
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज साउन ७ गते ४५औं स्मृति दिवस हो । २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीमा उनले उपचारकै क्रममा भौतिक रूपमा बिदा लिएका थिए । पुष्पलालकै सोच अनुसार वामपन्थी एवम् लोकतान्त्रिक शक्तिहरू बीचको सहकार्यबाट सञ्चालन भएको शान्तिपूर्ण संयुक्त जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य सम्भव भई गणतन्त्रात्मक शासन व्यवस्था थालनी भएको छ ।
नेपाली कांग्रेस र कम्युनिस्टहरू मिलेर सङ्घर्ष गरेमा मात्र नेपालबाट निरङ्कुश पञ्चायती व्यवस्था समाप्त हुन सक्छ र प्रजातन्त्र स्थापना गर्न सकिन्छ भनी २०२५ सालमै भविष्यवाणी गर्ने नेता पुष्पलालको विश्लेषण अन्त्यमा सही सावित भयो । उनी आन्दोलनकारी शक्तिहरूलाई राजतन्त्रबिरुद्ध गोलबन्द गर्न चाहन्थे र यसका लागि मूलतः नेपालको वामशक्ति तथा प्रजातान्त्रिक शक्तिबीच कार्यगत एकता हुनुपर्छ भन्ने मान्यता राख्थे । यस्तो प्रस्ताव राख्दा उनलाई ‘वरिष्ठ कम्युनिस्ट नेताहरू’बाट ‘गद्दार पुष्पलाल’ भनी आरोप पनि लाग्यो । उनी संयुक्त जनआन्दोलनको आवश्यकता र औचित्य पुष्टि गर्न अहोरात्र लागे । तर, कम्युनिस्टका कट्टर अन्धविरोधी वीपीले पुष्पलालको प्रस्ताव स्वीकारेन् ।
वाम र प्रजातान्त्रिक शक्तिलाई एकअर्का विरुद्ध प्रयोग गरेर पञ्चायती व्यवस्थाको आयु लम्ब्याउने मौका राजदरबारले पायो । वीपीको मृत्युपछि मात्र नेपाली कांग्रेसका सर्वमान्य नेता र २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको परिपक्व र सुझबुझपूर्ण निर्णय तथा मनमोहन अधिकारी, सहाना प्रधान र मदन भण्डारी जस्ता कम्युनिस्ट नेताका पहलले यी दुई शक्तिबीच कार्यगत एकता भयो र यसले नेपालमा प्रजातन्त्र पुनःस्थापनालाई सम्भव तुल्यायो । अन्ततः समयले पुष्पलालको मान्यतालाई सही साबित गरिदियो । कम्युनिस्टसँग सहकार्य नगर्ने वीपीको रूढता र हठ अव्यावहारिक ठहरियो । पुष्पलालको दूरदर्शिताको यो ज्वलन्त उदाहरण हो ।
नेपालको संविधान २०७२ ले जनता सार्वभौमता सत्ता सम्पन्न हुने गणतन्त्रात्मक शासन व्यवस्थाका साथै सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रसहित आर्थिक–सामाजिक रूपान्तरण गरेर सामाजिक न्याय स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई अङ्गिकार गरेको छ । नेपाली राजनीति र विशेषगरी वाम राजनीति पुष्पलालकै विचारबाट आजपर्यन्त अनुप्राणित छ । उनी नेपालको समग्र वाम आन्दोलनको आदर्श बनेका छन् । पुष्पलाल युगान्तकारी परिवर्तनका विचारक, पथप्रदर्शक र भविष्यद्रष्टा थिए ।

कम्युनिस्ट पार्टीमा प्रायः व्यक्तिहरू नीति वा सत्यको पक्षमा भन्दा पनि शक्ति र नेता तथा नेतृत्वको पछि लाग्ने गरेका छन् । पार्टीभित्र गुटबन्दी बढ्दै गएपछि व्यक्तिहरू नेताको पछि लाग्ने गलत प्रवृत्ति बढेको छ । पुष्पलाल आफैंले नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा गणतन्त्रको कार्यदिशासहितको कार्यनीतिक नारा अगाडि सारेका थिए । तर, उनले नेतृत्व गर्न पाएनन् । यसै भएर उनले कम्युनिस्ट पार्टीमा नेता प्रधान होइन, नीति प्रधान हो भन्ने कुरा उल्लेख गरेका थिए । २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्रनिर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए । यतिखेर नेपालको कम्युनिस्ट आन्दोलनभित्र पार्टीको सही नीति सिद्धान्त पछाडि कार्यकर्ता हिँड्नेभन्दा पनि नेताको पछि लाग्ने, अमूक नेतालाई देवत्वकरण गर्ने प्रवृत्ति कायमै रहेको छ, जुन अत्यन्तै घातक र ध्वंशकारी छ ।
