
आज हामी विज्ञानको युगमा छौं । विज्ञानले एकातिर मनुष्य जातिलाई सुविधासम्पन्न बनाएको छ भने अर्कोतिर मानिसले यसको दुरुपयोग गरेर गलत खानपिन, गलत रहनसहन र महत्वकांक्षाको दल–दलभित्र आफूलाई फसाएको छ । फास्टफुड तयारी खाना, अल्कोहल, मादक पदार्थ, विषादिले भरिएको अन्न, तरकारी र फलफुलको प्रयोगबाट हामी सम्यक र सन्तुलित आहारबाट वञ्चित भएका छौं ।
मोबाइल जस्ता उपकरणको अत्यधिक प्रयोग गरेर हामीले हाम्रो मस्तिष्कलाई रूग्ण र विकार ग्रसित बनाएका छौं । हृदय र नाभी केन्द्रले गर्ने प्रेम र प्रार्थनालाई पनि हामी मस्तिष्कबाट नै गर्ने गर्छौं । यति महत्वपूर्ण मनुष्य जीवनलाई पाएर पनि हामीले बाच्ने कला नै बिर्सिदिएका छौं । सुख र आनन्दलाई हामी भौतिक साधनहरुमा खोज्ने गर्छौं र आफ्नो स्वयम्को सत्तालाई बिर्सिएर हामी सम्पूर्ण जीवन ऊर्जालाई नै बाहिर लगाइरहेका हुन्छौं । हाम्रो जीवनको केन्द्र आज सम्पत्ति र पद–प्रतिष्ठा भएको छ । हामीले कहिले पनि आनन्द र विश्राम स्वयम्मा नै उपलब्ध हुन्छ भन्ने कुरालाई जानेनौं ।
सम्यक भोजन, सम्यक विश्राम र सम्यक निद्राको अभावमा हामीले हाम्रो जीवनलाई अस्तब्यस्त र मानसिकरुपले नै रुग्ण बनाएका छौं । आज अमेरिका जस्तो सम्पन्न देशमा पनि प्रत्येक तीन जना व्यक्ति बराबर एक जनालाई मानसिक चिकित्साको आवश्यकता पर्न थालेको छ । हामीले बेलैमा यसमा सचेत नबन्ने हो भने भविष्य हाम्रो दिनदिनै अन्धकारतर्फ जाने निश्चित छ । आजको युगको जर्जर अवस्थाबाट मुक्त बन्नका लागि मेडिटेशन (ध्यान)भन्दा अर्को अचुक औषधि छैन । बृद्ध पुरुषले खास गरेर ओशोले सम्पूर्ण मनुष्य जातिका लागि सयौं ध्यानका विधिहरु दिनुभएको छ । शरीरलाई स्नान गरेर सफा गर्न त हामीले जानेका छौं । तर, मनको सफाई गर्ने कुरालाई चाहिँ बिर्सिएका छौं । ओशोको नो–माइन्ड थेरापीको प्रयोगले हामीलाई अशान्ती, तनाव, अनिन्द्रा र डिप्रेसन जस्ता समस्याबाट मुक्त गरी दिनेछ । सभ्यताका नाममा हामीले भावाबेगहरुलाई दमन गरेर राखेका छौं न हामी प्रेमलाई खुला रूपमा अभिव्यक्त गर्न सक्छौं न रिसलाई कसैमाथि पोख्न सक्छौं ।

यो थेरापी भनेको पुरानो ध्यान प्रविधि र आधुनिक मनोवैज्ञानिक थेरापीको संयोजन हो । यसले व्यक्तिलाई तुरुन्तै अस्तब्यस्त प्रवाहबाट मुक्त भएको माइण्डको अवस्था अनुभव गर्न मद्दत गर्न सक्छ । यो ध्यानले लगातार चलिरहेको विचारहरुलाई दबाउनुको सट्टा बाहिर निकाल्न मद्दत गर्छ । यसले तपाईंलाई खाली र मौन हुन मद्दत गर्छ । यो थेरापीले जति नै तनावमा भए पनि काम गर्छ । मनलाई धेरै सोच्न र चिन्ता गर्नबाट रोक्छ । दिमागलाई प्रभावकारी रूपमा आराम गर्न सिकाउँछ र रातमा राम्रोसँग सुत्न सकिन्छ ।
यो ‘नो माइन्ड थेरापी’ ध्यान शिविर यही मिति साउन २४ गतेदेखि ३१ गतेसम्म सम्म नेपालको पूर्वमा अवस्थित अति नै रमणीय चिया बगान र हरियो पहाडहरुले घेरिएको चिसो शितल ठाउँ हर्कटेमा सञ्चालन हुन गइरहेको छ । पूर्वको बिर्तामोडबाट चारआली हुँदै इलाम जाने बाटोमा कन्याम नपुग्दै आश्रम अवस्थित छ । शारीरिक र मानसिक थकानबाट मुक्त भई नयाँ जोस, जाँगर र ध्यानको गहिराइमा पुग्न यो ध्यान शिविरमा सबैमा हार्दिक आमन्त्रण गर्दछौं ।


























