लम्पी स्किनबाट एक सय ५९ पशु मरे

0
59

रसुवा,

रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् ।

जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ ।

“रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उहाँले भन्नुभयो । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । लम्पी स्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ । हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उहाँ बताउनुहुन्छ ।

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ । आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् ।

कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताउनुभयो । सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोटका सूचना अधिकारी पशु चिकित्सक डा बब्लु थारुका अनुसार गत असार ३१ गतेसम्म नुवाकोट र रसुवामा गरी झण्डै १३ हजार गाई, गोरु, भैँसी र चौरी लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।

“रसुवाको हिमाली भेगमा लम्पी स्किनबाट चौरीसमेत मरेका खबर आएको छ”, उहाँले भन्नुभयो–“रोगको अवस्थाबारे जानकारी लिन हाम्रो टोली त्यसतर्फ जाँदैछ ।” तत्कालका लागि रोग फैलिएको ठाउँमा औषधि पठाएको डा थारुले बताउनुभयो । लम्पी स्किनबाट नुवाकोटमा हालसम्म चार सय ११ पशुचौपाया मरेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here