सरकार विहीनता असफलताको द्योतक नहोस्

0
39

कोशी प्रदेशको अप्ठ्यारो गणित र राजनीतिक दलहरुको असहिष्णु व्यवहारका कारण अविच्छिन्न रहनुपर्ने प्रदेश सरकार विवादित र अन्योलपूर्ण बनेको छ । राजनीतिक दलहरुको अक्षमताका कारण उत्पन्न यो परिस्थितिले अन्ततः प्रणालीलाई नै असफल सिद्ध गर्ने सम्भावना पनि बढेको छ । संघीयतापछिको दोस्रो कार्यकालसम्म आइपुग्दा संघदेखि प्रदेशसभाको सेवा प्रवाह, सुशासन र कानूनी राज्यको उपस्थिति क्रमशः क्षयोन्मुख छ । यसले खासगरी प्रदेश सरकारलाई ठूला दलहरुको कार्यकर्ता भर्ती केन्द्रका रुपमा स्थापित गर्न खोजेको आभाष दिलाएको छ । त्यसो त संघीयतापछिको दोस्रो कार्यकालमा कुनै दलले राज्य सञ्चालनको एकलौटी अधिकार पाएनन् । जनादेश नपाएका दलहरु गठबन्धन गरेरै भए पनि केन्द्रदेखि प्रदेशसम्मका सरकार सहभागी छन् ।

विश्वासको मत प्राप्त गर्न नसक्दा सरकारबाट बाहिरिएको एमाले कोशी प्रदेशको सर्वाधिक ठूलो दल हो । तर, सरकार गठनका लागि आवश्यक संख्या नभएकै कारण सत्ताबाट बाहिरिएको हिक्मत कार्की नेतृत्वको सरकार सर्वोच्चको आदेशपछि स्वतः सत्तामा फर्किएको बताइरहेको छ, तर प्रदेश प्रमुखले कुनै निर्णय नगरेकाले उसको पुनरागमन अनिश्चित छ । तत्कालीन मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन यथावत रहेको अवस्थामा बहुमतका लागि एक सिटको खाँचो छ भने काम चलाउ मुख्यमन्त्री थापालाई पनि एक सिट नै अपुग छ । त्यही कठिन अंकगणितका कारण अस्थिर बनेको कोशी प्रदेशको राजनीति देशकै राजनीतिलाई तरंगित पार्ने कारण बनियो भने त्यो तिनै दलहरुका लागि प्रत्युत्पादक हुनसक्छ ।

वर्तमान राजनीतिक परिदृश्यमा दलहरुको खिचातानी केवल सत्ता भोगको लिप्सा भएको प्रमाणित भएको छ । संघकै सत्ता लिप्साको रोग प्रदेशसम्म पुग्दा सर्वत्र अस्थिर सरकार गठन हुन पुगेका छन् । त्यसमा पनि अन्तिम समयमा नामकरण टुङ्ग्याएको कोशी प्रदेश सरकार यति छिट्टै अपदस्थ भई मध्यावधिको सम्मुख खडा भएको छ । यसले फेरि पनि देशलाई अस्थिरता र अनिश्चिततातर्फ धकेल्ने छ । त्यसकारण पनि ठूलो उपलब्धीका रुपमा लिँदै आएका दलहरुले राजनीतिक प्रणाली, संघीयता र संघीय संरचनालाई सबलीकरणलाई मूल लक्ष्य बनाउनुपर्छ । सत्ता, नेतृत्व र शक्तिको खिचातानीले जनतामा निराशा र निराशाले आक्रोश उत्पन्न गरायो भने दलहरुको अस्तित्व के हुन्छ, उनीहरुले सोच्नुपर्छ । कांग्रेस, एमाले, माओवादी जस्ता नेतृत्वमा रहेका दलहरु नै यसतर्फ गम्भीर होऊन् र पद्धतिको सुदृढीकरणमा लागून्, त्यही बुद्धिमानी पनि ठहरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here