लक्ष्मी उप्रेती,
मेचीनगर ।

मेचीनगर– ११ की देवका भण्डारी कपडाको ब्याग बनाउने (सिलाइ–कटाइ)तालिम लिएपछि अब व्यवसायिक बन्ने योजनामा छिन् । गाउँमा बसेर सिप नसिक्दा वेरोजगार बन्नुपरेको उनको पीडा अब अन्त्य हुने अवस्थामा छ । हातमा सिप भएपछि उनी अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजनामा रहेको बताउँछिन् ।
उनी जस्तै मेचीनगर–१५ की रश्मी श्रेष्ठ सिप सिकेपछि आत्मनिर्भर बन्ने बाटोमा लाग्ने योजना रहेको बताउँछिन् । धेरै सिप सिक्न बाँकी रहेको भए पनि अहिले धेरैजना विभिन्न तालिम लिए पश्चात आत्मनिर्भर बन्ने बाटोमा लागेको उनको भनाइ छ । झापाको मेचीनगर नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न समयमा उद्यमशिलता विकास तालिम (व्यवसाय सचेतना शुरु लैङ्गिक समानता तथा सामाजिक समावेशकिरण तालिम) प्रदान गरेपछि देवका र रश्मी मात्र होइन नगरका १५ वटै वडाका निक्कै महिला पछिल्लो समय व्यावसायिक बन्ने योजनामा छन् ।
मेचीनगरको वडा नम्बर ३, ५, ७, ८, ११, १४ र १५ का कपडा झोला बनाउने आधारभूत र एडभान्स तालिम लिएका धेरै महिलाहरु व्यावसायिक बन्ने बाटोमा छन् । महिलाहरूलाई सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन मेचीनगर नगरपालिकाले प्रत्येक वडा–वडाहरुमा सिपमूलक तालिम सञ्चालन गर्दै आएको छ । केही समय अघिसम्म कमाइ नहुँदा घरपरिवारको गुजारा चलाउन निकै गाह्रो हुन्थ्यो । आर्थिक उपार्जनका लागि उनीहरुले सिपमूलक तालिम लिएपछि अहिले उनीहरुलाई परिवार चलाउन सहज भएको प्रतिक्रिया दिएका छन् ।
दुई–चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका झापा मेचीनगरका महिला हिजोआज विभिन्न सिप सिकेर स्वावलम्बी बन्दै गएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको भनाइ छ । (कपडाको ब्याग बनाउने) सिलाइ–कटाइ, मौरीपालन तथा कृषि लगायतका विभिन्न सिपले मेचीनगरका महिला तथा पुरुषलाई आत्मनिर्भर बनाएको नगर प्रमुख बुढाथोकीको भनाइ छ । मेचीनगर– १ का मञ्जिल देवान, फणिराज आचार्यले मेचीनगर नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न समयमा उद्यमशिलता विकास तालिम (व्यवसाय सचेतना शुरु लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम) अन्तर्गत एक हप्ते मौरीपालन तालिम लिएपछि आफूलाई निक्कै राहत मिलेको अनुभव सुनाए । उता कृषि तालिम लिएका मेचीनगर—८ का लक्ष्मी फूयाँलले तालिम निकै फलदायी भएको प्रतिक्रिया दिए ।
उनीहरूलाई सिपसँगै सिलाइ–कटाइ मेसिनसहित अन्य (प्रविधि) सामग्री उपलब्ध गराएर व्यवसायिक बन्न प्रेरणा प्रदान गरेको नगर उपप्रमुख मीना पोखरेल उप्रेती बताउँछिन् । यसले उनीहरुको व्यवसाय सहज हुने उपप्रमुख उप्रेतीको विश्वास छ । मेचीनगर नगरपालिका परिसरमा आयोजित प्रमाणपत्र तथा (प्रविधि) सामग्री हस्तान्तरण कार्यक्रममा लागत सहभागितासहित छ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको प्रविधि हस्तान्तरण गरियो ।
नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, कार्यपालिका सदस्य तीलजा देवान आर्थिक शाखा प्रमुख दीपेन्द्र कार्की लगायतले ३४ वटा सिलाइ मेसीन, एउटा ‘कम्माइन राइस मिल’ १५ वटा मौरी कीट हस्तान्तरण गरेका थिए ।
