डेंगु नियन्त्रणमा जिम्मेवार बन

0
46

डेंगु संक्रमणले महामारीको रुप लिने लक्षण देखिन थालेको छ । हिजो अर्थात् शुक्रबारसम्ममा झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा मात्रै दुई जनाको डेंगुकै कारण मृत्यु भइसकेको छ भने संक्रमण विस्तार भइरहेको सम्बद्ध संस्थाहरुले जानकारी दिएका छन् । गाउँ–गाउँमा सिंहदरवार पु¥याएको दाबी गर्ने संघीय सरकार तथा स्थानीयबासीको दुःख–सुखको साथी भनिने स्थानीय सरकार डेंगु संक्रमणले हुनसक्ने क्षतिप्रति थोरै पनि संवेदनशील, गम्भीर र जिम्मेवार देखिएको छैन ।

त्यसो त डेंगु संक्रमणको समस्या सरकारले निम्त्याएको होइन, तर त्यसलाई नियन्त्रण गर्नेतर्फ उसको अग्रसरता र जिम्मेवारीबोध अनुभूत गर्न पाइएको छैन । सुनसरीको धरान उपमहानगरपालिकालाई डेंगु संक्रमणको ‘हट स्पट’ भन्दै आइएकोमा अब झापाका बिर्तामोड, दमक, शिवसताक्षी, गौरादह, भद्रपुर, गौरीगञ्ज, बाह्रदशी लगायत पालिका क्षेत्रहरु पनि जोखिमपूर्ण क्षेत्र भइसकेका छन् । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाँईका अनुसार झापामा साउनको दोस्रो सातासम्ममा दुई सय ३८ जनामा संक्रमण देखिएको थियो । त्यसयता गरिएका परीक्षणमा पनि डेंगु संक्रमितहरुको संख्यामा बिस्तार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले सन् २०२२ मा झापामा झण्डै अन्ठाउन्न हजार डेंगु संक्रमित रहेको बताए । ती मध्ये अठासी जनाको मृत्यु भएको थियो । स्थिर पानीमा मौलाउने एडिस जातको लामखुट्टेले टोकेर हुने डेंगुको संक्रमणलाई महामारी बन्न नदिन प्रथमतः स्थानीय सरकारको भूमिका र जिम्मेवार हुनुपर्छ । तर, दुई जनाको मृत्यु भइसक्दा पनि बिर्तामोड नगरपालिका निदाएरै बसेको छ । संक्रमण रोक्न, सचेतना लगायत सरसफाई कार्यक्रम सञ्चालन गर्न अग्रसर भएको छैन ।

बर्सेनि संक्रमणले महामारीको रुप लिनुका पछि बढ्दो शहरीकरण मुख्य जिम्मेवार छ । जनघनत्वको वृद्धि र तीव्र शहरीकरणले फोहर उत्सर्जन अव्यवस्थित हुने भएकाले त्यसलाई रोक्न स्थानीय सरकारकै प्रमुख भूमिका हुनुपर्छ । फोहरकै कारण डेंगु सार्ने लामखुट्टे जन्मिने भएकाले आफूद्वारा उत्सर्जित फोहर आफैंले व्यवस्थित गर्नुपर्छ । स्वयम्को सचेतना र सजगतासँगै स्थानीय सरकारको जिम्मेवार भूमिकाले मात्र यस्ता महामारी नियन्त्रण गर्न सकिन्छ । त्यसैले यस्ता लामुखट्टे जन्मिन सक्ने ठाउँको पहिचान गरी त्यसको व्यवस्थापनमा लाग्न स्थानीय सरकारले ढिलो नगरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here