सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित

0
92
झापा,
मेची भन्सार कार्यालय काँकडभिट्टाले रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् ।
पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकालाई भन्सार शुल्क तिराउन नाकामै जाँचमा कडाइ गर्न थालेका छन् । भन्सार र सुरक्षाकर्मीको कडाइपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको छ ।
भन्सार विभागको निर्देशनअनुसार यो नियम कडाइका साथ लागू गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । “साउन १ गतेदेखि नै हामीले यो नियम लागू गरिसकेका छौँ”, उहाँले नयाँ नियमबारे जानकारी दिँदै भन्नुभयो, “देशभरका सीमा नाकामा यो नियम लागू भएको हो । कसैले जबरजस्ती भन्सार नतिरी लैजान खोजे सामान जफत हुनेछ ।”
सीमावर्ती भारतीय बजार पानी ट्याङ्की, नक्सलबाडी र सिलिगुढीबाट किनमेल गरेर आउनेले यसअघि काँकडभिट्टा नाकाबाट भन्सार शुल्क नतिरी घरायसी सामान भित्र्याउँदै आएका थिए । भन्सारको कडाइपछि सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने निरुत्साहित भएका छन् ।
स्थानीयवासी चिनी, तेल, दाल, सागसब्जी, लत्ताकपडालगायत घरायसी वस्तुको किनमेल गर्न भारतीय बजार धाउँदा झापाका काँकडभिट्टा, धुलाबारी जस्ता सीमाका ठूला बजार सुनसान बन्ने गरेका थिए । अब यी बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसार्इं बताउनुहुन्छ ।
भारतबाट किनमेल गरेर ल्याइएको रु एक सयभन्दा बढीको सामानमा शुल्क लगाउने भन्सारको नयाँ नीतिलाई मेची उद्योग वाणिज्य सङ्घको समर्थन रहेको र कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सङ्घ तयार रहेको अध्यक्ष प्रसार्इंले बताउनुभयो । “बिहान बेलुकै नुन, तेल, भुटुन र सागसब्जी किन्न भारतीय बजार जाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी थियो”, उहाँले भन्नुभयो, “नेपालका बजारमा सामान बिक्री नभएर व्यवसायीले पलायन हुनुपर्ने अवस्था आइसक्यो । भन्सारको कडाइले स्थानीय बजारलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”
मेचीनगर नगरपालिकाले भन्सारको नयाँ नियमलाई सघाउने जनाएको छ । नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना उप्रेतीले आज पत्रकार सम्मेलन गरी भारतबाट रु एक सयभन्दा बढीको सामान आयात गर्दा भन्सार शुल्क लगाउने नीति स्वागतयोग्य भएको बताउनुभयो । उहाँले आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको लेबल लगाउन भन्सारले अनिवार्य गरेको विषय पनि स्वागतयोग्य भएको बताउनुभयो ।
“राज्यलाई कर छलेर सीमावर्ती भारतीय बजारलाई पोस्ने गतिविधि रोक्ने भन्सार नीतिलाई कडाइका साथ लागू गराउन नगरपालिकाको अनुगमन समितिले सहयोग गर्छ”, कार्यवाहक नगरप्रमुख उप्रेतीले भन्नुभयो, “आयातित सामानको गुणस्तरप्रति उपभोक्तालाई विश्वास दिलाउन र ब्रान्डको दुरूपयोग रोक्न आयातकर्ता र बजार वितरकको लेबल अनिवार्य लगाइनुपर्छ । यदि लेबल नलगाई सामान बेचेको भेटिएमा जफत गर्नेछौँ ।”
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीले आयातित मालसामानमा साउन १ गतेदेखि आयातकर्ता र बजार वितरकको लेबल लगाउन अनिवार्य गरिएको बताउनुभयो । यदि कुनै आयातकर्ता र बजार वितरकले लेबल नटाँसी सामान बजारमा लगेको पाइएमा नेपाल सरकारका अनुगमनकारी कुनै पनि निकायले सामान तत्काल जफत गर्ने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here