काठमाण्डौं ।

चार वर्षअघि चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा सामेल हुनु ‘हतारमा लिइएको र विनाशकारी’ निर्णय थियो। यो भनाइ इटलीका रक्षामन्त्रीको हो।
आइतबार इटलीका रक्षामन्त्री गुइडो क्रोसेटोको एक अन्तर्वार्ता प्रकाशित भयो जसमा उनले चीनको यस परियोजनामा सामेल हुनु ‘विनाशकारी निर्णय’ भएको बताए।
उनले यसको कारण पनि भने र यो निर्णयले देशको निर्यात नबढाएको बताए।
गुइडो क्रोसेटोले ’कोरियरे डेला सेरा’ अखबारसँग भनेका छन्, ’नयाँ सिल्क रोडमा सामेल हुने निर्णय हतारमा लिइएको र विनाशकारी कदम थियो।’ जसका कारण इटलीमा चीनको निर्यात कैयौं गुणा बढ्यो, तर चीनमा इटलीको निर्यातमा यसको त्यति प्रभाव परेन।
तर, हालै चीनले भने दुवै देशले यस परियोजनाको ‘लाभकारी नतिजा’ पाइरहेको बताएको थियो।
इटलीका रक्षामन्त्रीले चीनसँगको सम्बन्धमा असर नपर्ने गरी यो योजनाबाट कसरी पछि हट्ने भन्ने आजको महत्त्वपूर्ण विषय भएको बताए।
उनले भने, ‘यो सत्य हो कि चीन हाम्रो प्रतिस्पर्धी हो, तर साझेदार पनि हो।’
उनले पछिल्लो समय चीनले अन्तर्राष्ट्रियस्तरमा थप आक्रामक मनोवृत्ति अपनाइरहेको बताए।
यस्तो अवस्थामा टलीले कुनै प्रतिकूल परिणामबिना यो सम्झौताबाट बाहिरिने विचार गर्नुपर्ने उनको मत छ।
बीआरआई खारेजकाे प्रस्ताव राख्न इटलीकी प्रधानमन्त्री चीन जाँदै
बिहीबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो सरकारसँग बीआरआई मामिलामा निर्णय गर्न डिसेम्बरसम्मको समय रहेको बताइन्।
यसका साथै उनले छिट्टै चीन भ्रमण गर्ने घोषणा पनि गरिन्।
शनिबार टीजी५ इटालियन समाचार कार्यक्रमसँगको एक अन्तर्वार्तामा मेलोनीले इटली बीआरआइको हिस्सा हुनु एक विरोधाभाष भए पनि इटली जी७ समूहको त्यस्तो देश नभएको बताइन् जसको चीनसँग सबैभन्दा बलियो व्यापार सम्बन्ध होस्।
‘यसबाट थाहा हुन्छ कि बीआरआईबाहेक पनि राम्रो सम्बन्ध र व्यापार साझेदारी हुन सक्छ,’ उनले भनिन्।
कसरी भयो चीन-इटलीबीच सम्झौता?
इटलीको अघिल्लो सरकारले २०१९ मार्चमा बीआरआई परियोजनाका लागि चीनसँग सम्झौता गरेको थियो। त्यसो गर्ने यो एक मात्र विकसित पश्चिमी देश थियो।
सन् २०१८ मा इटालीका अर्थमन्त्री जियोभानी ट्रियाको चीन भ्रमणपछि इटलीले यसमा सामेल हुने निर्णय गरेको थियो। तर, इटलीको यो निर्णयको अमेरिका, युरोपेली संघ र पश्चिमका अन्य सहयोगीहरूले आलोचना गरेका थिए।
सोही वर्षको मे महिनामा इटालीकी नयाँ प्रधानमन्त्री जर्जिया मेलोनीले इटलीको यस सम्झौताबाट बाहिरिने चाहना रहेको संकेत गरेकी थिइन्। उनले बीआरआइ रपरियोजनाबाट बाहिरिएपछि पनि चीनसँग राम्रो सम्बन्ध राख्न असम्भव नभएको बताएकी थिइन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार यदि दुई पक्षहरूमध्ये एकले अर्कोलाई कम्तीमा तीन महिनाअघि यो सम्झौता खारेज गर्न चाहेको जानकारी दिएमा सम्झौता मार्च २०२४ समाप्त हुनेछ, अन्यथा त्यसपछि पनि स्वतः नवीकरण अर्थात् स्वतः लागू हुनेछ।
उनले आफ्नो चुनावी अभियानमा यसअघि पनि भनिसकेकी छन् कि इटली मात्र एक यस्तो जी७ देश हो जुन बीआरआइको हिस्सा छ। चीनलाई इटली वा युरोपमा परियोजना विस्तार गर्न दिन नचाहेको उनको भनाइ थियो।
के हो बीआरआई परियोजना?
बीआरआई परियोजनाको अवधारणा ऐतिहासिक कालको सिल्क रूट (रेशम मार्ग) पुनर्निर्माण गर्ने विचारमा आधारित छ। यसमार्फत एसियामा रहेको चीनलाई युरोप र अन्य मुलुकसँग जोड्ने योजना छ।
१३० ईसा पूर्वदेखि १४५३ सम्म अर्थात् करिब १,५०० वर्षसम्म पूर्वी एसिया र युरोपका देशहरूका लागि व्यापारीहरूले यिनै मार्गहरूको प्रयोग गर्दथे।
सिल्क रूट कुनै एक सडक वा बाटो थिएन, यो बाटाहरूको सञ्जाल थियो जसमार्फत व्यापार मात्र नभई संस्कृतिको आदानप्रदान पनि हुन्थ्यो।
करिब ६ हजार ४३७ किलोमिटर लामो यो मार्ग गोबी मरूभूमि र पामिर पहाडजस्ता विश्वका कैयौं दुर्गम मार्गहरूसम्म फैलिएको थियो।
सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनपिङले यस ऐतिहासिक व्यापार मार्गको पुनर्निर्माणको परिकल्पना गरी बेल्ट एन्ड रोड इनिसियटिभको सुरूवात गरेका थिए। चीनको यो विश्वव्यापी लगानी परियोजना सुरू भएको एक दशकभित्र अफ्रिका, ल्याटिन अमेरिका, ओशिनियासम्म फैलिएको छ।
यसअन्तर्गत चीनले विश्वभरका यस्ता ठूला पूर्वाधार परियोजनामा लगानी गर्छ जसबाट सामान ढुवानी गर्न सम्भव होस्।
चीनका आलोचकहरू भने यो महत्त्वाकांक्षी योजनालाई चीनले भूराजनीतिक र आर्थिक प्रभाव बढाउने प्रयासमा हतियारका रूपमा प्रयोग गरिरहेको बताउँछन्।































