्ध जेहाद छेड्ने काम नगरे समाज सधैँ यथास्थितिमा रहन्छ । अँध्यारामा कसैले चिराग नबाले समाज सदैव अँध्यारामै रहन्छ । सङ्घर्षको मैदानमा अघि बढ्दै जाँदा शासकहरूले केही योद्धालाई गोलीले उडाउँछन्, केहीलाई हतियारले ढाल्छन्, त केहीलाई जिउँदै जमिनमा विसर्जन गर्छन् । शासकहरूमा यो क्रुरता सार्वकालिक रहेको छ । भौतिकरूपमा ढले पनि सहिदहरू जुगजुगसम्म जनताको हृदयमा बाँचिरहन्छन् । कठिन दिनहरूमा पनि सहिदहरूको मातृभूमिप्रतिको प्रेम, वर्गस्वार्थप्रतिको निष्ठा र जनताको उज्ज्वल भविष्यप्रतिको समर्पण भावले पथप्रदर्शनको काम गरिरहन्छन् । त्यसैले त समाज पश्चगमनका बद्ला अग्रगमनतर्फ लम्किरहन्छ ।

अन्याय, अत्याचार र विभेदका बिरुद्ध लड्ने क्रममा सहिद हुने सपूतमध्ये एक हुन् डिल्ली गौतम । सहिदलाई सम्झनु, उनीहरूले देखाएको आदर्शमा हिँड्नु र समाजलाई सकारात्मक दिशामा परिवर्तन गर्नु सहिदप्रतिको साँचो सम्मान हो । सहिदलाई बिर्सनु र उनीहरूका आदर्शलाई कुनै कुनामा मिल्क्याएर सत्तास्वार्थमा केन्द्रित हुनुभन्दा ठूलो अपराध केही हुन सक्दैन । तर, कृतघ्नहरूको लागि अनि स्वार्थी, लोभी र लालचीका लागि सहिदहरू फगत भ¥याङ हुन् सत्ता चढ्ने । मुलुकमा लोकतन्त्र र स्वतन्त्रता बहाल गर्न सहिदलाई सम्झनु र उनीहरूले देखाएको बाटोमा हिँड्नु हामी सबैको कर्तव्य हो । कवि भूपि शेरचनले भने झैं हामीले सम्पूर्ण सहिदको गरिमामय बलिदानलाई हृदयतः ग्रहण गर्नुपर्छ । कवि भूपि भन्छन्– ‘हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको, हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको÷हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन सहिदको, हाम्रो खुशीको प्रत्येक पलमा छ जीवन सहिदको÷पाउने थिएनौं खुशी तिनले छाडेर नगए ।

‘मेरो होइन, मितको छोरो’ भने झैं स्वार्थी हुने हो भने आन्दोलनमा भाग लिनु, सङ्घर्षमा सरिक हुनु र जनयुद्धमा लामबद्ध हुनु अभिषाप हुन्छ । डिल्ली गौतम जनता र मुलुकको हितका लागि लड्दालड्दै सहिद भएका थिए । सहिद हुनुको पीडा सहिद परिवारलाई मात्र थाहा हुन्छ । सहिदहरू कित्ताकाटमा पर्ने यो मुलुकमा सहिद डिल्ली गौतम पनि उपेक्षाको शिकार हुनु अस्वभाविक नभए पनि खेदजनक विषय अवश्यै हो । डिल्लीले शहादत प्राप्त गरेको बेलामा तत्कालीन नेकपा एमालेले सहिद घोषणा गरे पनि आजसम्म पनि उनको उचित सम्मान हुन सकेको छैन ।

२०२१ साल माघ ५ गते इलाम नगरपालिका वडा नं. ३ गोलाखर्कमा जन्मनुभएका गौतमले एसएलसीसम्मको अध्ययन गरेका थिए । सानैदेखि अरुलाई सहयोग गर्न रुचाउने डिल्ली मजदुर फाँटमा क्रियाशील थिए । अन्याय नसहने स्वभाव रहेका गौतम एक क्रान्तिकारी थिए । रगतले लतपतिएको सहिद गौतमको शव लिएर शहर घुमेका साथीहरूले पनि उनको कुर्बानीलाई बिर्सेका त होइनन् ? तत्कालीन समयमा २१ वर्षको उमेरमा श्रीमान् गुमाएकी स्व. गौतमकी धर्मपत्नी देवका र माता पुण्यवती गौतम आज ३० वर्षपछि र मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको कैयौं वर्ष बिते पनि सहिद डिल्लीसहित तमाम सहिदको भावनाको कदर नभएकोमा दुःख व्यक्त गर्छन् ।

स्व.गौतमका एक छोरी एलिजा र एक छोरा उत्सव रहेका छन् । राज्यको तर्फबाट सहिद डिल्लीलाई उचित सम्मान दिन आवश्यक छ । सहिदको अपमान गर्ने समाज कहिल्यै उँभो लाग्दैन, सहिदलाई बिर्सेर नेताको व्यक्तिगत स्वार्थ पूरा होला, तर त्यो मुलुकको सर्वाङ्गीण हित हुन सक्दैन । जनता, पार्टी र देशका लागि बलिदान गरेका आफ्ना श्रीमान्को बलिदानलाई राज्यले सम्मान गरी शहादतको गरिमालाई बुझोस् भन्ने सहिद पत्नी देवकाले अनुरोध छ । अन्त्यमा, लोकप्रिय कवि भूपिका ‘सहिदको सम्झनामा’ कविताका यिनै हरफसहित सहिद डिल्ली गौतमप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
सहिद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here