बिर्तामोडका एक व्यवसायी सर्वसाधारणको करोडौं रुपैयाँ कुम्ल्याएर फरार

0
107

झापा।

बिर्तामोडका एक व्यवसायी सर्वसाधारणको करोडौं रुपैयाँ कुम्ल्याएर फरार भएका छन् । बिर्तामोड–५ नम्बर वडास्थित बोलबम पेट्रोलपम्प नजिकै व्यवसाय गर्दै आएका पंकज अग्रवाल करोडौं रुपैयाँ कुम्ल्याएर फरार भएका हुन् ।

विगत लामो समयदेखि पंकज भण्डार (चामल मण्डी) सञ्चालन गरेर झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका क्षेत्रमा सामान पठाउँदै मोटो कारोबार गरेका अग्रवालले केही समयको लागि चलाउन भन्दै विभिन्न मानिसबाट लिएको रकम ठगी गरी फरार भएको पाँचथरको हिलिहाङ गाउँपालिकाको जोरपोखरी बजारमा व्यवसाय गर्दै आएका पीडित लोकेन्द्र सुब्बाले बताए ।

हालसम्म ठगीमा परेका मानिसहरुमा इलामको देउमाई नगरपालिका–१ राँके निवासी गोविन्द लामिछाने र नेत्र लामिछाने, अग्रवालले बिर्तामोडमा गोदाम राखेका घरमालिक गनबहादुर तामाङ, बिर्तामोड निवासी प्रकाश बोहोरा, कुमार श्रेष्ठ, लोकेन्द्र बोहोरा, रञ्जिता लिम्बू रहेका छन् । त्यस्तै पाँचथरको कुम्मायक गाउँपालिकाका भीमबिक्रम सम्बाहाम्फे, इलामको फाकफोकथुम गाउँपालिकाका युद्धबहादुर बोहोरा, टुन्नबहादुर निरौला, गणेशबहादुर निरौला, हिलिहाङ गाउँपालिका–३ गोपेटारका मेघराज कटुवाल(महेश), याङ्वरक गाउँपालिका थर्पू निवासी खेम न्यौपानेलगायत अन्य धेरैलाई दुई लाखदेखि ४० लाखसम्म प्रतिव्यक्ति सापटी लिएर वेपत्ता भएका हुन् ।

हजुरबुबा तिलकचन्द अग्रवाल र बुबा प्रेमचन्द अग्रवालका छोरा वर्ष ४३का पंकज अग्रवालले साविक अनारमनी–३ विर्तामोड हालको विर्तामोड नगरपालिका वडा नम्बर ५को स्थायीवासिन्दा भई झापाबाट ना.प्र.न. ०४–०१–६९–१०९५३ को नागरिकताको आधारमा विभिन्न बैंकमा खाता र पंकज भण्डार सञ्चालन गरेको प्रमाण पुष्टि भएको छ ।

उनी कसरी फरार भए ?

वेष्ट बंगाल शिलगढी नजिकै भारतको रायजञ्जमा भएको घरजग्गा बिक्री गरेर पैसा ल्याउने र दिने भन्दै अधिकांश व्यापारी, चामल मिल तथा अन्य मानिसलाई विभिन्न प्रलोभन देखाई झुक्याएको पीडितको गुनासो छ ।

उनी कसैबाट बिना कागजात नगद रुपैयाँ, चेक, त कतिपयको अलैँची र चामल भाउ काट्नु भन्दै पैसा लिएर असार १ गतेदेखि सम्पर्कविहीन भएका हुन् । उनको पसलमा काम गर्ने कामदारलाई छोडेको र गोदाममा सामान पनि केही नभएको कामदार दिलीप उप्रेतीले बताए । एक÷दुई महिना अघि उनले प्रयोग गर्दै आएको ९८१७९५३६०७ मोबाइल नम्बर उनका बुबा प्रेमचन्द अग्रवालले उठाउने गरेको र छोरा शिलगढी गएको छ भन्दै वहाना बनाएर पीडितहरुलाई ढाँट्ने गरेकोले उक्त ठगीमा बुबाको समेत मिलेमतो भएको हुन सक्ने पीडितको दावी छ । उनले प्रयोग गरेको फेसबुक आइडी समेत डिएक्टीभेट गरेका छन् ।

२०६२ सालदेखि विर्तामोडको कन्काई रोड नजिकै देवी माविको पूर्वपट्टि गजुरमुखी टोलस्थित देवीबहादुर लिम्बूको घरमा एक फल्याट भाडामा लिएर उनका बुबा प्रेमचन्द, आमा विद्यादेवी र श्रीमती रञ्जिता मण्डल अग्रवालसहित उनका दुई छोरी बस्दै आएको घरबेटी लिम्बूको बुहारी सोही घरमा बस्ने रञ्जिता लिम्बूले जानकारी दिइन् ।

हाल उनको पसल बन्द रहेको साथै बस्दै आएको घरमा परिवारका कोही पनि सदस्य नरहेकोले ठगी गरी फरारको आशंकामा पीडितहरुले उनको खोजी गर्न सम्बन्धित निकाय र सञ्चारमाध्यममा गुहार मागिरहेका छन् । उनीविरुद्ध झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा ठगी सम्बन्धी उजुरी दिने तयारी गरिरहेको पीडित प्रकाश बोहोराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here