पाँचथरमा ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’

0
196

युद्धबहादुर बोहोरा,
पाँचथर।

‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को जिल्ला शाखा कार्यालय पाँचथरमा उद्घाटन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा २०७३ सालमा स्थापित संस्थाको शाखा कार्यालय फाल्गुनन्द– ५ नम्बर वडास्थित घुर्बिसे पञ्चमीमा स्थापना गरिएको हो । कार्यालय स्थापना गर्न फाल्गुनन्द गाउँपालिकाले आर्थिक सहयोग गरेको शाखाका सचिव इन्द्रकुमार नेम्वाङले जानकारी दिए । राजनीतिक, आर्थिक तथा जनजीविका, सामाजिक, पर्यावरण र दिगो विकास, संस्थागत लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतिष्ठानको शाखा प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले उद्घाटन गरेका हुन् ।

प्रतिष्ठानले नेपालको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा नरबहादुर कर्माचार्यले पु¥याएको योगदानलाई चिरस्थायी बनाउने गरी वैचारिक क्षेत्रमा विभिन्न काम गर्ने गरी ७७ जिल्लामध्ये हाल ३८ वटा जिल्लामा दर्ता भई क्रियाशिल रहेको र बाँकी जिल्लामा विस्तारको प्रक्रियामा रहेको प्रतिष्ठान शाखाका अध्यक्ष शंखध्वज नेम्वाङले बताए ।

पाँचथरमा यस शाखाको कार्यालय स्थापना हुनु अघिदेखि नै फाल्गुनन्द–७ नम्बर वडामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । जहाँ सात सय २५ जनाले सेवा लिएका थिए । त्यसैगरी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लास्तरीय सचेतना तथा सीपमूलक कार्यक्रम फिदिममा सञ्चालन गरी एक सय पाँच जनालाई प्रशिक्षण गराएको छ ।
आगामी दिनमा वाम–लोकतान्त्रिक आन्दोलनको इतिहास, समग्र नेपालको इतिहास, संस्कृति, नेपाली समाजको विकाशक्रम, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणको विविध पक्षमा वैज्ञानिक र वस्तुपरक खोज, अनुसन्धान, अन्तरक्रिया, बहस र प्रकाशन गर्ने प्रतिष्ठानको मुख्य लक्ष्य रहेको अध्यक्ष नेम्वाङले बताए ।

यस प्रतिष्ठानले आगामी दिनमा मानव समसाधन विकास, सामाजिक विकास, अनुसन्धान, संस्थागत विकास, कार्यालय निर्माण र व्यवस्थापन, सामाजिक सञ्जाल र सूचना व्यवस्थापन साझेदारी, सहकार्य र सञ्जालीकरण साथै स्रोत व्यवस्थापनतर्फ काम गर्ने योजना रहेको उनले बताए ।

कार्यालय मार्फत कम्प्युटर तालिम र विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने साथै कार्यालयमा पुस्तक पढ्न पाउने व्यवस्था समेत मिलाइएको छ । पछिल्लो समयमा पुस्तक पढ्ने बानी हराउँदै गएर मोवाइल, कम्प्युटरमा मात्रै लत बसेपछि पुस्तकालयहरु ओझेलमा परेका छन् । पुस्तक अध्ययन गर्ने बानीको विकास साथै ज्ञान आर्जन गर्ने थलोको रुपमा लाइब्रेरीले मद्दत पुग्ने हुँदा सौजन्य गर्न इच्छुकले पुस्तकालयमा ज्ञानवर्दक पुस्तकहरु उपलब्ध गराउने समेत आग्रह गरिएको छ ।

को हुन् नरबहादुर कर्माचार्य ?

वि.स. १९८१ साल कात्तिक १४ गते बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट जन्मिएका स्वर्गीय कर्माचार्य २०७० साल साउन ९ गते ८९ वर्षको उमेरमा देहवसान भएको हो । राणा शासनबिरुद्धको प्रजातान्त्रिक जन–आन्दोलनका क्रममा २००६ सालमा पुष्पलालको नेतृत्वमा उनीसहित पाँच जनाले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हस्ती मध्येका एक संस्थापक सदस्य हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु मध्ये लामो समय सार्वधिक सक्रिय कर्माचार्य पार्टी र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहे । पछिल्लो समयमा उनी एकीकृत नेकपा माओवादीको संरक्षकको रुपमा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here