भक्तलाल र तुलसीकुमारीको माइला छोराका रूपमा जन्मेका पुष्पलालका एक दाजु गङ्गलाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् । १९९७ सालमा आफ्ना दाजु गङ्गालाललाई गोली ठोकी मार्ने ठीक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्’ –भनेका थिए र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको धेरैको भनाइ छ ।
वि.सं. १९८१ असार १५ मा पूर्व २ नं. रामेछापमा जन्मिएका पुष्पलाल वैचारिक रूपले सशक्त र प्रेरणादायी नेता हुन् । उनले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्तिको आवश्यकता अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ । आज पुष्पलाल लगायतका संस्थापक नेताहरूले जन्माएको कम्युनिस्ट पार्टीभित्रै फुट र विभाजन यति धेरै भएका छन्, जसको अन्दाज सायद पुष्पलालले पार्टी स्थापना गर्दा गरेका थिएनन् । यो फुटको श्रृङ्खला पार्टी स्थापना भएको ११ वर्षपछि शुरु भएको थियो । ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट घोषणापत्र)को नेपाली रूपान्तरण गर्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ ।
उक्त रूपान्तरित प्रतिको भूमिकामा ‘केही कुरा’ शीर्षक दिएर लेखिएको थियो– ‘विश्व मजदुर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने यस घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदुर वर्गको आन्दोलनलाई सही बाटो लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथासक्य परिश्रम गरी नेपाली भाषामा उल्था गरी नेपालको सम्मान राखेको छु ।’ यो माक्र्सवादी चेतना र साहित्यको थालनी थियो नेपालमा । पुष्पलाल राजनीतिज्ञ मात्र थिएनन् अपितु इतिहास, समाजशास्त्र, मानवशास्त्रले ओतप्रोत भएका लेखहरू लेख्न सक्ने एक अध्ययनशील लेखक पनि थिए ।
शहीद गङ्गालालको भाइ हुनुले पुष्पलालको राजनीतिक जीवनमा लाभ पु¥यायो । तर, उनी आफैं जागरुक र सशक्त नेता थिए । गङ्गालालको भाइ भनी कसैले आफूलाई चिनाउँदा पार्टीका अन्य सदस्य तथा नेताहरूको ध्यान आफूप्रति आकर्षित हुने गरेको र उनीहरूले आफूसँग मन खोलेर कुरा गर्ने गरेको पुष्पलालले उल्लेख गरेका छन् । पुष्पलाल देशभक्त क्रान्तिकारी थिए, उनी नेपाली स्वाभिमान र स्वतन्त्रताप्रति अति संवेदनशील थिए । अन्तर्राष्ट्रवादमा विश्वास गर्ने कम्युनिस्ट हुँदाहुँदै पनि उनी हरेक कम्युनिष्ट क्रान्तिकारीमा राष्ट्रिय चरित्र हुनुपर्छ भन्ने मान्यता राख्थे । उनले भनेका थिए– ‘प्रत्येक देशका क्रान्तिकारीहरू प्रथमतः राष्ट्रमुखी हुनु पर्दछ । त्यसै भएको खण्डमा मात्र पार्टीले आफ्नो राष्ट्रिय कर्तव्य निभाउन सक्नेछ ।’
भारतको नेपालप्रतिको हेपाहा नीति र नेपालको स्वतन्त्र अस्तित्व नमान्ने प्रवृत्तिको उनी प्रखर आलोचक थिए । समाजको विश्लेषण गर्दा र राजनीतिक कार्यक्रम तय गर्दा साम्प्रदायिकताको गन्ध लेसमात्र पनि आउनु हुँदैन भन्ने उनको स्पष्ट विचार थियो । पुष्पलालले आफू नेवारबाट नेपालीमा परिणत भई माक्र्सवादतिर लागेको व्यक्ति भएकाले जातिवादी र साम्प्रदायिकता बिथोल्ने कुराप्रति घृणा जागेको लेखेका छन् । वर्गीय राजनीति गर्न नसक्नेले साम्प्रदायिक नारा उराल्छ भन्ने उनको विचार थियो । २००६ साल बैशाख १० गते (१९४९ अप्रिल २२)का दिन भूमिगत तवरले भारतको कोलकातास्थित श्यामबजार टोलस्थित एक घरमा कमरेड पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणबिलाश जोशी, निरन्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ (दुर्गादेवी)ले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए ।
