इलाम अस्पतालमा आएको औषधि निजी मेडिकलमा

0
101

भगीरथ भण्डारी,
इलाम ।

इलाममा अस्पतालका लागि आएको औषधि निजी मेडिकलमा भेटिएको छ । ‘फर हस्पिटल सप्लाई वन्ली’ लेखेको औषधि इलाम अस्पताल नजिकैको दुर्गा मेडिकलमा फेला परेको हो ।

सोमबार सहायक प्रमुख जिल्ला अधिकारी, इलाम नगरपालिका, करदाता सेवा कार्यालय, घरेलु कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमनका क्रममा अस्पतालका लागि आएको औषधि मेडिकलमा फेला परेको हो ।

एउटाका नाममा दर्ता रहेको र अर्कैले चलाएको पाइएपछि दुर्गा मेडिकल हलमा अनुगमन टोलीले उक्त मेडिकलमा ताला लगाएको छ । सञ्चालकलाई बोलाउँदा सञ्चालक नआएको र पहिलेदेखि नै पटक–पटक निर्देशन दिँदा पनि नटेरेपछि मेडिकलमा ताला लगाएको बताइएको छ । स्वास्थ्य कार्यालय इलामले नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगरेको हुँदा मेडिकल बन्द गरी इलाम नगरपालिकामा सम्पर्क राख्न निर्देशन दिएको छ ।

इलाम अस्पतालका फार्मेसी इञ्चार्ज नै दुर्गा मेडिकल सञ्चालकमा दुर्गा मेडिकल हल दुर्गा कटुवालका नाममा छ । दुर्गा कटुवालले पहिले नै मेडिकल बेचेको भने पनि उक्त मेडिकल सञ्चालन भइरहेको छ । उनले बेचेको भनेको मेडिकल इलाम अस्पतालका फार्मेसी इञ्चार्ज पशुपति चौधरीले चलाइरहेका छन् । इलाम अस्पतालका फार्मेसी इञ्चार्ज चौधरीले चलाइरहेको दुर्गा मेडिकल दुर्गा कटुवालकै नाममा छ ।

त्यो मात्र होइन उनले अस्पताल छेउमै पनि अर्को मेडिकल चलाएका छन् । उनी मेडिकलमा खासै देखिँदैनन् फार्मेसीमै बस्छन् । अस्पतालको फार्मेसी इञ्चार्जले सञ्चालन गरिरहेको मेडिकलमा अस्पतालका लागि भनेर आएको औषधि भेटिनुमा उनकै हात रहेको आशङ्का छ ।

दुर्गा मेडिकल हलमा ताला लगाएपछि उनैले सञ्चालन गरेको अस्पताल छेउको मेडिकल समेत बन्द गरिएको छ । अनुगमनको टोली पुग्न नपाउँदै उक्त मेडिकल बन्द गरिएको हो । इलाम अस्पतालका लागि आएको औषधि कसरी मेडिकलमा पुग्यो भन्ने विषयमा अस्पताल स्टोर शाखाका दुर्गा दुलालले स्टोरबाट इमरजेन्सीका कर्मचारीलाई औषधि बुझाएका हुन्छौ भन्दै अस्पतालको औषधि मेडिकलमा कसरी पुग्यो भन्ने विषयमा कहिले कसलाई कति औषधि बुझाएको भन्ने रेकर्ड खोजिरहेको बताए ।

उनले कहिले कसलाई कुन औषधि स्टोरबाट दिएको हो, त्यो तथ्याङ्कसहित निकाल्ने गरी काम थालिसकेको बताए । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय इलामले सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कोइरालाको नेतृत्वमा अनुगमनलाई निरन्तरता दिई रहेको छ । किसानका लागि आएको मल सहकारीले बिचौलियालाई बेचेको भेटेपछि इलाम बजारमा रहेको कृषि बीजलाई दुई लाख रुपैयाँ जरिवाना र इलाम नगरपालिका–१ मा रहेको सहकारीको कागजपत्र खारेज गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले समय समयमा अनुगमन गरिरहने र अनुगमनका बेला दिएको निर्देशन पालना नगरेको पाइएमा कानून अनुसार कार्वाहीका लागि तत्काल प्रक्रिया अघि बढाउने बताए । सोमबार इलाम बजारमा रहेका मेडिकल अनुगमनका क्रममा कागजपत्र, विल, औषधिको म्याद लगायतको अनुगमन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here