झापामा अनियमित वर्षाले रोपाइँमा असर

0
99

बनियानी,

अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेकोे छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब सात प्रतिशत रोपाइँ कम भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख तेजराज भण्डारीले जानकारी दिनुभयो ।

केही दिन अघिको तथ्याङ्कअनुसार जिल्लामा ७२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँका लागि तयारी अवस्थामा राखेको खेतमा पनि रोपाइँ हुन नसकेको उहाँको भनाइ थियो । “गत वर्षको तुलनामा छ–सात प्रतिशत रोपाइँ कम छ”, उहाँले भन्नुभयो, “बिजुली आउँदै जाँदै गर्नाले समेत सिँचाइ मोटरबाट किसानले पर्याप्त लाभ लिन सकेका छैनन् ।”

जिल्लमा गत वर्ष ८७ हजार हेक्टरमा बर्खे धान रोपाइँ भएको थियो भने यस वर्ष पनि सोही अनुपातमा रोपाइँ हुने अनुमान उक्त कार्यालयले गरेको छ । जिल्लामा अधिकांश किसानले रन्जित, रामनाथ, सर्नालगायत जातका धान लगाएका छन् भने केहीले स्थानीय जातका र बास्नादार धान रोपेका छन् ।

भद्रपुर नगरपालिका–४ का किसान महरसिंह राजवंशीले आफूले रोपाइँ सकेको बताउनुभयो । उहाँले भन्नुभयो, “रोपाइँ त सकियो अब पानी चाहिन्छ, चाहिएजस्तो पानी परेको छैन ।” रोपाइँपछि धानलाई पर्याप्त पानी चाहिने उहाँको भनाइ थियो । जिल्लामा अघिल्ला वर्षहरुको तुलनामा मलको अभाव भने देखिएको छैन ।

यसैबीच सरकारले धानको समर्थन मूल्य तोकिसकेको छ । सरकारले यस वर्ष बेलैमा धानको समर्थन मूल्य तोकेकामा आफूलाई खुसी लागेको कचनकवलकी किसान पुष्पा रिमालले बताउनुभयो । “किसानले आफूले उत्पादन गरेको धानको न्यूनतम मूल्य पनि नपाउने समस्या छ”, उहाँले भन्नुभयो, “यस पटक सरकारले बेलैमा न्यूनतम मूल्य निर्धारण गरेकाले किसानलाई राहत मिल्ने देखिन्छ ।”

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा रु दुई सय ३१ बढी हो ।

गत आवमा वर्षका लागि सरकारले मोटो धानका लागि प्रतिक्विटल रु दुई हजार नौ सय ६७ र मध्यम धानका लागि प्रतिक्विटल रु तीन हजार एक सय २८ तोकेको थियो । गत वर्ष सरकारले कात्तिकको अन्तिम साता मात्र धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here