कर बृद्धिको विरोधमा बिर्तामोडमा दलहरु आन्दोलित

0
100

झापा ।

बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको नाममा नागरिकबाट चर्को राजश्व शुल्क लिएको भन्दै स्थानीय दलहरूका नगर समिति र सर्वसाधारणहरूले बिर्तामोड नगरपालिकामा कर शुल्क घटाउन माग गर्दै ज्ञापन–पत्र बुझाएका छन् ।

नारा जुलुससहित सोमबार नगरपालिका कार्यालय परिसरमा पुगेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रुपमा नगर प्रमुख पवित्रा महतरा प्रसाईँलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

२०७९÷०८०मा पाँचवटा कित्ताको जग्गा र घरको ४ हजार ५०० रुपैयाँ तिरेकोमा सोही घरजग्गाको यस वर्ष कर तिर्न जाँदा १२ हजार १५० रुपैयाँ लागेको र यस हिसाबले कर बढ्दा नागरिकहरू अत्यन्तै मर्कामा परेकोले कर समायोजन गर्न अल्टीमेटम दिँदै माग पूरा नभए सशक्त आन्दोलन गर्ने नेपाली कांग्रेस नगरसभापति भोजराज सिटौलाले नगर प्रमुख प्रसाईँसहित जनप्रतिनिधिहरूलाई चेतावनी दिएका छन् ।

बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१का लागि लागू गरेको एकीकृत सम्पत्ति करको अस्वाभाविक वृद्धि प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले बताएकी छन् । उनले भनिन्– ‘कोरोना कहरपछि बल्लतल्ल तंग्रिएको जनजीवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विकराल समस्याको रुपमा आएको आर्थिक मन्दीले जनजीविकाको हकमा हातमुख जोर्न समस्यामा रहेका बिर्तामोड नगरवासीलाई ३५ प्रतिशत करवृद्धिको नाममा ६०देखि ३०० प्रतिशतसम्म कर वृद्धि गरी असुलउपर गर्ने कार्यप्रति दलहरूको गम्भीर आपत्ति रहेको छ ।’

यस वर्ष लागू गरिएको अवैज्ञानिक करलाई खारेज गरी ७ दिनभित्रमा साविक करलाई नबढ्ने गरी लागू गराउन दलका नेताहरूले माग राखेका छन् । ज्ञापन–पत्र बुझेपछि नगर प्रमुख प्रसाईँले सम्बोधन गर्दै भनेकी छन्– ‘नगरपालिकाले हरेक वर्ष अवस्था अनुसार न्यूनतम् कर बढाउँदै जाने ऐन नै बनेको छ । जग्गा वर्गीकरण हुँदा सबै नागरिकले हाम्रो जग्गा कृषिमा नभएर आवासमा राखिनुपर्ने माग राख्नुभयो, उक्त मागलाई नगरमा सर्वपक्षीय छलफल गरेर आवासमा राख्न मिल्ले बनाइयो ।

माथिबाट आवासको लागि छुट्टै कर ऐन बनेर आयो हामीले सोही ऐनको आधारमा कर निर्धारण गरेको हो । अब नगरपालिकाले चाहेर पनि कर संशोधन गर्न नसक्ने बाध्यता रहेको छ । कर कम गराउन जग्गालाई कृषि क्षेत्रमा वर्गीकरण गर्नुपर्ने हुन्छ, त्यो प्रक्रिया पूरा गर्न पनि फेरि पुरानै अवस्थाबाट वर्गीकरणको काम गर्नुपर्ने हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here