भगीरथ भण्डारी,
इलाम ।

इलाम नगरपालिकाले पार्किङ शुल्कका लागि लगाएको ठेक्का भन्दा बाहिर पार्किङ शुल्क उठाउने गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ट्याक्सी स्टेण्ड छेउको मासु पसल पछाडि मोटरसाइकल पार्किङका लागि ठेक्का लगाए पनि ठेक्का पाउने कम्पनीले अर्कै ठाउँमा ठेक्का उठाउने गरेको छ । ठेक्का एक ठाउँको लिएर ठेक्काभित्र नपरेको सिट मार्टको अगाडि ठेक्का उठाउने गरेको पाइएको हो ।
मासु पसल सँगैको भवनमा भ्याट बाहेक ४४ हजार तीन सय रुपैयाँमा मोटरसाइकल पार्किङ सेवा शुल्कका लागि ठेक्का लगाए पनि धमाधम सिट मार्ट अगाडि पार्किङ उठाइरहेको छ ।
एक पटक पार्किङ गरेबापत रु. १०का दरले ठेक्का नै नलागेका ठाउँमा ठेक्का उठाइरहँदा इलाम नगरपालिका भने देखेको नदेखेझैँ भएर बसेको छ । इलाम नगरपालिका राजश्व शाखा प्रमुख सीतादेवी खवासले ठेक्का लागेको मासु पसल पछाडि हो, ठेक्का लागे भन्दा अन्यन्त्र पार्किङ शुल्क उठाउने सम्झौता नभएको बताइन् ।
उनले नगरपालिकाले खुलाएको ठाउँमा नै पार्किङ शुल्क उठाउने गरी सम्झौता भएको बताइन्् । इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले मासु पसल पछाडिकै भवनका लागि ठेक्का लागेको बताए ।
यता पार्किङ शुल्क उठाउने जिम्मा लिएको एन क्यु निर्माण कम्पनीका मुकेश राई ठेक्का लागेको भवनमा मोटरसाइकल पार्किङका लागि जाने भन्दा यहाँ खाली भएको ठाउँमा मोटरसाइकल पार्किङ गरेकाले यहाँ उठाएको बताए ।
उनले नगरपालिकासँग त्यहाँ खाली हुँदाहुँदै तल मोटरसाइकल पार्किङमा कोही पनि जाँदैनन् भनेर आफूले यहाँ उठाउन थालेको बताउँछन् ।































