छोराभन्दा आमा दुई वर्ष मात्रै जेठी !

0
42

बझाङ,

आफैंलाई जन्म दिने आमाभन्दा छोराको उमेर दुई वर्ष मात्रै कम हुन्छ भन्दा अनौठो लाग्न सक्छ। बझाङको थलारा गाउँपालिका–३ कुचकी आमा जलादेवी दमाईंभन्दा छोरा बिर्खु दमाईंको उमेर दुई वर्ष मात्रै कम पाइएको छ।

आमा जलाको जन्म २०३८ साल माघ ३ गते लेखिएको छ भने छोराको २०४० जेठ ३ गते लेखिएको नागरिकता भेटिएको हो। जलाले अहिले आफू ६६ वर्ष पुगेको बताइन्।

अहिले ४२ वर्ष मात्र भएको नागरिकताका कारण वृद्धभत्ता समेत नपाएपछि मात्र नागरिकतामा छोराभन्दा दुई वर्ष जेठी भएको थाहा पाइएको बताइन्। २०६३ सालमा गाउँमा गएको घुम्तीटोलीले आफ्नो नागरिकता बनाइदिएको उनको भनाइ छ।

२०६३ साल चैत २४ गते गएको टोलीले आमा र २०५९ साल चैत ११ गते छोराको नागरिकता बनाइएको थियो। टोली प्रमुख विजयराज बडुले आमाको र हीरालाल चौधरीले दिएको नागरिकतामा उक्त त्रुटि भेटिएको हो।

‘६६ वर्ष पुग्दा पनि वृद्धभत्ता पाइएन। त्यो वेला यति वर्ष भयो भनेर मुखले भनेँ साल याद नभएर साल भनिनँ। कति साल पो हालिदियो।’ वृद्धा जलाले भनिन्, ‘कसलाई भनेर मिलाउन पाइन्छ। सहयोग गरिदिनुपर्‍यो।’

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले छोराको नागरिकता बनाउँदा उक्त विषयमा ध्यान दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘त्यो समस्या लिएर अस्ति यता पनि आउनु भएको हो। त्यसमा प्रशासनको कुनै गल्ती देखिदैन। छोराको नागरिकता बनाउँदा त्यो विषयमा ध्यान दिनुपर्ने हो। त्यही पनि हामीले सिडियो साबसँग छलफल गर्न बाँकी छ। उहाँले छोराको नागरिकता बनाउँदा बुवाको मात्रै नागरिकता पेश गरेकाले यस्तो समस्या आएको हो। उहाँलाई बुवाको नागरिकता ल्याएर आउन भनेका छौं। कसरी हुन्छ। मिल्ने खालको समस्या भएपछि समाधान गर्छौं।’-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here