बेरोजगार समस्या कम गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

0
46

टङ्कीसिनवारी, 

विराटनगरमा सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार समस्या कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कार्यक्रममा बढी महिला आबद्ध हुने गरेकाले पुरुषमाथिको परनिर्भता घट्दै गएको पाइन्छ । विसं २०७८ मा यस कार्यक्रममा आबद्ध हुन विराटनगर महानगरपालिकाअन्तर्गत १९ वटा वडामा आवेदन खुलाइएकामा ७६ पुरुष र दुई सय ४० महिला गरी कूल तीन सय १६ ले कामका लागि आवेदन दिएका थिए । तीमध्ये एक सय ३४ व्यक्ति छनौटमा परेका थिए ।

छनौटमा परेकामध्ये वडा नं १ बाट एक, वडा नं ४ बाट पाँच, वडा नं ६ बाट ४५, वडा नं १० बाट आठ, वडा नं ११ बाट नौ, वडा नं १२ बाट तीन, वडा नं १३ बाट १९, वडा नं १६ बाट २४, वडा नं १७ बाट २० र वडा नं १९ बाट १० व्यक्तिले उक्त कार्यक्रमअन्तर्गत विकास निर्माणका काममा योगदान दिएका थिए ।

छनौटमा परेकाले सय दिनसम्म नगरक्षेत्रभित्रका सम्बन्धित वडामा पैनी एवं नाला मर्मत, सडक निर्माण, वृक्षरोपण, खाल्डाखुल्डी पुर्ने, सरसफाइलगायत काम गरेका थिए । कार्यक्रममा आबद्धले सय दिन काम गरेबापत रु पाँच सय ७७का दरले ज्याला प्राप्त गरेका थिए । कार्यक्रममा सहभागी विराटनगर–१७ की काजल यादवले उक्त कार्यक्रम आफ्ना लागि वरदान साबित भएको बताउनुभयो । उहाँले रकम अभावमा घर खर्च चलाउन धौ–धौ परिरहेको बेलामा कार्यक्रममा सहभागी भई वडाको विकास निर्माणको काममा योगदान गर्न पाएको र रू५० हजारभन्दा बढी कमाएको बताउनुभयोे ।

यादवले भन्नुभयो, “उक्त कार्यक्रम पाँच वर्षका लागि मात्र हो भन्ने सुनेको छु तर यसले निरन्तरता पाउनुपर्छ । महङ्गीका कारण जीवन कष्टकर बन्दै गएको अवस्थामा कार्यक्रमले स्वरोजगार दिलाएको छ। मैले २०७९ पुस महिनादेखि नै काम गर्ने मौका पाएँ र सय दिन काम गरेर ५० हजारभन्दा बढी कमाएँ ।”

विराटनगर–१६ का मुगलसदा मुसहरले आफूले कार्यक्रममा सहभागी भएर सरसफाइ, भवन निर्माण र वृक्षरोपणको काम गरेको बताउनुभयो । उहाँले एक सय दिनको कामलाई दोब्बर बनाएर जीवन निर्वाह गर्न सजिलो गराएको बताउनुभयो । मुसहरले भन्नुभयो, “यस कार्यक्रमले निम्न आय हुने व्यक्तिका लागि सहाराको काम गरेको छ । कार्यक्रमअन्तर्गत दिइने ज्याला बढाए महङ्गीसँग जुध्न सजिलो हुने थियो ।”

कार्यक्रमकी रोजगार सहायक सरस्वती साहले यसकार्यक्रममा पुरुषभन्दा बढी महिला उत्सुक हुने गरेको बताउनुभयो । उहाँले कार्यक्रम विशेष गरी महिला, गरीब, पिछडा, सीमान्तकृत समुदायका व्यक्तिलाई लक्ष्य गरी ल्याइएको उल्लेख गर्नुभयो । रोजगार सहायक साहले कार्यक्रमले केही हदसम्म देशमा भयावह अवस्थामा रहेको बेरोजगार समस्या कम गराउन भूमिका निर्वाह गरेको छ भन्नुभयोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here