निर्माण व्यवसायी संघ झापाले बुझायो ज्ञापन–पत्र

0
52

झापा ।

नेपाल निर्माण व्यवसायी संघ झापाले जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहितको ज्ञापन– पत्र बुझाएको छ ।

निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको नेतृत्वमा गएको टोलीले मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सो ज्ञापनपत्र बुझाएको हो ।

महासंघको पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार प्रशासन कार्यालयलाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको अध्यक्ष बस्नेतले बताए ।

सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरूको एकमुष्ट रूपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, रुग्ण आयोजनाहरू, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवम् काबु बाहिरका निर्माण कार्य सुबिस्तारको आधारमा अन्त्य गर्नुपर्ने, अत्यधिक र अप्रत्याशित रूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन हुनुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने, बिमा प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै महासंघ थप आन्दोलित बनेको हो ।

महासंघको आन्दोलनका कार्यक्रम अनुसार प्रदेश महासंघले मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाउने काम भएको छ ।

साउन १० देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित संघीय सरकारी निकाय, प्रदेश र राजनीतिक निकायमा आफ्ना मागहरूको सम्बन्धमा जानकारी गराउने, साउन १४ गते महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिने, १४ गते नै ७ वटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयअघि धर्ना दिने, साउन १५ गते प्रधानमन्त्री निवासअघि एक घण्टा धर्ना दिने र साउन १६ गते निर्माण उपकरणसहित संघीय राजधानी केन्द्रित प्रदर्शन गर्ने कार्यक्रम महासंघले तय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here