मनोबल उठाउन राज्य अग्रसर होस्

0
122

पछिल्लो समय आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको छ । कोरोना संक्रमणको विस्तारसँगै खस्कदै गएको आर्थिक क्षेत्रको गतिविधिका कारण व्यवसायीहरु पलायन हुन थालेका हुन् । जुन क्रम आज पनि यथावत छ र धेरै देशहरुको कूल ग्रार्हस्थ उत्पादन घटेको छ । यसैबीच धेरैको रोजगारी गुमेको छ भने रोजगारीका लागि योग्य व्यक्तिले रोजगारी पाएका छैनन् । कतिले पदोन्नति लगायतका वृत्ति विकासको मौकालाई सदुपयोग गर्न पाएका छैनन् । त्यसकै असर हो कि यतिबेला देशमा अनेक नामका ठगी प्रकरणका समाचार समाचारपत्रका मुख्य स्रोत बन्ने गरेका छन् । यस्ता ठगीका घटनामा मिटरब्याजीदेखि लघुवित्त संस्था, व्यापारी–व्यवसायी, साहू महाजन वा अख्तियार प्राप्त व्यक्तिहरु यसबेला दोषी ठहरिने गरेका छन् ।

देशमा सञ्चालित उद्योगधन्दा होस् वा व्यापार–व्यवसाय अथवा श्रमजीवी जनता सबैको संरक्षण गर्ने दायित्व राज्य अर्थात् सरकारको हो । उद्योगी, व्यवसायी, किसान, मजदुर लगायत सबै वर्गको अभिभावक र संरक्षक भएकाले उनीहरुको पेशा–व्यवसायका साथै आममानिसको सम्पत्तिको सुरक्षा गर्ने दायित्व राज्य कै हो । तर, राज्य यसप्रति उदासीन भएकाले यतिबेला आर्थिक मन्दीको निहुँमा व्यवसायी, आर्थिक गतिविधि गर्ने क्षेत्रहरु लघुवित्त एवम् सहकारी संस्थाहरुबाट आम बचतकर्ता र त्यसमा जोडिएका व्यक्तिहरु ठगिन थालेका छन् । त्यसको उदाहरण हो मिटरब्याजीबाट पीडित, लघुवित्त र सहकारीबाट पीडित तथा स्थानीय साहू महाजनबाट पीडित हुनेहरुको प्रदर्शन, उजुर र आन्दोलनको कार्यक्रमहरु ।

आर्थिक मन्दीले विश्व नै प्रभावित छ । त्यसमा पनि विकासशील तथा विकासमा पछि परेका देशहरु सर्वाधिक पीडामा छन् । विश्व बैंकको प्रतिवेदनले पनि विश्वका ठूला कम्पनीहरुले पनि यही कारण कर्मचारी कटौती गर्न थालेको उल्लेख गरेको छ । कोरोनापछि रुस–युक्रेनको युद्धले आक्रान्त अर्थव्यवस्थामा परेको प्रभावको परिणाम हुन सक्छ कति सहकारी बचतकर्ताको बचत लिएर बन्द भएका छन् । बजारका साहूहरु आममानिसका पैसा लिएर फरार छन् । यही ठगीका उदाहरणमा थपिएको छ बिर्तामोडका खाद्यान्न व्यापारी करोडौं रुपैयाँ लिएर फरार भएको घटना । यसले आममानिसमा निराशा बढाएको छ, सरकारप्रतिको विश्वास टुटेको छ । भएका व्यापार–व्यवसाय र उनीहरुको कर्मप्रति अविश्वास बढाएको छ । सरकार, निजी क्षेत्र र सहकारी सबै एकैपटक अस्थिर भएका बेला आम जनताको जीवन–धनको सुरक्षा हुने कल्पना पनि गर्न सकिँदैन । सरकार निरीह बन्दै गएका बेला समस्याको पहिचान गर्ने र समाधानको उपाय खोजी गर्ने कुरा श्वैरकल्पना मात्र हुन्छ । यदि समाधान खोज्ने नै हो भने सबै क्षेत्रका मनोबल उठाउने किसिमको नीति निर्माण गरी आर्थिक मन्दीबाट मुक्त गर्ने उपाय खोज्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here