झापा ।

पत्रकार दीपक अधिकारीलाई यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल झापाले देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको २१ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार अधिकारीलाई प्रदान गरेको हो ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारी नौलो आवाज साप्ताहिकका प्रकाशक तथा सम्पादक रहेका छन् । भद्रपुर निवासी अधिकारीले ग्रामीण क्षेत्रमा रहेर खोज पत्रकारितामा कलम चलाउँदै आएका छन् । कोशी प्रदेशका मन्त्री राजेन्द्र कार्की र डी. कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई नगदसहित पुरस्कृत गरेका थिए ।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा देवकुमार आचार्य (डी कौडिन्य) को बारेमा प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेले प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष बिबेक गौतम, कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य सरु न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), पार्टीका झापा सह–इञ्चार्ज सीपी कडरिया, स्वतन्त्र पत्रकार समूह झापाका अध्यक्ष नरेन्द्र ढकाल, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत संगठनका उपाध्यक्ष होमप्रकाश अधिकारीले गरेका थिए भने पुरस्कृत अधिकारीका विषयमा प्रेस सेन्टरका सहइञ्चार्ज झुलन रेग्मीले चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन प्रेस सेन्टर झापाका सचिव पुष्प खड्काले गरेका थिए ।






