तत्कालीन सामन्ती–जहाँनिया राणाशासनको दबदबा भएको बखत राजनीतिक गतिविधि गर्न प्रतिबन्ध भएको अवस्थामा सामन्ती सत्तालाई अन्त्य गरी नयाँ जनवादी सत्ता स्थापना गर्ने उद्देश्यका साथ कमरेड पुष्पलालको अदम्य साहस र वैचारिक दृष्टिकोणको प्रकाशमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पार्टी स्थापना लगत्तै प्रकाशित पहिलो पर्चामा मजदूर, किसान र श्रमजीवी जनताको राज्य व्यवस्था स्थापना गर्ने, राणासँग सम्झौता होइन क्रान्ति गर्ने, सामन्ती शासन व्यवस्थाको उन्मूलन गर्दै अङ्ग्रेज, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवादको शोषण उत्पीडनबाट देशलाई मुक्त बनाउँदै नेपालमा नयाँ जनवाद स्थापना गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको उल्लेख गरिएको थियो ।
पार्टी स्थापनाको चार महिनापश्चात् २००६ भाद्र ३० तदनुसार १५ सेप्टेम्बर १९४९ मा जारी घोषणापत्रमा विद्यमान सामन्ती व्यवस्था र नेपाल माथिको साम्राज्यवादी शोषणलाई पुरै खत्तम गर्ने, मजदुर वर्गको नेतृत्वमा जनताको जनवादी राज्य स्थापना गर्ने, वालिग मताधिकारको आधारमा संविधान निर्माण गर्ने, सर्वसाधारण जनतालाई विचार, राजनीतिक पार्टी, कार्यक्रम रोज्ने अधिकारसहित पूर्ण स्वतन्त्रता तथा अधिकारको प्रत्याभूति गर्ने र नेपाली जनतालाई आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी गर्ने प्रतिबद्धता उल्लेख गरिएको थियो ।
नेपालमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिकता लगायतका राजनीतिक उपलब्धि प्राप्त गर्न नेपाली कम्युनिस्टहरूले छ दशकभन्दा बढी समयदेखि सञ्चालन गरेको सामन्तवाद विरोधी राजनीतिक आन्दोलनले सफलता मिलेको हो । कम्युनिस्ट आन्दोलनको थालनीसँगै नेपाली समाजमा विकास भएको माक्र्सवादी चेतनाको लहरले जनसमुदायमा सामाजिक परिवर्तनप्रतिको चासो र सरोकार बढेर गएको छ । लाखौंलाख जनसमुदायहरू कम्युनिस्ट पार्टी र जनसङ्गठनमा सङ्गठित भएका छन् । यी महत्वपूर्ण उपलब्धि हुन् र यी सबै उपलब्धिका पछि मुख्य हात पुष्पलालका विचारहरुको रहेको छ ।
पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनका सन्दर्भमा अगाडि सारेका विचारहरू अहिले झन सामयिक र सान्दर्भिक रहेका छन् । पुष्पलालले कम्युनिस्ट पार्टी निर्माणका सन्दर्भमा स्पष्ट दृष्टिकोण राखेका छन् । पार्टीको सिद्धान्त र राष्ट्रिय विशेषता अनुरूपको पार्टीको नीति तथा कार्यक्रम, पार्टीमा सर्वहारा श्रमजीवी वर्गलाई सङ्गठित र परिचालित गर्ने नीति, पार्टीका नीति, विचार र कार्यक्रमको जनस्तरमा व्यापक प्रचार–प्रसार, पार्टीभित्र जनवादी केन्द्रीयतालाई स्थापित गर्ने विधि पद्धतिबाट मात्र साँचो अर्थमा पार्टी निर्माण हुन्छ भन्ने मान्यतामा दृढ थिए ।
उनी हामीबीच छैनन्, तथापि उनको विचार र दर्शन मुलुक र जनताकै निधि र धरोहरको रूपमा चिरकालसम्म रहिरहनेछ । देश र जनताप्रति समर्पित, बहुदलीय लोकतन्त्रप्रति बफादार, सिद्धान्तनिष्ठ, अनुशासित र सङ्घर्षशील व्यक्तित्व पुष्पलालबाट कोरिएको मार्गचित्रबाट नयाँ नेपाल निर्माण गर्नेतर्फ अग्रसर हुन नेपालका कम्युनिस्टहरूलाई प्रेरणा मिल्छ भन्ने विश्वास गर्न सकिन्छ । विग्रह र विभाजनबाट गुज्रिरहेका नेपालका आजका कम्युनिस्टहरु पुष्पलालले देखाएको बाटोमा अग्रसर छन् भन्ने मूल प्रश्न अनुत्तरित नै छ ।

























