सशस्त्रमाथि ढुंगामुडा गर्ने एक जना पक्राउ

0
50

झापा ।

झापामा सशस्त्र प्रहरीमाथि ढुंगामुडा र हातपात गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–१ स्थित रसुनगञ्ज निवासी जितेन यादव रहेका छन् । घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

ड्युटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए ।

त्यसपछि सशस्त्रले उनीहरुबिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा यादवलाई शनिबार पक्राउ गरेको र चन्द्रमोहन लगायत तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीले यादवविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको डीएसपी रिजालले बताए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट टाघनडुब्बाले झापा–१ रसुनगञ्जस्थित नेपाल भारत सीमा नजिकबाट गत असार ३० गते अन्दाजी राति ८ बजेको समयमा भारत लैजाँदै गरेको १६८ बोतल मदिरा बरामद गरेको थियो । सो मदिरा स्थानीय चन्द्रमोहनले मे२प ७७६६ नम्बरको मोटरसाइकलमा हालेर भारततर्फ लगिरहेका थिए ।

सशस्त्रले मदिरा बरामद गरेपछि चन्द्रमोहनले घरका अन्य सदस्यहरूलाई घटनास्थलमा बोलाएर सशस्त्र चढेको गाडीमा ढुंगामुडा गरेका थिए । गाडी रोकेपछि उनीहरूले सशस्त्रमाथि अभद्र व्यवहार गर्दै हातहतियार समेत खोस्ने प्रयास गरेका थिए । सोही क्रममा दुवै पक्षबीच विवाद भएको थियो ।

यो घटना घटेको केही समय अघि पनि चन्द्रमोहनले झापा बजारबाट मोटरसाइकलमा मदिरा बोकेर लसुनातर्फ जाँदै गर्दा बाटोमै सशस्त्र प्रहरीले उनलाई छेक्न खोजेका थिए । सशस्त्र देखेपछि चन्द्रमोहन झापा बजारतर्फ भागेका थिए । सशस्त्रले उनलाई पछ्याउने क्रममा स्थानीय व्यवसायी र सशस्त्र प्रहरीबीच विवाद समेत भएको थियो । सोही विवादमा स्थानीय व्यापारीले एक दिन झापा बजार समेत बन्द गरेका थिए ।

भारतको बिहार राज्यमा मदिरा पूर्ण रुपमा प्रतिबन्ध छ । त्यसैले झापाका विभिन्न नाकाबाट मदिराजन्य पदार्थ चोरी तस्करीको माध्यमबाट विहार लगिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here