पाल्पामा एक वर्षमा एक सय ४३ फर्म खारेज

0
33

रामपुर,

पाल्पामा गत आर्थिक वर्षमा एकसय ४३ उद्योग खारेज भएका छन् । आव २०७९÷८० मा उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव २०७८÷७९ मा एक सय ८८ उद्योग र दुईसय ३९ फर्म खारेजी भएको थियो ।

प्रदेश सरकारले जारी गरेको कानुनबमोजिम रु पाँच लाखभन्दा कम पूँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा दर्ता भई सञ्चालनमा आएका उद्योग, व्यवसाय लगतकट्टा गरिन थालिएको छ । कार्यालयले पनि सम्बन्धित उद्योगी, व्यवसायीलाई दोहोरो करको मारमा नपरुन् भनी जानकारी गराउँदै आएको छ ।

रु पाँच लाखसम्मका उद्योग तथा व्यवसाय स्थानीय तहमा नै दर्ता हुने व्यवस्था आएपछि कार्यालयमा अगाडि नै दर्ता भएका (नयाँ व्यवस्था आउनुअघि) उद्योग, व्यवसाय स्थानीय तहमा नै सारेकाले कार्यालयबाट खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।

“स्थानीय तहमा नै रु पाँच लाखसम्म उद्योग, व्यावसाय दर्ता गर्ने नयाँ व्यवस्था लागू भएपछि पछिल्ला वर्षमा घरेलु कार्यालयबाट सारेर सम्बन्धित स्थानीय तहमा लैजाने गरिएको छ”, उहाँले भन्नुभयो, “यसले उद्योगी, व्यवसायीले दोहोरो कर (स्थानीय तह तथा घरेलु तथा साना उद्योग कार्यालयमा) बुझाउनु परेन ।”

रु पाँच लाखसम्म मात्रै उद्योग, व्यवसाय दर्ता गरेका केही व्यवसायीले भने पुँजी बढाएर घरेलु कार्यालयमा नै नविकरण गरी सञ्चालन गर्दै आएका छन् । व्यवसाय बढाउन नचाहनेले आफ्नै स्थानीय तहमा स्थानान्तरण गर्ने गरेको पाइएको छ । केहीले नयाँ व्यवस्थाबारे प्रष्ट नहुँदा रु पाँच लाखसम्म दर्ता भएका उद्योग, व्यवसायको घरेलु तथा साना उद्योग कार्यालय एवां स्थानीय तहमा नै दोहोरो कर बुझाएको पाइन्छ । नयाँ व्यवस्थाबारे अध्ययन र चासो नदिँदा सम्बन्धित उद्योगी, व्यवसायीले दोहोरो कर बुझाउनु परेका विषयमा आफू मारमा परिरहेको गुनासो गर्ने गरेका छन् ।

आव २०७९÷८० मा उद्योगतर्फ दुई सय १३ र वाणिज्य फर्मतर्फ एक सय ८४ गरी तीन सय ९७ नयाँ फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग विकास अधिकृत देवीराम भण्डारीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष उद्योगतर्फ उत्पादनमूलक १९, कृषि तथा वनजन्य एक सय ३३, पर्यटनमा ३६ र सेवामूलक २५ उद्योग नयाँ दर्ता भएका छन् ।

“नयाँ व्यवस्था लागू भएपछि साना उद्योग, व्यवसाय (रु पाँच लाखसम्मका) दर्ता, नवीकरणका लागि स्थानीय तहमा अधिकार दिएपछि धेरै सहज भएको छ, नयाँ व्यवस्था लागू भएका सुरुका वर्षमा उद्योगी, व्यवसायीले झट्ट नबुझ्दा समस्या भएको हो, अहिले कार्यालयले पटकपटक यसबारेमा जानकारी गराएपछि स्थानान्तरण गर्न थाल्नुभएको छ”, उहाँले भन्नुभयो ।

कार्यालयबाट आव २०७८÷७९ मा उद्योग पाँच सय २१ र वाणिज्यतर्फ तीन सय ७१ गरी आठसय ९२ नयाँ फर्म दर्ता, आव २०७७÷७८ मा छ सय १९ उद्योग र तीन सय ८३ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये अधिकांश निजी उद्योग छन् भने केही साझेदारी र प्रालि छन् । आव २०७९÷८० मा कार्यालयले नयाँ फर्म दर्ता, नवीकरण, पूँजी वृद्धिबाट उद्योगतर्फ रु १९ लाख ४६ हजार एक सय ६४ र वाणिज्यतर्फ रु २६ लाख २० हजार तीन सय ७८ गरी रु ४५ लाख ६६ हजार पाँच सय ४२ राजस्व सङ्कलन गरेको छ ।

जिल्लामा कृषि तथा वनजन्य उद्योग नै बढी सञ्चालन हुने भएकाले साना लगानीमा सञ्चालन हुने ती उद्योग अहिले स्थानीय तहमा नै दर्ता हुँदै आएका छन् । पाल्पामा हाल उद्योगतर्फ तीन हजार नौ सय एक र वाणिज्यतर्फ चार हजार चार सय २० व्यवसाय घरेलुमा दर्ता भएर सञ्चालनमा छन् ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योगमात्र दर्ता गर्न पाउने अधिकार रहेको छ । रु १० करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, रु दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र रु २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । रु १० करोड माथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here