प्रहरीद्वारा झापामा चार करोड मूल्यको सामान बरामद

0
89

झापा ।

भन्सार छली तथा अबैध चोरी पैठारी गरी नेपाल भित्र्याइएको झण्डै चार करोड मूल्य बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको छ ।

आर्थिक वर्ष २०७९/०८०मा जिल्ला प्रहरी कार्यालय झापाले चोरी पैठारी गरी नेपाल भित्र्याइएको तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ रुपैयाँ मूल्य बरावरको सामग्री बरामद गर्दै भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए । उनका अनुसार चोरी पैठारीमा संलग्न २८ वटा सवारी साधनसहित १३ जनालाई पक्राउ गरिएको छ ।

खुल्ला सीमानाका कारण झापाका विभिन्न नाकाबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाण बरावरको अबैध सामग्री बरामद गरेको बताइएको छ । चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय सक्रियता समेत बढाएको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।

नदीजन्य सामग्री उत्खनन् गर्ने १ सय ३८ सवारी कारवाहीमा

पछिल्लो एक वर्षमा जिल्ला प्रहरी कार्यालय झापाले अबैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्ने एक सय ३८ वटा सवारी साधनलाई कारवाही गरेको छ । जसमा २५ जना मानिसाई समेत कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रिजालले बताए । जसबाट १२ लाख ६० हजार नौं सय रुपैयाँ राजश्व संकलन भएको बताइएको छ ।

झण्डै एक करोड मूल्य बरावरको काठ बरामद

जिल्ला प्रहरी कार्यालय झापाले अबैध वन चोरी तस्करी गरी काठ ओसारपसारमा संलग्न रहेका २९ वटा सवारीलाई कारवाही गरेको छ । जसमा १७ जना मानिस समेत पक्राउ परेको बताइएको छ । जसबाट ९७ लाख ९४ हजार ८ सय १० रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले दुई सय ३० जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट कैद र जरिवाना भएसँगै फरार रहेका उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
जसबाट एक करोड २ लाख ६ हजार ३ सय ९५ रुपैयाँ र २ सय ४७ वर्ष एक महिना ७ दिन कैद असुल गरिने बताइएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला कारागार बुझाइएको प्रहरीले जनाएको छ ।

लागूऔषधका २०६ बटा मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७९ /०८०मा लागूऔषध सम्वन्धी २०६ वटा मुद्दा दर्ता गरेको छ । ब्राउनसुगर, लुपिजेसिक, डाइजेपाम, फेनारगन, नाइट्रोसन, नाइट्राजेपाम, एभिल, गाँजा लगायतका लागू औषध ओसारपसारमा संलग्न भएको आरोपमा तीन सय १ पुरुष र ३५ जना महिलासहित ३ सय ३६ जनालाई पक्राउ गर्दै मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

वरामद गरिएको सामग्रीमध्ये सबैभन्दा धेरै ब्राउनसुगर रहेको बताइन्छ । बरामद गरिएको लागूऔषध एक केजी ७ सय ५८ ग्राम ४ सय ५२ मिलिग्राम रहेको छ ।

अपराध न्यूनीकरणका लागि मनोसामाजिक परामर्श

लागूऔषध दुव्र्यसन न्यूनीकरण सम्वन्धी ‘यस आईक्यान’ अभियान सञ्चालन गर्दै मनोपरामर्श दिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका रिजालले बताए । उनका अनुसार मनोसामाजिक परामर्श अन्तर्गत ९३१ पुरुष र ३१ महिला गरी ९ सय ६२ जनालाई परामर्श दिइएको छ भने एक महिलासहित १२ जनालाई सुधार केन्द्र पठाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अन्तर्गत सामुदायिक प्रहरी साझेदारी अवधारणा अन्तरगत २४० वटा लागूऔषध दुव्र्यसनीबिरुद्ध सचेतना मूलक कार्यक्रम, ४४ वटा आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।

त्यस्तै विद्युतीय अपराध ‘साइवर क्राइम’ सम्वन्धी ५५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको झापा प्रहरीले लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरण सम्वन्धी १७८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

त्यस्तै मानव बेचविखन तथा ओसारपसारबिरुद्ध २९ वटा कार्यक्रम गरिएको छ भने वहुविवाह र वाल विवाहबिरुद्ध ९४ वटा सचेतनामूलक कार्यक्रम गरिएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here