सिप सिकेपछि आत्मनिर्भर बन्ने बाटोमा लागेका अधिकांश महिलाहरु मेसिन प्राप्त गरेपछि गाउँमै बसेर काम गर्न सकिने बताउँछन् । नगरपालिकाले वेरोजगार हरूलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत सिपमूलक तालिम दिइएको नगर प्रमुख बुढाथोकीको भनाइ छ । ‘नगरपालिकाले तालिम मात्रै दिँदैन व्यावसायिक बनाउने योजनासहित काम गरिरहेको छ’ –उनले भने– ‘त्यसैका लागि नगरपालिकाले सिपसँगै लाखौँ रुपैयाँ मूल्य बराबरका सिलाइ–कटाइ मेसीनसहित अन्य (प्रविधि) सामग्री हस्तान्तरण गरेको हो । नगरपालिकाले यो सबै उनीहरुकै माग निवेदनका आधारमा उपलब्ध गराएको हो । अब मेसिन प्राप्त भएपछि गाउँमै बसेर काम गर्न सकिने भण्डारीको भनाइ छ ।
दाम पनि हुने र फुर्सदको समय सदुपयोग हुने भएपछि मेचीनगरका अधिकांश महिलाहरुले विभिन्न पेशा अँगाल्नु भएको छ । यस्ता व्यवसायले महिलालाई काम पनि पुग्ने र आयआर्जन पनि बढाउने भएकाले यस्तै व्यवसायबाट मासिकरुपमा आम्दानी हुने गरेको उद्यम विकास सहजकर्ता आश्विनीकुमार भट्टराई बताउँछन् । यस्ता व्यवसायबाट दाममात्र नभई फुर्सदको समय सदुपयोग भएको उनी बताउँछन् ।
हातमा सिप भयो भने महिलालाई परनिर्भरमा सीमित रहन नपर्ने उनको भनाइ छ । हातमा सिप भयो भने आत्मनिर्भर बन्न सकिने कार्यक्रमका फोकल पर्सन दिपेन्द्र कार्कीको भनाइ छ । कपडाको ब्याग बनाउनेदेखि कृषि र मौरीपालनको तालिम लिएर शुरु गरेको व्यवसायले धेरैलाई आत्मनिर्भर बनाएको कार्कीको दाबी छ । उनले भने– ‘अब घरमै बसेर सिकेको सिप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छु ।’ यो सिपले आफू जस्ता धेरै महिलाको जीवनस्तरमा सुधार ल्याएको उनको भनाइ छ । यस्ता तालिमले थुप्रै मलिहाहरलाई व्यावसायिक बन्न प्रेरित गरेको उनले बताए ।
सिकेको सिप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने बताउँदै बुढाथोकीले सीप सिकेर मात्र हुँदैन उत्पादन गरी त्यसलाई बिक्री पनि गर्न सक्नुपर्दछ बजारको व्यवस्थापन स्थानीय सरकारले गर्ने बताए । मेचीनगर नगरपालिकाभित्रका वेरोजगार महिलाहरुलाई कुनै न कुनै सिप सिकेर स्वरोजगार बन्न उनले आग्रह गरे । गरीब तथा विपन्न वर्गका महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यस प्रकारका तालिम महत्वपूर्ण हुने भएकाले स्थानीय सरकारले करोडौं रुपैयाँ खर्चेर महिला सिप विकास केन्द्र निर्माण गरी सञ्चालनको अन्तिम तयारीमा रहेको उपप्रमुख उप्रेतीको भनाइ छ ।
कुनै बेला श्रीमानसँग हात थापेर गुजारा गर्ने मेचीनगरका महिलाहरूलाई आर्थिक रूपमा आफैं सबल बनाउन स्थानीय सरकार लागि परेको बताउँदै उनले अर्थले मान्छेको जीवनमा ठूलो प्रभाव पार्ने, मानिसहरु पनि समाजमा आर्थिकरूपमा सक्षम बन्दै जाने, आफूहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग गर्नेप्रति उनीहरू खुशी हुने बताए । पछिल्ला दिनमा हरेक क्षेत्रका महिला आत्मनिर्भर हुँदै आएकोमा यहाँका महिलाले गरेका उत्पादनका कामले अरू पनि प्रभावित भएको उनको भनाइ छ । उनले सिपलाई व्यवसायीकरूपमा अगाडि बढाउन महिलालाई आग्रह गरे ।































