फलफूल व्यवसायी समस्यामा

0
36

कञ्चनपुर, 

शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार वर्षाको पानीले डुबानमा पर्दा फलफूल व्यवसायीको विजोग भएको छ । वर्षाको पानीको उचित निकास नहुँदा दुई महिनादेखि बजार क्षेत्र डुबानमा परेको छ ।

पसलसम्म वर्षाको पानी भरिएपछि व्यवसायी मर्कामा परेका हुन् । खोका छाप्रा राखेर दुई दशकदेखि कलुवापुर बजार छेउमा फलफूल बेच्दै आउनुभएका नारद जोशी व्यापार नहँुदा निकै निरास हुनुहुन्छ ।

“वर्षाको जमेको पानीमा ग्राहकले खुट्टा हाल्नै मान्दैनन्”, उहाँले भन्नुभयो, “ग्राहकलाई जुत्ता, चप्पल भिज्ने डर हुन्छ, त्यै भएर पसलसम्म पुग्दैनन् ग्राहक पसलसम्म नपुगेपछि व्यापार हुने कुरै भएन ।” बेच्नका लागि पसलमा राखेका फलफूल कुहिन थालेको उहाँले बताउनुभयो । फलफूल बिक्री नहुँदा कुहिएर रु ६० हजार बढीको घाटा बेहोर्नुपरेको उहाँको भनाइ रहेको छ । बजारमा फलफूल सुदूरपश्चिमको पहाडी क्षेत्र र भारतबाट बेच्नका लागि व्यापारीले ल्याउने गरेका छन् ।

“बजार डुबानमा नपर्दा पहिले दैनिक रु पाँच हजारदेखि रु १० हजारसम्मको फलफूल बिक्री हुने गरेको थियो”, अर्का व्यापारी धौलसिंह विष्टले भन्नुभयो, “हाल मुस्किलले रु आठ÷नौ सयको पनि बिक्री हुँदैन, पूर्वपश्चिम राजमार्गसँगै जोडिएको क्षेत्र हँुदा पनि डुबानमा परेको बजार क्षेत्रको पानी निकासका लागि कुनै निकायले चासो नदेखाउँदा वर्षौंदेखि फलफूलको पसल राखेर व्यापार गर्दै आएका व्यापारीले पेसा पलायन हुनुपर्ने अवस्था आएको छ ।”

कलुवापुर बजार जिल्लाकै फलफूल बिक्री हुने मुख्य बजारका रुपमा रहेको छ । पूर्वपश्चिम राजमार्गसँगै यस क्षेत्रबाट जिल्लाको दक्षिणी क्षेत्र जाने कलुवापुर बेलौरी राजमार्ग छुट्टिने गरेको छ । चौराहका रुपमा रहेको कलुवापुर बजारमा रहेको पसलबाट ग्राहकले फलफूल खरिद गरी लग्ने गरेका छन् ।

कलुवापर चौराहमा मात्रै फलफूलका ५० बढी पसल रहेका छन् । बढी वर्षा भएका बेला पानी पसलभित्रै पस्ने गरेको व्यापारीको गुनासो रहेको छ । “पसलमा राखेका फलफूल बिक्री हुनै छाडेको दुई महिना बित्नै लागेको छ”, जयबहादुर विष्टले भन्नुभयो, “पसलभित्रै पानी पस्दा भण्डार गरेर राखेका फलफूल कुहिएर निकै नोक्सानी हुन थालेको छ, दैनिक व्यापारीले डुबानकै कारण रु दुई लाख बढीको नोक्सानी बेहोर्दै आएका छन् ।”

फलफूल व्यापारीजस्तै खाजा नास्ता पसल सञ्चालन गरेर बसेका व्यवसायीको पनि गुनासो रहेको छ । ग्राहक नआउँदा पसलनै बन्द गरेर जानुपर्ने अवस्था आएको अक्कलबहादुर विष्ट बताउनुहुन्छ । “ग्राहक आउने प्रतीक्षामा दैनिक चाउमिन, समोसा, जेरीलगायत बनाएर बेच्नका लागि राख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “थोरै मात्रै ग्राहक आउँदा आधाभन्दा बढी परिकार खेर जाने गरेको छ, साँझ खेर गएको परिकार गाईगोरुलाई खुवाउँदै आएका छौँ ।”

नजिकको सरकार स्थानीय तह भए पनि पटकपटक पानी निकासका लागि हारगुहार लगाउँदा सुनुवाइ हुन नसकेको उहाँको भनाइ रहेको छ । सार्वजनिक शौचालयसमेत डुबानमा पर्दा फोहर पानी बजार क्षेत्रमै जमेको छ । शौचालयको दुर्गन्धित पानीका कारण बजार क्षेत्रमा सङ्क्रामक रोग फैलिने खतरा रहेको छ ।

गत असार २० गते परेको वर्षापछि बजार डुबानमा पर्दै आएको छ । पहिला पनि बजार एक पटक डुबानमा परेको थियो । त्यस बेलाका जनप्रतिनिधिले अस्थायीरुपमा नाला निर्माण गरी पानी निकासको व्यवस्था गरेको स्थानीय व्यापारी बताउनुहुन्छ ।

सडक निर्माण गर्ने क्रममा पानी निकास हुने पाइप कल्भर्ट पुरिँदा बजार जलमग्न हुन थालेको स्थानीय व्यवसायी अक्कलबहादुर विष्टको भनाइ रहेको छ । पानीको उचित निकासका लागि नगरपालिकादेखि अन्य सम्बन्धित निकायसम्म पुग्दासमेत सुनुवाइ हुन नसकेको उहाँको भनाइ रहेको छ । बजार क्षेत्रको अटो पार्किङ क्षेत्रसमेत डुबानमा पर्दा अटो चालकले सडकमा राख्ने गरेका छन् । जसबाट दुर्घटनाको सम्भावना बढेर गएको छ । ट्राफिकको समस्या पनि उत्तिकै रहेको छ ।

यसैबीच, कलुवापुर बजार क्षेत्रको पानी निकासका लागि ढल व्यवस्थापन गर्नका लागि कार्य अगाडि बढाइने भएको छ । सडक क्षेत्रको जग्गाको सीमाङ्कन सडक डिभिजन कार्यालयले गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने र नगरपालिकाले सडक क्षेत्र खाली गर्ने गरी जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सहमति भएको छ । आजदेखि सो कार्य अगाडि बढाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here